पर्वत: मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् । डिमुवा–तिलाहार–थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीति दल तथा सङ्घ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए । थामर्जुङमा एक सय ५५ घरपरिवार छन् । सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा रु १० लाख सङ्कलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताउनुभयो । विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैँ जुटेर ढलान गरिएको उहाँले बताउनुभयो । “पालिका, प्रदेश र सङ्घीय सरकारमा हाम्रो पहुँच पुगेन, अन्य सामाजिक कार्य गर्न देउसी खेलेर सङ्कलन गरेको रकम सडक ढलानमा खर्च गरेका छौँ”, स्थानीय नम्रता बस्यालले भन्नुभयो । उहाँले बिरामी उपचारका लागि अस्पतालसम्म लैजान समस्या भएपछि गाउँवासीको सक्रियतामा सडक ढलान गरेपछि अहिले सहज भएको बताउनुभयो । स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट रु १५ लाख गरी रु २५ लाख लागतमा सडक ढलान गरिएको हो । गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । अन्य वडाबाट साझेदारी रकम नआएपछि उक्त वडामा मात्र ढलान गरिएको लामिछानेले बताउनुभयो । उक्त रकमवाट झण्डै दुई सय मिटर सडक ढलान गरिएको छ । सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् । विगत वर्षहरूमा वर्षायामका चार महिना सडक सुविधाबाट वञ्चित हुने थामर्जुङ गाउँमा अहिले बाह्रैमास सवारी चलाउन सकिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । स्थानीयको समेत साझेदारीमा निर्माण गरिएकाले कामको गुणस्तर उत्कृष्ट रहेको उहाँको भनाइ छ । झण्डै तीन किलोमिटर लामो तिलाहार–थामर्जुङ सडकको अन्य भागको स्तरोन्नतिका लागि पनि पालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । देउसीभैलो खेलेर सडकमा लगानी गरेको यो जिल्लामै नमूना कार्य भएको उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।
बागमति: बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो । कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ६१ हजार एक सय जरिवाना तथा रु तीन लाख ९१ हजार दुई सय ५६ जरिवाना गराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । आव २०८०/८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा कमजोर पाईएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो । सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उहाँले बताउनुभयो । सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
काठमाडौं: पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी हुनुभएको छ । टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उहाँले अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गर्नुभएको थियो । गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको टानका निवर्तमान महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो । यस्तै, सचिव पदमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित हुनुभयो । महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित हुनुभएको छ । विजयी भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले टानमा आबद्ध व्यवसायी र मजदुरका लागि ‘टान बृहद् अक्षयकोष’ निर्माण गर्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने बताउनुभएको छ ।
मनाङ: एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्गबाट मनाङ पुगेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये सार्क राष्ट्रका एक हजार तीन सय ७७ र अन्य मुलुकका २० हजार नौ सय ९४ पर्यटक यस पदमार्ग भएर आएको बताउनुभयो । उहाँका अनुसार १२ हजार छ सय ७५ महिला, नौ हजार छ सय ८९ पुरुष र अन्य सात जना पर्यटक यहाँ आएका छन् । केन्द्रका अनुसार अन्य देशबाट आएकामध्ये १२ हजार चार सय ४७ महिला, आठ हजार पाँच सय ४० पुरुष र अन्य सात जना पर्यटक रहेका गुरुङले जानकारी दिनुभयो । त्यस्तै सार्क राष्ट्रका एक हजार एक सय ४९ पुरुष र दुई सय २८ महिला पर्यटक आएका केन्द्रले जनाएको छ । केन्द्रका इञ्चार्ज गुरुङका अनुसार पदमार्गमा आएकामध्ये इजरायल, जर्मन, फ्रान्सलगायत देशका नागरिक बढी छन् । आव २०७९÷८० मा भन्दा गत आवमा पर्यटक आगमनमा वृद्धि भएको केन्द्रका इञ्चार्ज गुरुङले बताउनुभयो । आव २०७९÷८० मा २० हजार दुई ६७ पर्यटक यहाँ आएका थिए । अन्य मुलुकका १९ हजार चार सय २३ आगमन हुँदा सार्क राष्ट्रका आठ सय ४३ पर्यटक आएका उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको पहिलो लहर आएयता प्रभावित बनेको यहाँको पदमार्ग पर्यटन केही वर्षदेखि विस्तारै चलायमान हुँदै जान थालेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्दछ । यस पदमार्गसँग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीगरी पाँच जिल्ला जोडिएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, वेषभूषा, प्राकृतिक सुन्दरता हेर्न, मनाङबाट संसारको अग्लो थोराङला पारगरी मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गरेको केन्द्रका इञ्चार्ज गुरुङले उल्ल्ेख गर्नुभयो । साथै मनाङमा रहेका विभिन्न हिमाल चढ्न र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ । यसअघि थोराङ्ला पार गर्न करिब २१ दिन लाग्ने गरेको भन्दै पछिल्लो समयमा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा छोटिएर करिब १२ दिनमा टुङ्गिने गुरुङले जानकारी दिनुभयो । देशको राजधानी काठमाडौँबाट लमजुङ बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकजस्तै आन्तरिक पर्यटकसमेत यस पदमार्ग हुँदै मनाङ पुग्ने गरेका भन्दै आन्तरिक पर्यटकको तथ्याङ्क भने कतै अभिलेख नभएको उहाँले बताउनुभयो । यस पदमार्गमा देशका विभिन्न स्थानबाट स्वदेशी पर्यटक आउने गर्दछन् ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो । “गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ । तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ । गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् । भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ । उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ । चुङसी गुफा अवलोकन गर्नुभएका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो । “साङबोचेबाट चुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।” गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ । पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।
काठमाडौं: सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो । त्यस्तै, आज स्वीस फ्रयाङ्क एकको खरिददर एक रुपैयाँ ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ पाँच पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ छ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा रहेको छ । आज हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ चार पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।
बाँके: शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो”, फोकल पर्सन श्रेष्ठले भन्नुभयो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो, “हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।” स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उहाँले बताउनुभयो । यो पनि पढ्नुहोस बाँकेमा अज्ञात रोगका कारण चार जनाको मृत्यु यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो । स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भन्नुभयो, “एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।” उहाँले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताउनुभयो । “समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो”, उहाँले भन्नुभयो, “परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।” नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताउनुभयो । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख राइनले भन्नुभयो, “महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।” सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उहाँले जानकारी दिनुभयो । नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँचरछ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।

