काठमाडौं: युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । गत बुधबारदेखि सुरु एसिया छनोटमा नेपालको यो चौथौँ खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । साथै तेस्रो खेलमा शनिबार घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई राजदूत पदमा नियुक्ति गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राडा ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँः हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर ९बेसक्याम्प०मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पु¥याएर विद्युत् आपूर्ति सुरु गरिएको छ । बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।बेसक्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेसक्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको व्यापकले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताउनुभयो । “राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ”, बेसक्याम्पमा होटलसमेत सञ्चालन गर्दै आउनुभएका वडाध्यक्ष गुरुङले भन्नुभयो । लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिने उहाँको भनाइ छ । उहाँले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यासको प्रयोग हुने गरेको उल्लेख गर्नुभयो । केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको जानकारी दिनुभयो । वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “बेसक्याम्पमा राष्ट्रिय ग्रीड पु¥याउनमा केन्द्रित थियौँ, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउनेछौँ ।” मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३÷११ केभी सबस्टेसनमा पु¥याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेसक्याम्पमा पु¥याइएको हो । मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताउनुभयो । मस्र्याङ्दी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा दुईसय २० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
बाजुरा: जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्को बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो । उहाँको जानकारीअनुसार जिल्ला अस्पताल बाजुराले सुत्केरीको अवस्था जटिल भएकाले महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो । सुत्केरी रोकायाको यही कात्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माउनुभएको थियो भने उहाँको स्वास्थ्यमा समस्या भएपछि हिमाली गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो । जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे शल्यक्रिया गरेर दोस्रो बच्चालाई जन्म दिनुभएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
सुदूरपश्चिम: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।” देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुग्नुभएको हो । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।
काठमाडौँः कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।” यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ । यसैगरी अधिकारीलाई नेकपा ९एमाले० कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
मुगुः पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे(गुलियो)फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ ।पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ । मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए । तर आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन । किसानका अनुसार, फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ । “फापर लगाएर महिनौँ कुर्यौं, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ”, छायाँनाथ रारा नगरपालिका–७ टोप्लाका किसान प्रभुजङ शाही बताउनुहुन्छ । यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार, पहिचान र खान्किमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ । उनीहरूले सरकारसँग फापरखेती प्रवद्र्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन् । विशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । गुलियो फापर सेवनले दम, रूघाखोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदा हुँदै पनि उचित संरक्षण र उत्पादनको मूल्य भन्दालागत बढी हुँदा गुलियो फापर उत्पादनप्रति चासो घटेको किसानको धारणा छ । यस जिल्लाका उच्च स्थान, पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुमलगायतका क्षेत्रमा फापरखेतीको लागि उपयुक्त स्थान मानिन्छ हाल तिते फापर सामान्य रूपमा गरिँदै आए पनि मिठे फापरखेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ । मिठे फापरबाट ढेस्सु, लगड जस्ता स्थानीय परिकार बनाएर खाना नखाने बालबालिका, बिरामी, ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रुपमा खुवाइन्थ्यो भने कति पाहुना जाँदा वा घरमा पाहुना आउदा मिठे फापर र यसबाट बनेका परिकार नासो दिइने गरिन्थ्यो । मिठे फापरको खेती हुन छोडेपछि उल्लेखित संस्कार, परम्परा र खान्कीसमेत लोप हुँदै गएको पिना गाउँका स्थानीय लोकेन्द्रबहादुर बम सुनाउनुहुन्छ ।
म्याग्दीः केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ । सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताउनुभयो ।मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष २ सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे ३ सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताउनुभयो । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उहाँले बताउनुभयो । “सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर)खोजी २ दिन लगाई कोदो रोपेँ, ७–८ मुरी जति कोदो फल्ने अनुमान छ”, धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भन्नुभयो । पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने उहाँले बताउनुभयो । गत वर्ष म्याग्दीमा २ हजार २ सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो । १ नगरपालिका र ५ वटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ ।
तनहुँः तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आउनुभएको छ । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उहाँहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुट्नुभएको हो । समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् । पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आउनुभएको छ । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउनुहुन्छ । युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।” पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ । पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ । गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उहाँहरुको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उहाँले भन्नुभयो ।नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिनुभयो ।

