मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

भक्तपुर:   भक्तपुरको टोलटोलमा यम्बद्य: अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ ।       जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्य: अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।       भाद्रशुक्ल त्रयोदशी अर्थात् दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने प्रचलन रहेको छ ।  भाद्रशुक्ल चतुर्दशी अर्थात् तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्र दहमा देवतालाई राखेर भव्य मेला भर्ने गरिन्छ ।      भाद्रशुक्ल पूर्णिमा अर्थात् चौथो दिन भक्तपुरका बासिन्दा बिहानै सिद्ध पोखरी पुगेर ‘इन्द्र दह स्नान’ गर्ने गर्दछन् । यस दिन बिहानदेखि सिद्धपोखरीमा स्थानीयको भीड लाग्ने गर्दछ । त्यस दिन समय् (भोज) चढाएर, खाएर येँयापुन्ही मान्छन् । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह देवता भित्र्याउने गरिन्छ ।       आश्विनकृष्ण प्रतिपदा अर्थात् पाँचौँ दिन नित्य पुजा र आरती गर्ने गरिन्छ । आश्विनकृष्ण द्वितीया अर्थात् छैटौँ दिन इन्द्रजात्रा उत्सवका रुपमा विशेष महत्वका साथ सला गणेश, यामता, मुपात्र जात्रा मनाउने गरिन्छ । त्यस दिन तचपाल टोलबाट ‘यामता’ इन्द्रबत्ती बालेर जात्राको शुभारम्भ गरिन्छ । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्न ठूलो भीड लाग्ने गर्दछ । साकुलान टोलका मानन्धरहरूले बाँसले बनेको त्रिशूल आकारको यामतालाई आँगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्ने प्रचलन छ ।       जात्राको सातौँ दिन अर्थात् आश्विन कृष्ण तृतीयाका दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूले यामतासहित देश परिक्रमा गरी जात्रा मनाउँछन् ।  मूपात्र पनि आङ्खना दुईजना धिचाहरू लिएर अघिल्लो दिनमा जस्तै नगर परिक्रमा गर्दै सामुन्नेमा परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा मनाउने गरिन्छ । जात्राको अन्तिम दिन आश्विनकृष्ण चतुर्थीमा भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा भव्य रुपमा मनाउने गरिन्छ ।       इन्द्रजात्राको समापनका दिन धुमधामसँग जात्रा मनाउने प्रचलन छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ । जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र  बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक हुने गरेको स्थानीय विजयप्रसाद धौभडेल बताउनुहुन्छ ।      त्यस दिन भैरवनाथको मन्दिरको भित्तामा झुन्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उहाँले जानकारी दिनुभयो । ठाउँठाउँमा छ्वाली बाल्दै नीलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि यहाँ मनाइन्छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा चल्ने उहाँले जानकारी दिनुभयो ।       इतिहासविद् प्राडा श्रेष्ठका अनुसार गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तीतो अमिलो फल) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरेका थिए । उनले फलफूल चोरेको यहाँका बासिन्दाले थाहा पाएपछि उनलाई पक्रेर चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखेका थिए ।      इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि बसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र शीत र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।            अर्को किंवदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाइन् । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लडाइँ गरे ।      लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । त्यस क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रमा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवदन्ती रहेको इतिहास तथा संस्कृतिविद् प्राडा श्रेष्ठ बताउनुहुन्छ ।      जात्रामा पुलुकिसीले केही गरी मुपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने पूर्वमान्यता रहँदै आएको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।        इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको हो ।

काठमाडौं:    सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।       गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।       ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 

