काठमाडौं: टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिनुभयो । “सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताउनुभयो । टोखाभित्र १ हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उहाँको भनाइ थियो । नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो । नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ । त्यतिबेला घरेलु कार्यालयले मौरीपालनसम्बन्धी चारदिने तालिम दिएपछि यसतर्फ आकर्षित भएको थापाले बताउनुभयो । २ घारबाट मौरीपालन सुरु गर्नुभएका थापाले तालिम लिएपश्चात् मौरीपालन गर्न सकिन्छ भन्ने आँट आएको बताउनुभयो । शिक्षण पेसासँगै मौरीपालनलाई निरन्तरता दिँदै आउनुभएकाले उहाँ हाल शिक्षण पेसाबाट अवकाशपश्चात् पूर्णकालीन रुपमा मौरीपालनलाई अगाडि बढाउँदै आउनुभएको छ । मौरीसँग खेल्दा सिकेको अनुभव अन्य कृषकलाई सिकाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मौरीसँग खेल्दै गर्दा मौरीले धेरै कुरा सिकायो, अहिले आफूले सिकेको सीप अरू कृषकलाई बाँड्ने गरेको छु ।” कुनै समय ८२ घारसम्म रहेको उहाँसँग हाल ४२ मौरी घार रहेको थापाको भनाइ छ । १ वर्षमा १ हजार १ सय किलोसम्म मह उत्पादन भएको बताउँदै थापाले वातावरण राम्रो भएको खण्डमा मह उत्पादन उच्च हुने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग माग उच्च भएका कारण पु¥याउनै सकिएको छैन, यहाँ उत्पादन भएको मह मलेसिया, बेल्जियमसम्म जाने गरेको छ ।” थापाका अनुसार मह प्रतिकिलो रु १ हजार ५ सयमा बिक्री हुने गरेको छ । कुनै बेला मह बिक्री नभएको अवस्था पनि थियो, तर अहिले माग निकै उच्च रहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा मह बिक्री गर्न लैजान्थ्यौँ, बिक्री नभएर घर फिर्तासमेत ल्याउँथ्यौँ । तर अहिले अवस्था बदलिएको छ ।” कुनै बेला मौरीले शान्तसँग काम गर्ने तर कुनै बेला बिच्किएर टोक्नेसमेत गरेको उहाँको अनुभव छ । थापाका अनुसार यहाँका अधिकांश कृषक मौरीपालनमा लागेका छन् । यहाँ उत्पादित महको माग विदेशमा समेत हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध ४१ घरधुरी मौरीपालनमा छन् । थोरैमा २ घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ । थापाले भन्नुभयो, “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन् ।” यहाँका कृषकले याममा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् । मह उत्पादनका ३ याम उपयुक्त मानिन्छ । दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ । १ हजारदेखि १ हजार ३ सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ ।” कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकका रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ । १ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताउनुभयो ।
दाङ: घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आउनुभएको भेटिनुभयो । उहाँ कक्षा १० मा अध्ययन गरिरहनुभएको छ । धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको उहाँले बताउनुभयो । यहाँको मनोरम दृश्यले रमाइलो लागेको उहाँले बताउनुभयो । “त्रिशूल र ॐपोखरी मन्दिरभित्र रहेको पार्कमा बिसाउँदा आनन्द आयो, फोटो पनि खिचेका छौँ, गाउँमा सबैलाई देखाउँछौँ र घुम्न जानु भन्छौँ”, उहाँले भन्नुभयो । धारापानीको जलाशयमा डुङ्गामा सयर गर्दा झन् धेरै रमाइलो लागेको उहाँले बताउनुभयो ।बर्दिया नगरपालिका–३ राजापुरका सबिना केसी शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी पुग्नुभएको थियो । धारापानीको पर्यटकीयस्थलको कुरा मात्रै सुनेको अवलोकन गर्ने मौका नमिलेका कारण यस पटक धारापानीलाई गन्तव्य बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार अरूले भनेको सुनेको र आफूले देखेकामा फरक हुँदोरैछ । पर्यटकीयस्थलका रुपमा विकास भएको यो मन्दिर धेरै विकास भएको उहाँले बताउनुभयो । पछिल्लो समय पार्क सहितको पोखरीले झनै राम्रो भएको बताउनुभयो । घोराही बजारदेखि नौ किलोमिटर दक्षिण भागमा पर्ने धारापानी मन्दिर निजी सवारी साधन वा बस÷अटोरिक्साबाट सजिलै पुग्न सकिने र सो स्थानसम्म सडक पक्की भएकाले स्थानीय तथा बाह्य पर्यटकहरुको उपस्थितिले चहलपहल भएको हो । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण भएपछि धेरै जिल्लाका पर्यटकहरुको गन्तव्य बनेको हो । पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउने तथा मङ्सिर महिना सुरु भएदेखि वनभोज खान आउने नागरिकको सङ्ख्या धेरै रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताउनुभयो । अघिल्लो शनिबार २२ समूह वनभोजका लागि आएको उहाँले बताउनुभयो । दाङलगायत छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठानसँगै, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, पाल्पा, सुर्खेत, जुम्ला, जाजरकोटलगायत अन्य जिल्लाबाट पर्यटक आउने गरेको उहाँले बताउनुभयो । मन्दिरमा जिल्लाभित्रका पर्यटक मात्रै नभई छिमेकी देश भारतबाट पनि प्रशस्त भक्तजन आउन थालेका छन् । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो । “दाङ आएका मानिस धारापानी नपुगेर फर्केको छैन जस्तो लाग्छ”, उहाँले भन्नुभयो । वनभोजका लागि प्रायः सबैजसो महिना भीडभाड हुने गर्छ । विश्वको सबैभन्दा अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ वरपीपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले मन्दिर प्रवेशगेट निर्माण र गेटदेखि मन्दिरसम्मको बाटोमा इँटा बिछ्याएर सबैलाई सहज पुग्न सक्ने व्यवस्था गरेको बताउनुभयो । “गाडी पार्किङको व्यवस्था, सिमसार क्षेत्रलाई संरक्षण गरेर तलाउ निर्माण गरेका छौँ अहिले दुईवटा डुङ्गा सञ्चालनमा रहेका छन्”, उहाँले भन्नुभयो ।