राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिदाइ गर्नुभयो । यसअघि नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।        राष्ट्रपतिको बिदाइका लागि उपप्रधानमन्त्री, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू विमानस्थल पुग्नुभएको थियो ।        अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल बाकु जानुभएको हो । उहाँले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।        कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ ।        सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार बिहान स्वदेश फर्कनुहुने कार्यतालिका छ ।      राष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी सावित्रा पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, मुख्य निजी सचिव अवज्ञा पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।

नुवाकोट:    सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् ।  सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।       विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताउनुभयो । उहाँले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिनुभयो ।      गत वर्ष प्रतिकिलो रु ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै रु एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताउनुभयो । “व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।”      म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताउनुभयो ।       “विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ”, उहाँले भन्नुभयो ।      सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताउनुभयो । उहाँका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।      कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताउनुभयो । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।      उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।       हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

पोखरा:   पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकमको सम्पादकमा अर्जुन गाहामगर (सुशान्त) नियुक्त भएका छन् ।    भिजन गण्डकी नेटवर्क प्रालिद्धारा सञ्चालित सुनगाभा न्यूजको सम्पादकमा गाहामगर आज (आइतबार) नियुक्त भएका हुन् ।    गाहामगर यसअघि सुनगाभा न्यूजको समाचार प्रमुखका रुपमा कार्यरत थिए ।    यस्तै संस्थाको बजार व्यवस्थापकमा कृष्ण शर्मा नियुक्त भए । सम्पादक गाहामगर र बजार व्यवस्थापक शर्मालाई भिजन गण्डकी गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले खादा लगाएर बधाई ज्ञापन गरे ।    सुनगाभा न्यूजको सम्पादकमा नियुक्त भएका गाहामगर काठमाडौंबाट सञ्चालित एबिसी न्यूज टेलिभिजनमा पोखरा संवाददाताका रुपमा विगत ७ वर्षदेखि कार्यरत थिए ।   गाहामगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका सचिवसमेत हुन् ।    

पोखरा:  रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखरामा विरोश प्रर्दशन गरेका छन् ।   कास्की प्रहरीले अनुसन्धानका लागि आज लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराउन लैजादै गर्दा यता उनको समर्थनमा नाराबाजी गरेका थिए ।    सोही क्रममा उनीहरुले (जिरोदेखिमहेन्द्रपुलसम्म र्याली) ​ 'रवि दाई हाई हाई, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर' लगायतका नारा लगाएका थिए ।   लामिछानेको रिहाइको माग गर्दै प्रर्दशन गरेपनि उनी विरुद्ध आज पनि १३ दिनको म्याद थप भएको छ ।   यससँगै लामिछानेको हिरासत बसाई लम्बिएको छ ।   तस्बिरहरु:-                        

लमजुङ:    लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।       विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसहित जिल्लाका अन्य प्रसारण लाइनको निरीक्षणपछि उदीपुर सबस्टेशनबाट विद्युत् वितरण सम्भव रहेको जनाएसँगै आजदेखि जिल्लामै उत्पादित वितरण सुरु गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिनुभयो ।       यसअघि जिल्लामा दमौलीबाट आउने ३३ केभी प्रसारण लाइनबाट विद्युत् वितरण हुँदै आएको थियो । “यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएर पुनःलमजुङ आउन ६० किमी दुरी पार गर्नुपर्ने थियो ।  उदीपुरस्थित सबस्टेसनबाट वितरण भएसँगै अब दुई किमी दुरी पार गर्नुपर्ने हुन्छ । यसले करिब ५८ किमी क्षेत्रको विद्युत्मा समस्या हुँदा लमजुङमा आपूर्ति बन्द हुने समस्या अन्त्य हुनेछ”, केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो ।       दमौलीबाट वितरण हुँदा अन्य ठाउँमा भएका समस्याले जिल्लामा विद्युत् आपूर्ति बन्द हुने गरेको थियो । अहिलेसम्म दमौलीको लाइनका कारण लमजुङमा विद्युत् आपूर्तिमा अवरोध हुन्थ्यो ।  यहाँ उत्पादित विद्युत् जडान गरेपछि विद्युत् ट्रिपिङ (झ्याप्प झ्याप्प बिजुली जाने) को समस्या धेरै हदसम्म न्यूनीकरण हुने केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । 

पोखरा:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।  आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो ।  रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।   कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । पुन: तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उनीहरुविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ । 

हेटौँडाः    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताउनुभएको छ ।  प्रेस सेन्टर मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताउनुभएको हो ।   माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उहाँले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।  अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गर्नुभयो । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उहाँले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताउनुभयो ।   

