पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

भोजपुरः    भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।  पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुयाउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यले ५ दिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो ।  प्रशिक्षण कार्यक्रममा ६० जनाले सहभागिता जनाएका छन् । मुख्य रुपमा तीन वटा सिलीको प्रशिक्षण गरिएको हो । आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन प्रशिक्षण दिएको उहाँले बताउनुभयो । “किरात संस्कृतिको संरक्षण तथा विकास गर्ने लक्ष्यले साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “पुर्खाले गरी ल्याएको चलनलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन यसले भूमिका खेल्नेछ ।” परीक्षण कार्यक्रममार्फत आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा मुख्य रुपमा जानकारी दिइएको प्रशिक्षक शरणबहादुर राईले बताउनुभयो ।  यस्ता प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको टेवा पुग्ने उहाँको भनाइ छ । “पछिल्लो अवस्थामा युवायुवतीले आफ्नो चालचलन रहनसहनलाई भुल्दै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “जसका कारण पुराना चलन लोप हुने खतरा बढ्दै गएको छ । नयाँ पुस्तालाई अद्यावधिक गराउन साखेवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर आवश्यक ज्ञान सीप प्रदान गरेका छौँ ।”  सहभागीलाई श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न किरात सिलीको महत्व तथा नाच्ने तरिका बारेमा प्रशिक्षण दिइएको किरात राई वान्तावा खिम भोजपुरका अध्यक्ष लालबहादुर वान्तवा राईले बताउनुभयो ।  किरात रीतिरिवाजसम्बन्धी ज्ञान भएका पुराना पुस्ता सकिँदै गइरहेकाले भावी पुस्तालाई आफ्नो संस्कारप्रति सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।   वडाको पहलमा गरिएको प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार, संस्कृतिको संरक्षण टेवा पुग्ने सहभागीले बताएका छन् ।  विभिन्न अवसरमा साखेवा सिली नाचिने भए पनि कतिपयले यसको महत्वको तथा नाच्ने तरिका नजानी नाच्ने गरेकाले प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।  वडाले रु १ लाख ४० हजार बजेट विनियोजन गरेर किरात राई वान्तावा भाषा तथा संस्कार र साखेवा सिली प्ररिक्षण कार्यक्रम सञ्चालन गरेको हो । भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा वडाले सञ्चालन गरेको कार्यक्रम प्रशंसायोग्य रहेको स्थानीयवासीको भनाइ छ ।   

काठमाडौँः    गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका)लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ । गायक एवं सङ्गीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मङ्गलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई रु ५१ हजार नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो । त्यस अवसरमा गीतसङ्गीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो ।  समितिका अध्यक्ष शीला लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र अमेरिकाका साहित्य साधकहरूको उपस्थिति थियो ।  

काठमाडौँः     स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख ६४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६६ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार नौ सय ८० निर्धारण भएको छ । 

काठमाडौँः     समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उहाँले दिनुभयो ।   

प्युठान:   प्युठानमा मोटरसाइकलको ठक्करबाट ३ महिनाको शिशुको ज्यान गएको छ ।       ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको ३ महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।       उहाँका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।  घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

रसुवा:    लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल  राखिएको छ ।  उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का  मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए । ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धरानः    इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ ।  परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै  आउनुभएको छ । उहाँले भन्नुभयो,  “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।” बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उहाँले भन्नुभयो, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” उहाँले सजावटका सामान पनि बनाउन थाल्नुभएको छ । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताउनुभयो । हाल उहाँको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् । बेतबाट बनेका सजावटका सामान रु ७ सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट १ बण्डल बेतलाई रु ३ हजार ५ सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट ५ वटासम्म सामान बनाउन  सकिने भएकाले आफूलाई घाटा नभएको उहाँले बताउनुभयो ।राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्नुभएको छ ।  ११ वर्षदेखि बेतका फर्निचर बनाउँदै आउनुभएका उहाँले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।  उहाँले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।”  हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उहाँ युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।  

चितवनः    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस  र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।  दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको भरतपुर अस्पताल र ३ जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।   

धनगढी:    धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन ।  घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्नुुहुन्छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ ।  “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भन्नुभयो, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।” केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् ।  नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झनुहुन्छ ।  चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउनुहुन्छ । “कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ”, उहाँ भन्नुहुन्छ, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन् ।”  केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउनुहुन्छ ।  “डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयोभने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ”, प्रमुख हमालले रासससँग भन्नुभयो, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उहाँले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।  पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन ।  निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउनुहुन्छ । “घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ”, उपनिर्देशक यादवले भन्नुभयो ।  सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो ।    धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउनुहुन्छ । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।  हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ ।  उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।  उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।