उदयपुर:    उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् ।  त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।                   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए ।  राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।  घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ ।      आयोगले आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा कुल दुई सय एकवटा मुद्दा दर्ता गरेको छ । त्यसमा गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीसँग सम्बन्धित ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका चारवटा छन् ।      राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०/८१० पेस गर्नुभएको थियो ।      आयोगले आफ्नो टङ्गालस्थित कार्यालय एवम् आयोग मातहतका कार्यालयहरू इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुर तथा बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट कार्यसम्पादन गर्दै आइरहेको छ ।  हाल आयोगमा कुल नौ सय ९० कर्मचारीको दरबन्दी  रहेको छ । यस्तै, आयोगले ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धानसम्बन्धी अधिकारसमेत प्रत्यायोजन गरेको प्रतिवेदनमा उल्लेख छ ।      आयोगले भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं  विस्तृत अनुसन्धान तथा भ्रष्टाचार देखिएका उजुरीमाथि विशेष अदालतमा आरोपपत्र दायर गर्ने र सो अदालतबाट भएको फैसलाउपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको छ ।      आव २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार नौ सय १८ उजुरी प्राप्त भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३६ हजार एक सय ८६ रहेको छ । तीमध्ये  ७६ दशमलव ५९ प्रतिशत उजुरी अर्थात् २७ हजार सात सय १४ उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरिएका छन् ।      सङ्घीय मामिलाको उजुरी सबैभन्दा बढी      प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत छन् ।  यस्तै, शिक्षा (स्थानीय तहसमेत) १५ दशमलव ७९ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन छ दशमलव ९८, भूमि प्रशासन छ दशमलव ४९, नक्कली शैक्षिक प्रमाणपत्र चार दशमलव ७१, वन तथा वातावरण तीन दशमलव ८२, स्वास्थ्य तथा जनसङ्ख्या तीन दशमलव ६८, भौतिक पूर्वाधार तथा यातायात तीन दशमलव ६१, गृह प्रशासन तीन दशमलव ५२ प्रतिशत र अर्थतर्फ दुई दशमलव १३ प्रतिशत उजुरी छन् ।        यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ दुई दशमलव १०, खानेपानी तथा सहरी विकास एक दशमलव ६१ र अन्य निकायरक्षेत्रसँग सम्बन्धित उजुरीहरू छ दशमलव ६५ प्रतिशत रहेका छन् । आयोगले कुलमध्ये नौ सय ३२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरेको, १३ हजार पाँच सय उजुरी तामेलीमा राखिएको, चार सय ९६ उजुरीउपर सुझाव दिई तामेलीमा र १२ हजार सात सय ८६ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको जनाएको छ ।      आव २०८०/८१ मा एक हजार ५० वटा फाइलको विस्तृत अनुसन्धान सम्पन्न गरी आयोगमा पेस भएकामा कुल ८६ वटा बैठक बसी दुई सय एकवटा मुद्दा दायर गर्ने निर्णय गरिएका थिए । विभिन्न विषयमा एक हजार दुई सय ९४ वटा निर्णय भएका प्रतिवेनमा उल्लेख छ ।      आयोगका प्रवक्ता नरहरि घिमिरेकानुसार प्रतिवादी बनाएकामध्ये सरकारी कर्मचारी पाँच सय २०, निर्वाचित जनप्रतिनिधि एक सय छ, मनोनीत पदाधिकारी एक सय ४८, राजनीतिक नियुक्ति ३२, लेखापढी व्यवसायी, विचौलिया, सङ्घसंस्था र अन्य व्यक्तिहरू सात सय ३९ जना छन् ।  यस्तै, सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका छ, सहसचिव वा सो सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत दुई सय दुई र सहायक स्तरका दुई सय जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।      स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।      उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो ।      सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

झापा:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनुभएको छ ।  माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताउनुभयो । “नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।  उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राख्नुभयो ।  कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ ।  कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो । 

लमजुङ:     अविरल वर्षापछि पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ ।  आज साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताउनुभयो ।  सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उहाँको भनाइ छ ।  यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताउनुभयो । “पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौँ”, उहाँले भन्नुभयो ।     यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ ।

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । अध्यक्षमा बिजयी कार्की यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । पोखरेल भने अघिल्लो अधिवेशनमा पनि अध्यक्षमा पराजित भएका थिए । संघको पदाधिकारीमा यसअघिनै ४ जना निर्विरोध भएका थिए । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ छन । उनीहरु सबै अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलका थिए ।  कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका थिए । उपमहासचिवमा भने बालकृष्ण कोइरालालाई हराउँदै सुदीप प्रधानांगले जित हासिल गरेका छन । प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जना उम्मेदवार रहेका थिए ।

पोखरा:     ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा जन्मजात खुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुलो र कमजोर भएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका , हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि.रोग लागेका बालबालिकाको उपचार गरिएको गरिएको थियो ।  त्यस्तै शिविरमा औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुस्किएको, सहायक सागम्री तथा कृत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले जानकारी दिए । शिविरको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुप्मा अपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन् ।  उनले उपचार र परीक्षणका लागि बनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन् ।  पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुरुङले बोलेका थिए । यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलट वितरण गरिएको छ ।  ६० औँ  राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सुुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो । आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुुल हस्तान्तरण गरिन् । उनले दिवसको अवसरमा बाल सुुधार गृह अनुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएको बताइन् । उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरिने बताउदै अहिले आवश्यकता बारे वाडेनसंग छलफल र अनुगमन गरिएको बताइन् ।  बाल सुधार गृहका वाडेन अजय केसीले बाल सुुधार गृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबल कुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । हाल सुधार गृहमा ११० जना बालकहरु रहेका छन् । सुधार गृहको क्षमता ६० जनाको रहेको वाडेन केसीले बताए ।