राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

लेखनाथ:     स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय पोखराले आजदेखि यहाँ ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ ।  सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी पोखराका विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो ।      प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यहाँ उद्योग, व्यवसायीले राज्यले निर्धारण गरेको राजस्व तिर्दै आएका भन्दै करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभयो ।       आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले कार्यालयको उक्त अभियानमा सङ्घले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने हो भने राज्य बलियो हुनुका साथै विकास, निर्माणले गति लिने धारणा राख्नुभयो ।       आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसायी, उद्योगीसँग अन्तरक्रिया, सञ्चारमाध्यमसँग संवाद, शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिनुभयो ।       यस वर्षको राष्ट्रिय कर दिवस ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको जनाउँदै कर अधिकृत शर्माले सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गर्नुभयो ।       अडिटर एशोसियशन कास्कीका अध्यक्ष कमल रेग्मीले व्यवसायीलाई करको दायरामा ल्याउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  आज आयोजित प्रभातफेरि कार्यक्रम पोखरा सभागृहबाट सुरु भई सृजनाचोक, सिमलचौर, रत्नचोक हुँदै रान्तरिक राजस्व कार्यालयमा पुगेर कर सचेतना सभामा परिणत भएको थियो । 

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।   काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।   दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।   उनका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ ।

बाँके:    विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगञ्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो ।       नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगञ्ज म्याराथन ६७ मत प्राप्त गर्न सफल भएको छ । भियतनामको हनोइमा जारी २४औं वर्ल्ड कंग्रेसका दौरान आज भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसौं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो ।  “दस मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो”, नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा केही ‘लबिङ’ पनि जरुरी हुँदो रहेछ, त्यसमा हामी चुक्यौं ।”      नर्वेले आसन्न कंग्रेस आयोजनाको अवसर पाए पनि सभाहलमा नेपाल धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले बताउनुभयो । “नेपाललाई विश्वमञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुशी लागेको छ”, उहाँले भन्नुभयो, “प्रयास गर्नेले नै जित्ने हो, हामीले एक कदम अगाडि बढेका छौं, सबैको मायाले यो उर्जा मिलेको हो, नेपालगञ्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छ ।”      संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो । एम्समा आबद्ध हरेक देशका म्याराथन आयोजक यतिबेला हनोइमा उपस्थित भएका छन् । धारा नेपालगञ्ज म्याराथनको दशौं संस्करण यही मंसिर २२ गते हुँदैछ ।

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताउनुभएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा आईसीटी क्षेत्रलाई प्राथमिकता दिँदै पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको उल्लेख गर्नुभयो । २०६५ सालदेखि निरन्तर क्रियाशील क्यान कास्कीले सूचना प्रविधि क्षेत्रमा कार्य गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै उहाँले नवीनतम प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तरगत राख्न तपाईंहरुले पहिल्यैदेखि माग गर्नुभएको हो । नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएको छ ।’ – उहाँले भन्नुभयो । सरकारले १० वर्षमा ३० खर्ब बराबरको आईटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । स्टार्टअप फन्ड, स्टार्टअप बोर्डको अवधारणाले आईटी क्षेत्रका नवउद्यमीलाई प्रोत्साहन मिल्ने भन्दै भट्टले अहिले डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने सरकारी नीति रहेको जनाउनुभयो । सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्दै भट्टले सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहक क्षेत्रका रुपमा स्थापित गर्दै सूचना प्रविधिका नवीनतम प्रविधि अवलम्बन गर्न कानुनी व्यवस्था गर्न सरकार अघि बढिसकेको बताउनुभयो । ‘डिजिटल नेपाल फ्रेमवर्क सरकारको एउटा महत्वपूर्ण कार्यक्रम हो । सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको सरकारले बुझेको छ ।’ भट्टले भन्नुभयो ।   सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।    आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धानका लागि पनि क्यान जस्ता संस्थाको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।   नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको रहेको र सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानून तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेकोमा पनि सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।    

काठमाडौं:    यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले  जानकारी दिनुभयो ।   सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् ।  उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।   उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।  मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।   मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।   विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।   निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।   ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।   काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले राससलाई जानकारी दिनुभयो ।   दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम ९पश्चिम० सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।   स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।     पुरुषले कार्यभार सम्हालेका स्थानीय तहमा महिला उम्मेदवार आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।   आयोगको निर्देशनअनुसार जिल्ला समन्वय समिति कैलाली, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख, दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुम पूर्वका पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा महिलाको मात्र उम्मेदवारी दर्ता हुनेछ ।            आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ ।  आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोयन दर्ता गर्न निर्देशन दिएको हो ।           आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।            यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।          भ्रष्टाचार, जबरर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य  फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयत दर्ता हुने छैन ।            सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।            कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसूरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्तिको मनोयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।   कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?   निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ ।  नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले रु ५० हजारसम्म खर्च गर्न सक्नेछ ।   महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु दुई लाख र गाउँपालिकाका वडाध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न सक्नेछ । उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।

