नवलपरासी: कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
हुम्ला: हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो । सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् । गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ ।
काठमाडौं: “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले रासससँगको कुराकानीको सुरुआतमा भन्नुभयो । ‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहनुभएका उहाँको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ । “प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।” एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले रु एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ मा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उहाँको बुझाइ छ । दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आउनुभएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । “विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ”, उहाँले भन्नुभयो, “अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्याएको हो ।” स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उहाँ कुनै समय तेक्वान्दो खेलाडी हुनुहुन्थ्यो । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उहाँको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’ समेत हुनुहुन्छ । अध्ययनका सिलसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुग्नुभएका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आउनुभएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया जानुभएको हो । अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हाल्नुभएका उहाँले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको थियो । उहाँलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ । भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उहाँको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ । विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उहाँको भनाइ छ । महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उहाँले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गर्नुभएको छ । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गर्नुभएका उहाँले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गर्नुभयो । सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ छ वर्ष काम गर्नुभयो । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभयो भने सन् २०२३ मा काठमाडौँमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित हुनुभएको हो । नेपाली क्रिकेटप्रतिको माया अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहनुभएको छ । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उहाँलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उहाँ आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुनुहुन्छ । “गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो । क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्याएको उहाँको भनाइ छ । “नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्यो”, उहाँले भन्नुभयो, “नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो ।” शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौँमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी हुनुहुन्छ । “एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधीन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ”, उहाँले भन्नुभयो, “एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ ।” उहाँ अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध हुनुहुन्छ । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उहाँको भनाइ छ । उहाँले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याउनुभएको छ । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ । जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् । साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।
इलाम: नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित हुनुभएको हो । बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गर्नुभयो । उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गर्नुभयो । सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित हुनुभयो । उहाँले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गर्नुभयो । सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गर्नुभयो । उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित हुनुभएको छ । राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गर्नुभयो । अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित हुनुभएको छ । लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त गर्नुभयो । बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए । मत भने पाँच सय ८१ मात्र खसेको थियो । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । आज बिहान ७:३० बजेदेखि ९ बजेसम्म श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको थियो । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाउनुभयो । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो । गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति थियो । मुस्ताङको कोबाङमा वि.सं २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उहाँ नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो । गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ । तस्बिर: बि.बि रोका मगर
तनहुँ: निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ । आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ । मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ । पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हुम्ला: हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो । अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताउनुभयो । गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

