राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल० ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्नुहुँदै उहाँले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।  प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताउनुभयो । उहाँले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गर्नुभयो । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा  हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहन्छु ।” उहाँले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गर्नुभयो ।

पोखरा:     माछापुच्छ्रे  गाउँपालिकाको आयोजनामा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले जितेको छ ।  पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको हो । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।   यता ५ स्वर्ण १ रजत र ३ काश्य पदक पाप्त गरि माछापुच्छ्रे  माध्यमिक विद्यालय दोस्रो भएको छ । बराह माध्यमिक विद्यालयले ४ स्वर्ण ७ रजत २ काश्य पदकका साथ तेस्रो स्थान पाप्त गरेको छ  । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।   उक्त प्रतियोगितामा अन्तर माध्यमिक भलिबल छात्रारछात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मिटर साथै छात्रारछत्रा ४ ×१०० मि।रिले, ४×४०० मि।रिले, छात्रारछत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास  लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे  गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताए ।  स्थास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।  

दाङ:    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस)को अध्यापन सुरु गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो ।  प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि चिकित्सक पठाउन लागेको हो । त्यहाँका नागरिकलाई सहज विशेषज्ञ सेवा प्रदान गर्नका लागि यस्तो कार्य गरिएको रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा २४ सैँ घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ । एमविविएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी केन्द्रलाई ‘कम्युनिटी आउट रिच सेन्टर’कोरुपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो । यसका लागि प्रतिष्ठान र रुन्टीगढ गाउँपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबीच आगामी पुस १ गतेदेखि सेवा सुरु गर्ने सम्झौता भएको हो ।  साथै होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपी चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने उहाँको भनाइ छ । हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई चिकित्सकले स्नाकोत्तर अध्ययनरत छन् । गत असारदेखि होलेरी अस्पतालमा चिकित्सकको नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता छ ।

काठमाडौं:     नेपाल प्रहरीका ८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।  गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार  बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।  बढुवा सिफारिस हुने एसएसपीमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता ःलैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गनुभएको हो ।      “म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुुभकामना व्यक्त गर्दछुु ।”   प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरुलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरु गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौं भनी सन्देशमा लेख्नुभएको छ । साथ, यस अभियानले मानवोचित समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना समेत उहाँले गर्नुभएको छ ।        “आजका निम्ति लैङ्गिक हिंसाले आँसु बगाउनुपर्ने स्थिति रहनु हाम्रो चेतना, हाम्रो सभ्यता, हाम्रो व्यवहारप्रति एउटा ठूलो प्रश्न चिह्न हो, लैङ्गिक विभेद र हिंसा हाम्रा निम्ति कलङ्क हुन्”, सन्देशमा भनिएको छ, “हामीले चाहेको समाज एउटा न्यायपूर्ण समाज होस्, सभ्य समाज होस्, उन्नत समाज होस्, सुसंस्कृत समाज होस् । हाम्रा शास्त्राहरुमा पनि उल्लेख छ । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः तर बीचमा सामन्ती युगले हाम्रो त्यो उत्कृष्ट मान्यतालाई लत्यायो र महिलाहरुलाई प्रताडीत गर्ने, अपहेलित गर्ने, विभेद गर्ने र हिंसाको शिकार हुने अवस्था बन्यो, यी कुराहरुलाई हामीले हटाउँदै गएका छौँ । ” प्रधानमन्त्री ओलीले कसैले पनि पीडा भोग्न नपरोस्, हिंसाको शिकार हुन नपरोस्, अपमानित, अपहेलित र विभेद गरिएको स्थिति महसुस गर्न नपरोस्, यस अभियानका अवसरमा शुुभकामना व्यक्त गर्नुभएको छ ।      “यो हामी सबैको साझा अभियान हो, यो साझा अभियानलाई हामी सबैको संयुक्त प्रयासहरुबाट, हाम्रा एकताबद्ध प्रयासहरुबाट अगाडि बढाउन जरुरी छ”सन्देशमा भनिएको छ, “एउटा मानिसलाई यन्त्र ठान्ने दासयुग, महिलालाई वस्तु ठान्ने सामन्ति युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामूलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौँ र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।”       प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा  पहिल्याएको र देशमा सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्न चाहेको कुरा सन्देशमा लेख्नुभएको छ ।       “न्यायोचित समाज, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्ने बाटोमा अगाडि बढिरहेका छौँ, यिनै कुराहरुलाई प्रतिविम्बित गरेर हामीले हाम्रा नीति कार्यक्रम तद्अनुसारका ल्याएका छौँ”, सन्देशमा भनिएको छ, “सरकारका नीति कार्यक्रममा यी कुराहरु प्रतिविम्बित भएका छन् । यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध कार्ययोजना तयार गरेका छौँ ।”      सन्देशमा विभेद र अपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएका उल्लेख छ । “जसलाई शिक्षा, चेतना, कानुुनको प्रभावकारी कार्यान्वयनबाट हटाउन सकिन्छ, अपराध कानुुनविरुद्धको कुरा हो, अपराध मानवताविरुद्धको कुरा हो”, प्रधानमन्त्री सन्देशमा   भन्नुभएको छ, “अपराध हिंसाको कुरा हो, यसका निम्ति हाम्रो संविधानको धारा १८ मा धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भन्ने कुराको स्पष्ट व्यवस्था छ ।”