पोखरा महानगरपालिका २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ ।   दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो ।    सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए ।    १ सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने अध्यक्ष रायमाझीले बताए ।    धार्मिक स्थाल बनाउने प्रयास स्वरुप समितिले आउदो मंसिर तीन गते सो स्थानमा शिवमन्दीरको शिलान्यास गरिने उनले बताए ।   देवघाट गहेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १ हजार ८ आत्मनन्द गिरी महाराज जीको प्रमुख आतिथ्यतामा शिवमन्दीरको शिलन्यास गरिने समितिका उपाध्यक्ष नारायाण गिरिले जानकारी दिए ।    स्थानीयको सहभागितामा कलश यात्रासहित बिहान सवा ९ बजेको शुभ साइतमा मन्दीरको शिलान्यास हुनेछ ।   त्यसभन्दा पहिले स्थानीयको सहभागितामा कलय यात्रा १ सय ८ धारासहितको शिवमन्दीर निर्माण हुने समितिले जनाएको छ ।  घाटमा यस पहिलो शवदाह स्थलमा मलामीको विश्रामका लागि प्रतिक्षालय, अन्त्येष्टिका लागि आवश्यक दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको छ ।    गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए ।  मन्दीर, आवास भवन निर्माण गर्ने ठुलाएकादशी र शिवरात्रीमा मेला लगाउने समितिको योजना छ ।   

काठमाडौं:    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।   ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ  आयोजित कार्यक्रममा उहाँले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भन्नुभयो  ।         उहाँले भन्नुभयो, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।”   असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउनुहुँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।  अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उहाँको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उहाँले भन्नुभयो । कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताउनुभयो ।  राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ ।”        अहिले नेपालको अर्थतन्त्रमा केहि सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ ।  “हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।”  निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताउनुभयो । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताउनुभयो । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उहाँले जनाउनुभयो । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताउनुभयो । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उहाँको भनाइ छ ।

पोखरा:    हरेकवर्ष स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा हुँदै आएको राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।   सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुष ८ गते ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नारासहित अयोजना गर्ने पाँचौ दौड प्रतियोगिताको तयारी तिब्र पारिएको हो ।   अहिले प्रचारप्रसारको काम भइरहेको मञ्चका अध्यक्ष दुत प्रसाथ गुरुङले जानकारी दिए ।   उनका अनुसार राष्ट्रियस्तरको दौड प्रतियोगितामा ४ वटा विधामा प्रतिस्पर्धा हुनेछ । अध्यक्ष गुरुङले खेल पर्यटनको माध्यमबाट कोल्मा बहाकोट क्षेत्रको विकास गर्ने उद्देश्यले हरेकवर्ष दौड प्रतियोगिता गर्दै आएको बताए ।   प्रतियोगितामा खुला पुरुष, खुला महिला, २१ वर्ष मुनिका र विद्यार्थीहरु (कक्षा ८ देखि १२ सम्म) बीचको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक चित्र गुरुङले बताए ।    गुरुङका अनुसार खुलातर्फ २५ किलोमिटर, खुला महिला र २१ वर्षमुनिकातर्फ १० किलोमिटर र विद्यार्थीहरुका लागि ५ किलोमिटर दुरी निर्धारण गरिएको छ ।   कुन विधामा पुरस्कार कति?   मञ्चका महासचिव जिवन पोख्रेलका अनुसार खुलातर्फको विजेता धावकले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुने धावकले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, तृतीय हुने धावकले नगद रु ३० हजार, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   यस्तै खुला महिला र २१ वर्षमुनितर्फ प्रथम, द्वित्तिय र तृतीय हुने धावकले क्रमश: नगद रु १५ हजार, १० हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।      यस्तै विद्यार्थी विधा तर्फको प्रथम, द्वित्तिय र तृतीय हुनेले क्रमश: नगद रु १२ हजार, ८ हजार र ४ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    धावकहरुको हौसलाका लागि चार वटै विधामा दशौं स्थान हाँसिल गर्ने धावकलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने पोख्रेलले बताए ।   ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्नै, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको मञ्चका सचिव थापाले बताए ।    कोल्मा बराहचौरदेखि सुरु हुने दौड तनहुँ छुनेगरि काउँले– डाँडास्वारा — नाम्चे — काल्खु –खल्लुबोट—राईपुर—विसौना–रामचौतारा–बङ्गाले खोला–सिम्लेस्वारा–ओढारे–खुदी–मड्किना–मड्किना भञ्ज्याङ–सतिडाँडा हुदैं पुन: कोल्मा सम्मको क्षेत्रमा रुट निर्धारण गरिएको छ ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि (९८०४१३९०१२, ९८०५८९१८१३, ९८६२७०१५३९ र ९८६९०८४९२८) नाम दर्ता गर्न सकिने मञ्चका सचिव तथा प्रचारप्रसार संयोजक जिवन थापा मगरले जानकारी दिए ।   उनका अनुसार मञ्चका विदेश विभाग प्रमुख डोल बहादुर गुरुङको विशेष पहलमा प्रतियोगिता सम्पन्न गर्नका लागि विदेशमा आर्थिक संकलन भइरहेको छ ।    यस्तै प्रतियोगिताका लागि कोल्मा बहाकोट समाज युके, छिमेकी समाज हङ्कङ, कोल्मा बहाकोट आमा समूह युके, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् भने, स्थानीय संघ सस्था तथा स्थानीय सरकारको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।   तस्बिरमा हेर्नुहोस्, ४ विधाका रुट        

म्याग्दी:    अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।  अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।  कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिनुभयो ।  गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो । मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।  “पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिनुभयो ।  यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।  अष्टे«लियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो ।  होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।