गुरुयोजना, दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताउनुभयो । धारापानी मन्दिरको शिरान सुनकोटमा देवीको मन्दिर तयार भइसकेको र भक्तजनको उपस्थिति पनि रहने गरेको उहाँले जानकारी दिनुभयो । धारापानी धामलाई धार्मिक र पर्यटकीय ग्रामका रुपमा विकसित गर्नका लागि दुईवटा खाजा घर, १२ पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिनुभयो । कोसेली घर स्थापना उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष बोधिप्रसाद अधिकारीले जानकारी दिनुभयो । दाङमा उत्पादन भएका माटोका भाडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की (गुन्द्रुक), सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उहाँले बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय उत्पादन चिनाउने तथा स्थानीयले उत्पादन गरेको वस्तु बिक्री केन्द्र गर्ने माध्यम भएको उहाँले बताउनुभयो । जलाशयले थप्यो रौनकता घोराही–५ धारापानी मन्दिरमा पर्यटकको आकर्षणका लागि जलाशयले रौनकता थपेको छ । पाण्डवेश्वर धार्मिक क्षेत्रको बृहत् पर्या–पर्यटन आयोजनाअन्तर्गत लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजन भएको रु एक करोडको लागतमा बृहत् जलाशय निर्माण गरिएको हो । ४ बिघा क्षेत्रफलमा फैलिएको जलाशय अहिले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यहाँ आउने भक्तजन र पर्र्यटकलाई जलाशयको डुङ्गा सयर गर्दा थप आकर्षण भएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता होविन्द्र बोगटीले प्रसाईँलाई भक्तपुरस्थित निवासबाट मङ्गलबार पक्राउ गरिएको जानकारी दिए ।
सुदूरपश्चिम: गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ जनताले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुुपर्छ, मुलुकमा अमनचयन, विधिको शासन, शान्तिसुरक्षा र अनुशासन कायम गर्न जरुरी छ ।” नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन नयाँ कानुन संसद्को आगामी अधिवेशनमा पेस गरिने गृहमन्त्रीले बताउनुभयो । गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।
काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस(केन्द्रीय कार्यालय, भद्रकालीको अवलोकन भ्रमण गर्नुभयो । अवलोकनपछि मन्त्री अधिकारीले नापी तथा मालपोतलगायत भूमि व्यवस्थासँग सम्बन्धित पुराना ऐन, कानुन, कार्यविधि र पुरातन मानसिकताका कारण कामकाज गर्न कठिन भएको बताउँदै पुराना तथा बाझिएका ऐन, नियम, कानुन संशोधन तथा परिमार्जन प्रक्रियामा अहिले मन्त्रालय क्रियाशील रहेको जानकारी दिनुभयो । धरान, भैरहवा, वीरगन्ज, जनकपुर, कृष्णनगरजस्ता महत्वपूर्ण सहर तथा व्यापारिक केन्द्रसहित देशव्यापी रूपमा जग्गाको स्वामित्व, भोगचलन र उपयोगका बारेमा विवाद तथा झमेला रहेको उल्लेख गर्दै उहाँले भूमि व्यवस्थासँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक नीतिगत व्यवस्थासहित सुशासनलाई प्राथमिकता दिनेगरी मन्त्रालयमा कामकाज भइरहेको स्पष्ट गर्नुभयो । सो अवसरमा मन्त्री अधिकारीले राससको समाचार सम्पादन शाखाको निरीक्षण गर्दै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणका विषयमा जानकारी लिनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले मन्त्री अधिकारीलाई राससमा स्वागत गर्नुभएको थियो ।
भक्तपुर: भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो ।प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो । यसैबीच, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।
जुम्ला: जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ । प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०र७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् । विसं २०८० भदौ २१ गते कर्मचारीले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवापत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।
गण्डकी: पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गर्नुभयो । “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्र्छौँ ।” पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन् । शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामेरा पनि प्रयोग गर्न पाइँदैन । कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामेरा जफत गरिने उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो । आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ । मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न सुरु गरिएको उहाँको भनाइ छ । होटल व्यवस्थापन समिति, आमा समूहलगायत परिचालित गरेर फोहर व्यवस्थापनको काम अगाडि बढाइएको हो । पर्यटकीय क्षेत्रमा सङ्कलन भएको फोहरलाई पोखरामा ल्याइ प्रशोधन गर्ने योजना ‘एक्याप’ले बनाएको छ । अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । “पर्यटकीयस्थलमा जथाभावी फोहर हुँदा राम्रो सन्देश नजाने हुँदा फोहर व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरिएको हो”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् ।