भोजपुर:   समुद्री सतहबाट ३ हजार १ सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ ।  कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ । “टेम्केडाँडामा रहेको मन्दिरको जीर्णद्धारसँगै विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो ऐतिहासिक तथा प्रसिद्ध मन्दिर हो । संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकाले जीर्णद्धारको लागि सर्भे गर्ने काम सम्पन्न भएको छ । यसको पुरानो शैलीलाई यथावत राख्दै हुनेछ ।” यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विस्वासले मानिसहरु यहाँ पुग्ने गरेका छन् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गरेको टेम्केमैयुङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । मानिसहरु आफ्नो  कुल, पित्रीको सम्झनामा सदबीज छर्नको लागिसमेत पुग्ने उहाँको भनाइ छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँससमेत छ । भाकल पूरा हुने विश्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ । यो क्षेत्र भएर सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ ।  यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमासमेत दर्शन गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।  मन्दिर रहेको स्थानबाट तराइँका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले ध्यान दिएको उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।   “यो  एउटा ऐतिहासिक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो”, उहाँले भन्नुभयो, “यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचार÷प्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ । स्थानीय सरकारले यसको विकासमा ध्यान दिएको अवस्था छ ।” संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिसहरु दैनिकजसो पुग्ने गरेका छन् ।पर्यटनसँगै मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा ध्यान दिन आवश्यक रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । “टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “तर हामीले यसको सोचेजस्तो विकास गर्न सकेका छैनौँ । यसको विकाससँगै प्रचारप्रसार गरेर स्थापित पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।” यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नसके प्राकृति प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन् ।  मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ । 

म्याग्दी:    टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।   सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ ।  बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।  “बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्”, बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भन्नुभयो, “बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।” गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।  प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । “दानाभित्र औसा परेर सुन्तला झरेको छ”, उहाँले भन्नुभयो, “सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हाँै । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।”  बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप ९पासो० थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् ।  दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताउनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।  धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताउनुभयो । जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उहाँले बताउनुभयो ।   केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ ।  यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताउनुभयो । 

बलेवा:    धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् ।  क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा  गौतमले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट नतिजा  ल्याएको जानकारी  दिए । गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतमले देशभरमै प्रथम भएकी थिइन् ।  हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्ने क्याम्पस सफल भएको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । गतवर्ष क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको थियो ।  यो प्रमाणपत्रले आवश्यकताका आधारमा सङ्काय थप गर्ने अधिकार क्याम्पसले पाएको छ । तर त्यस बाहेक थपिएका पछिल्ला सङ्कायमा विज्ञान र बिबिए तहमा नतिजा राम्रो निकालेको छ ।   क्याम्पसले पछिल्लो समय कूल प्राध्यापकमध्ये ५० प्रतिशत स्थायी गरेको छ भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणाली समेत सञ्चालन गर्दै आएको छ ।  यस्ता कामले गुणस्तर बढाउने अभियानमा थप मद्दत पुगेको स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो । पुस्तकालय, प्रयोगशाला र प्रविधिमैत्री पढाइको सूचक भएकाले क्यामपस अब्बल बन्दै गएको छ ।  पछिल्लो तीन वर्षदेखि त यहाँको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायका विद्यार्थीले अनुसन्धानका काम गरिरहेका छन् । क्युएएका लागि अनुसन्धानमूलक कार्यक्रमलाई अनिवार्य बनाइएको छ ।  विद्यार्थी तहमा पनि अनुसन्धानको काम भएका छन् । कृषि, व्यवसाय, उद्योग र बजारबारे समेत विद्यार्थीले अनुसन्धान गरेका छन् । क्याम्पस प्रमुख उपाध्यायका अनुसार पछिल्लो तीन वर्षमा आयोगले तोकेका एकसय आठ सूचक पुराएर क्याम्पसले क्युएए पाएको थियो भने निरन्तर उत्कृष्ट परीक्षाफल पनि आइरहेको हो । हाल यो क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको क्याम्पसमा अहिले शिक्षा सङ्काय, मानविकी र व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुन्छ । विज्ञान सङ्कायमा स्नातक र बिबिएतर्फको पनि पढाइ सञ्चालन भइरहेको हो ।

