राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

सप्तरी:   राजगढ गाउँपालिका–४ बाट सप्तरी  १७ क्विन्टल ३६ किला गाँजासहित १ जनालाई  नियन्त्रणमा लिइएको छ ।  बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।  कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् ।  निजलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । 

बागलुङ:   पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् ।  यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार  बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिनुभयो । तत्कालीन गलकोट र पर्वत राज्यका सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले जानकारी दिनुभयोयोे । “बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराईलगायत पौंदीवासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुठी लिने (धान काट्ने)र न्वागी खाने मिति हेराइने चलन छ”, स्थानीय रामबहादुर कुँवरले भन्नुभयो । यस वर्षको मुठी लिने (धान काट्ने)दिन भने गत कात्तिक ११ गते ९ः३३ बजे पूर्व फर्केर परेको उहाँले सुनाउनुभयो । न्वागी खाने समय र कुन दिशातर्फ फर्केर न्वागी खाने भन्ने यकिनचाहिँ मङ्सिर लागेपछि मात्र तोक्ने चलन रहेको कुँवरले सुनाउनुभयो । कात्तिक पहिलो हप्ता सबैसँगबाट मुठी लिई धान काटेर स्याहार्ने र न्वागीलाई घरघरमा हवन गरेपछि थानपति, छत्रभूमि, सिद्धका नाममा देवतालाई चढाई मङ्सिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन छ । यसपटकको न्वागी मेला पनि सोमबारबाटै ८ गतेसम्म बडिगाड गाउँपालिका–५ खारमा सुरु भएको छ । स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका सबैले खाने प्रचलन छ । खेत भएकाहरूले खेत नभएकाहरूलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ ।  परापूर्वकालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बूढापाकाले गुनासो गर्ने गरेका छन् ।

तेह्रथुम:    ७ वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।  तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।  प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो ।   सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको बताउनुभयो ।  उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छपटक म्याद थप भइसकेको छ ।पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ ।  यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएकोे प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।   पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङसुरुङका राजेन्द्र सुवेदीले बताउनुभयो । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उहाँको भनाइ छ । उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ । 

चितवन:     नेपाल प्रिमियर लिग ९एनपिएल० टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो ।   कार्यक्रममा एकसिङ्गे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडीले जर्सी लगाएर सार्वजनिक गरिएको थियो । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरिएको छ ।   कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरले खेल र खेलाडीलाई सदैव प्रोत्साहन गर्ने बताउनुभयो । दक्ष र क्षमतावान खेलाडी जन्माउन महानगरले खेलक्षेत्रमा लगानी बढाइरहेको उहाँको भनाइ थियो ।   उहाँले भन्नुभयो, “हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई गति दिइरहेका छौँ । यो रङ्गशाला निर्माण भएपछि दक्ष खेलाडी उत्पादन हुने क्रम अझै बढ्छ ।”   चितवन राइनोजका मार्की खेलाडी मल्लले खेल जित्ने उच्च मनोबलका साथ लागिरहेको बताउनुभयो । चितवन राइनोज क्लबका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान खेलाडीलाई समावेश गरेकाले खेल जित्ने दाबी गर्नुभयो ।   यो टिममा कुशल मल्ल, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । टिमले विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ ।   चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो ।

म्याग्दी:    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग)खुलेको छ ।  अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताउनुभयो ।  गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु २–२ करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो ।  तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नम्बर २ लुलाङसम्म सडक पुगिसकेको थियो ।  आव २०७९÷८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।  देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दा गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।  लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा ३ देखि ४ घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।  जिप, ट्रयाक्टर, मोटरसाइकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको छ । देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा सङ्घीय सरकारले २ वटा शीर्षकमा रु १ करोड ३५ लाख, प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ३५ लाख विनियोजन गरेका छन् ।  सो योजनाको पनि ठेक्का आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।  एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या १ हजार ५ सय ५ जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ ।  सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

भक्तपुर:    भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ ।  अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गर्नुभएको थियो । अस्पतालका निर्देशक डा चालिसेले भन्नुभयो, “सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक गत २ गतेदेखि यो सेवा सुरु गरेका छौँ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ ।” अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यासर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताउनुभयो ।  उहाँले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको बताउनुभयो । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो ।  नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।  नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताइएको छ । क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो ।  

पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १ सय ८ धारासहतिको शिव मन्दिरको शिलान्यास गरिएको छ ।    देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पिठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबिच मन्दीरको शिलान्यास गरेका हुन् ।    दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलन्यास गरिएको हो ।    उक्त घाटमा यसअघि शवदाहस्थल व्यवस्थित गर्न मलामीका लागि विश्राम स्थल, अन्त्येष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको थियो ।    मन्दिरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला संचालन गर्न पनि सुझाव दिए ।   मन्दीर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगि कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिी निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने बचन दिए ।    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।      मन्दिर निर्माणका लागि पोखरा–२१ घर भई हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले यस पहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैया दिएको र थप ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।    यस्तै अमेरिकाबस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।    यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।    कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले संचालन गरेकी थिइन् ।     

रुकुम पश्चिम:    रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।   आज बिहान   दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।  उहाँका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा  १८ वर्षीय खिमकुमालले प्रहरीलाई खबर गरेका थिए । सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी  टोलीले  आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ । शव भने परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । घरायसी विवादका कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।