राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

काठमाडौं:    यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।   सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ । सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ ।  आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुनुहुन्छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।  यही नेतृत्वका कारण महासचिवमा  दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक  रहेको बताइएको छ ।   आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।  आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार  ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताउनुभयो ।  सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

काठमाडौं:    धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन्।  मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए। ‘दुर्घटना स्थलबाट चालकसहित तीन जनालाई उद्धार गरेर हामीले मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छौँ,’ सिलवालले भने, ‘नवलपरासीबाट सामान लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा परेको हो।’  दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्।   दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ। 

काठमाडौं:    नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ । नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।      नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।       निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताउनुभयो ।       उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

ढोरपाटन:    गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो ।      नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब दुई सय २० किमी बढी सडक निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमी ग्रामीण सडक रहेका छन् ।      नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताउनुभयो । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।       यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उहाँले जानकारी दिनुभयो ।      “गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ”, प्रमुख गैरेले भन्नुभयो, “अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।”      गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उहाँको भनाइ छ । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताउनुभयो । सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।      गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताउनुभयो ।  दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उहाँले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गर्नुभयो ।

जुम्ला:    जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा नि:शुल्क उपचार सेवा दिन थालिएको हो ।      गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई रु ९५ लाख बजेट विनियोजन गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । स्थानीय सरकारको स्रोतसाधनबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको उहाँले बताउनुभयो ।      “जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको पनि अर्थ रहँदैन भनेर जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने निर्णय गरी शिविरमार्फत सेवा दिन थालेका हौँ । स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिफलसहितका योजना बनाएर अघि बढेका छौँ”, अध्यक्ष धितालले भन्नुभयो ।       गाउँपालिको आयोजनामा प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा गत कात्तिक ३० गते शनिगाउँ स्वास्थ्य चौकी र यही मङ्सिर १ गते नराकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहित स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिविरबाट सात सय २२ जनाले सेवा लिएका छन् ।      उक्त शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय दुई, स्त्री रोगसम्बन्धी ९५, जनरल जाँच एक सय ५०, मनोसामाजिक परामर्श एक सय ३०, अपाङ्गता परीक्षण एक सय १० र मुखको परीक्षण ३५ जनाको भएको रोकायाले जानकारी दिनुभयो ।        कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । गत कात्तिक २८ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क कानको परीक्षणमा दुई सय ५९ जनाले सेवा लिएका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोकायाले जानकारी दिनुभयो । उक्त शिविर गाउँपालिकाको आयोजना र नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।      सिञ्जाका ३२ वटा गाउँमा पुगेर मासिक रुपमा यहाँका ज्येष्ठ नागरिकको स्वास्थ जाँच गर्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाले बताउनुभयो । गाउँमै दक्ष चिकित्सकबाट निःशुल्क उपचार पाउँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको सिञ्जा–३ की नुन्नु उपाध्यायले बताउनुभयो ।      अहिले पालिकामा छ वडामध्ये तीनमा स्वास्थ्य चौकी र तीनमा आधारभूत स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइरहेको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवतीका लागि नराकोट, धापा र शनिगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ ।      आपत्कालीन अवस्थाका बिरामी, ज्येष्ठ नागरिक, अपङ्गता र सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो । गत आवमा चारवटा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार पाँच सयबढीले सेवा लिएका गाउँपालिकाले स्वास्थ्य शाखाले जनाएको छ ।      आगामी वैशाखमा सिञ्जा कर्णाली प्रदेशकै उकृष्ट पोषणमैत्री स्थानीय तह घोषणा हुन लागेको बताउँदै विभिन्न १६ सूचकमध्ये १४ वटा पूरा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको पहुँच कम भएका ठाउँमा स्वास्थ्य शिविरमार्फत सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।      नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिसहित स्वास्थ्य जाँच कार्यक्रमले दीर्घरोगीले सहज उपचार पाएका स्थानीय बताउँछन् । गत आवमा स्वास्थ्यतर्फ सिञ्जा गाउँपालिका जिल्लाका आठ स्थानीय तहमध्ये पहिलो भएको थियो ।  स्वास्थ्य सेवातर्फ विभिन्न सूचक पूरा गरी ८७ प्रतिशत अङ्क प्राप्त गर्दै सिञ्जा जिल्लाकै पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 

काठमाडौं:     गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो ।  घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।      विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् ।      सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ ।       सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ ।         विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो ।      विभागका अनुसार यस वर्षको कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबर राजस्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।      गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व सङ्कलन भएको थियो ।      विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।      मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेका छन् ।      विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्कीले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।        विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।      सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ ।      सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।      केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ ।      क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ ।      चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।      यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।      मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।      स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।      यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।      राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:    असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बीमा दाबी गरिएको छ ।  नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।        प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।        त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।       कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ ।       इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ ।       मोटर बीमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को रु छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बीमासार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड दुई हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ ।       पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए ।  त्यस्तै, सामुद्रिक बीमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।        प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।      अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ । 

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ ।  क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।       उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो ।       मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ ।  यस्तो छ लिग चरणको खेल तालिका ?      मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ ।     यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।       मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।      यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ ।       मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ ।  त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।       मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौँ गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।       त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौँ गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।  यस्तो छ, लिग चरणपछिको तालिका      लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ ।  जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् ।       त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ ।       दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ ।       एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।