कञ्चनपुर:    जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।  बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् ।        “हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ”, ठगीका श्रीमती पार्वतीले भन्नुभयो, “मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो ।”   घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उहाँले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकँुडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताउनुभयो ।  कडारा परिवारजस्तै छिमेकमा बस्ने हरिलाल टमटा र राज टमटाको घर पनि हात्तीले भत्काइदिएको छ । आँगनमा रहेको पानी पिउनका लागि गाडिएको नल्कासँगै दुवै टमटा परिवारको घरभित्र रहेको अन्न हात्तीले खाइदिएको छ ।  घर भत्काएपछि बेघर बनेका तीनवटै परिवार निकै चिन्तित छन् । अन्न सबै हात्तीले खाइदिए पछि परिवारको साँझ बिहानको छाक टार्नका लागि अरुकहाँ हात थाप्नुपर्ने अवस्था सिर्जना भएको राज टमटाले बताउनुभयो । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पु¥याउने डर भएकाले खेतमै बाध्नुपरेको उहाँले गुनासो गर्नुभयो ।       “पहिला पनि हात्ती आउथे, खेतमा रहेको बालीनालीमा थोरै क्षति गरी जान्थे, घरनै भत्काएको थिएन”, हरिलालले भन्नुभयो, “हाल हात्तीले उखुबारीमा व्यापक नोक्सानी गर्दै घरनै भत्काए ।”  उखुबाली जोगाउनका लागि फलामको तार तानेर विद्युतीय करेन्ट छाड्दा हात्तीले बारीभित्र पस्न नसकेको झोकमा घर भत्काएको उहाँको भनाइ रहेको छ ।   हात्ती नियन्त्रण गरी घरमै सुरक्षितरुपमा बस्ने वातावरण सिर्जना गरिदिनका लागि तीनवटै पीडित परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गाउँपालिकाको वडा नं ३ र ४ मा गरी हात्तीले स्थानीय किसानको झण्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पु¥याएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि निकुञ्ज कार्यालयले नियन्त्रणका लागि कुनै पनि प्रयास नगरेकोप्रति गाउँपालिकाका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।   स्थानिय बासिन्दाले व्याकहोलोडेर र ट्रयाक्टरको सहायताले दिउँसै आउने हात्ती भगाउने कार्य गर्दै आएका छन । नजिकैको वन क्षेत्र ९खर्रानाला० मा दुईवटा हात्तीले छावा पाएकाले भदौ महिनादेखि हालसम्म हात्तीको बथान लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ ।  उखुबाली जोगाउन कुरुवा बसेका खल्लाजाँइका रामदल रानालाई गत महिना हात्तीको बथानले ज्यान लिई सकेको छ । हात्ती दैनिक कहिले साँझ, कहिले दिउसै उखबारीमा पस्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ । हात्तीले थप मानविय क्षति पु¥याउने डरले स्थानीय बासिन्दाले गाउँपालिका क्षेत्रमा रातिका बेला हिँडडुल गर्ने कार्यमा रोक लगाएका छन् ।  लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले वन संरक्षणको कार्य छाडेर एक महिनादेखि कार्यालयका रहेका सात जना कर्मचारीले स्थानीय बासिन्दासँगै खटिएर हात्ती धपाउने कार्यमा संलग्न हुनुपरेको बताउनुभयो ।  “रात दिन नभनी हात्ती धपाउने कार्यमा खटिएका छौँ”, उहाँले भन्नुभयो, “हात्तीले सबैभन्दा बढी वडा नं ४ का किसानको उखुबालीमा क्षति गरेको छ ।”       हात्तीबाट सर्वसाधारणलाई जोगाउनका लागि जनचेतना जगाउने कार्यसँगै थप मानवीय क्षति हुन नदिनका लागि सडकमा बत्तीको व्यवस्था गर्ने, साइरन बजाउने, ट्रयाक्टरको हर्न बजाउने कार्यमा पनि लाग्दै आएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार छावासहितको हात्तीको सङ्ख्या  २४ रहेको छ ।