बागलुङः    ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ । १ दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो ।  विसं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो । ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।  खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उहाँको भनाइ छ ।  “ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै बस्ती खाली हुन थालेको छ । अवसर खोज्दै बजारतिर बसाइँसराइ गनृ गलेपछि अहिले गाउँमा बुढापाका मात्र छन्”, पुनले भन्नुभयो, “विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन् ।” नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिनुभयो । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उहाँले उल्लेख गर्नुभयो ।  राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदलिे जोड दिनुभयो । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उहाँले बताउनुभयो ।  “पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो । अहिले घटेर ४० जना भएका छौँ”, भुदीले भन्नुभयो, “मानिस बसाइँ सरी जान थालेपद्धि अधिकांश घर जीर्ण बन्दै गएका छन् ।” जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् ।   

बागलुङः    जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न थालिएको हो । ऐतिहासिक धार्मिकस्थलमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमार्फत पर्यटक भित्र्याउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ ।राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटक जैमिनीधाम दर्शनका लािग पुग्न थालेपछि पूर्वाधार निर्माण जोड दिइएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।  प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसार गरी पूर्वाधार निर्माणमा जोड दिइएको उहाँको भनाइ छ । “धार्मिक महत्वको क्षेत्रलाई प्रचारप्रसार गर्नुका साथै पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएका छौँ । जैमिनी ऋषिको तपोभूमिलाई ध्यान केन्द्रका रूपमा विकास गर्न जग्गा व्यवस्थापन गरेका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो ।  दीर्घकालीन योजना अनुसार जैमिनीधामको पुनःनिर्माण, सभाहल, आश्रयस्थल, पदमार्गलगायत संरचना निर्मायाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।  शर्माका अनुसार चालु आर्थिक वर्षमा रु २५ लाखको पूर्वाधार निर्माण गर्ने योजनासहित काम अघि बढेको छ । “नगरपालिकाले पालिकाको केन्द्र कुश्मिसेरा हुँदै भैरवस्थान जोड्ने पदमार्ग निर्माण गरिरहेको छ ।  पहिलो काम जैमिनी ऋषिको पूर्णकदको शालिक निर्माण गर्ने नगरको उद्देश्य छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो । कालीगण्डकीको तटीय क्षेत्रमा रहेकाले नदीको कटान जोगाउन नगरपालिकाले विगतका वर्षमा ठूलो लगानी गरिसकेको भन्दै नगर उपप्रमुख शर्माले अहिले करिब तीन रोपनी जग्गा व्यवस्थापन भइसकेकाले अब नगरपालिकाले गण्डकी ध्यान केन्द्र निर्माण अघि बढाउने उल्लेख गर्नुभयो ।  उहाँले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाख लगानीमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण थालिएको जानकारी दिनुभयो । जैमिनी ऋषिको पूर्णकदको शालिक स्थापना गर्ने योजना दुई वर्ष भित्रै सम्पन्न गर्ने नगरपालिकाको योजना छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सङ्घीयतासँगै नगरपालिकाको नाम जैमिनी ऋषिको नामबाट राखिएको उपप्रमुख शर्माको भनाइ छ ।  उहाँका अनुसार यहाँ शङ्खशिला, देव शिला र नाग शिला, जैमिनी ऋषिले तपश्या गरेको गुफा संरक्षणलगायत पूर्वाधार निर्माण गरिने छ ।पूर्वाधार निर्माणका लागि करिब रु १४ करोड खर्च लाग्ने अनुमान छ । जैमिनीधाममा व्यवसाय गर्दै आउनुभएका स्थानीय हरि नायकले कालीगण्डकी करिडोरका कारण जैमिनीधाम आउने पर्यटकहरू बढेका बताउनुभयो । उहाँले करिडोर पुरै कालोपत्र भएमा बुटवल हुँदै मुक्तिनाथ जाने पर्यटकलाई जैमिनीधाममा रोक्न सकिने धारणा राख्नुभयो । “पर्यटक भित्राउन र रोकिराख्न व्यवस्थित सडक, बस्ने स्थान, रमणीय वातावरण आवश्यक पर्दछ । कालीगण्डकी करिडोरमा अहिले कालोपत्रको काम भइरहेको छ ।  लुम्बिनीका पर्यटकलाई मुक्तिनाथ भित्राउने मुख्य मार्गका रूपमा परिकल्पना गरिएको करिडोर सम्पन्न भएसँगै यसको सकारात्मक प्रभाव जैमिनीधामलाई पुग्नेछ”, नायकले भन्नुभयो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरपालिले योजना बनाएर कार्यान्वय थालेको हो । यसअघि जैमिनीधाममा यहाँको प्रसिद्ध माघे सङ्क्रान्ति मेला लाग्ने गरेकामा पछिल्लो केही वर्षदेखि उक्त मेला कुश्मिसेरामा लाग्ने गरेको छ ।