काठमाडौं: हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो मोहल तयार हुन्छ, त्यो राम्रो हो ।”, उहाँलाई तिज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ । अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तीज हो । “पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ”, उहाँले भन्नुभयो, “घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तीकरणको राम्रो दिन बनेको छ ।” यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उहाँको अनुभव छ । “समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तिजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ”, नेतृ हमालले भन्नुभयो, “महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ ।” महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उहाँको ठम्याइ छ । सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तीज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा नौ वर्षदेखि ‘तिज उत्सव’ मनाउँदै आउनुभएको छ । यस वर्ष उहाँले सुदूरपश्चिमको कञ्चनपुरमा तिज संवाद गर्नुभएको छ । “तिज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ”, संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भन्नुभयो, “नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तिज संवाद मनाउन लागिएको हो ।” उहाँलाई तीज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै थप्नुभयो, “पृत्तिसतात्मक सोचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।” महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । “एउटा वर्गले श्रीमान्का लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थय पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन”, उहाँले थप्नुभयो, “महिला सशक्तीकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो ।” संस्कृतिविद् डा शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तिज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो । उहाँले भन्नुभयो, “महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ ।” डा. ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ । तीज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।
बागलुङ (ढोरपाटन): बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागद्वारा आज विहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बुलेटिनमा उल्लेख छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले अनुरोध समेत गरेको छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाउनुभयो । पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”,उहाँले भन्नुभयो । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा यो व्रत सक्ने नीराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । महिनाँै अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा स्थापित गर्न खोजेको छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा यसका लागि तोकिएको छ । बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।
बागलुङ (ढोरपाटन): अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् । पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।”
पोखरा: लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन् । बिहिबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो । राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमका सहभागिता रहेको थियो । शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमण्ड र एपिएफ यस अघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए । लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षण सरह मानिएको छ । दुबै टिमले फाइनल अघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन् । एपिएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो । उता डायमण्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो । हारपश्चात एपिएफ दोस्रो स्थानमा रह्यो । एपिएफको कुल ३ खेलबाट ६ अंक रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो । यस्तै आजै भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । यो संगै एभरेष्टले ३ खेलमा दुइ जित एक हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यहारेको गण्डकी अन्तिममा रह्यो । उता पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरेपनि अन्य टिमको टुंगो भने विहिबारमात्रै लाग्यो । बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट ६ अंक छ । उता पुलिसको पनि ६ अंक नै छ । दुवै टोलीको ६–६ अंक रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १–१ सेट जिते । पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९–२५ ले पछि प¥यो । प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो । तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो । यो संगै गण्डकीको कुल ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ । चीनको ग्वाङजाओबाट हाल काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो । चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।” मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पार्नुभयो । साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । त्यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताउनुभएको छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ ? पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्रसहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । पोखरेल प्यानलले १६ बुँदे प्रतिबद्धता पत्रमा पोखरा उद्योग वाणिज्य संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पहलकदमी गर्ने उल्लेख गरेका छन् । यस्तै पोखरा भित्रिने जीर्ण राजमार्गलाई छिटो निर्माण गर्न समन्वयकारी भूमिका खेल्ने, यातायात व्यवसायी र सर्वसाधारणका समस्यालाई समाधान गर्न समन्वय गर्ने, पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन पहलकमी गर्ने, ऋण तिर्न नसकेर कालो सूचीमा परेका व्यवसायीहरुको समस्या समाधानमा पहलकदमी गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरेल प्यानलले कर र ऋणको ब्याजमा छुट दिन सरकार र बैँकलाई तोकता गर्ने, उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउने बाटोमा पहलकदमी गर्ने, व्यवसायी संघसंस्थासँग समन्वय गर्दै समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्ने, तीनै तहको सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणमा पहलकदमी गर्ने व्यवसायी समक्ष प्रतिवद्धता जनाएका छन् । यस्तै घरबेटीले बहाल पाउने र व्यवसायीले तिर्न सक्ने समन्वयकारी भूमिका खेल्ने, फेवातालको मापदण्डको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, पार्किङको समस्या समाधान गर्न महानगरसँग समन्वय गर्ने र शिक्षा, स्वास्थ्य लगायत सेवामुलक व्यवसायीमा देखिएका समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् । पोखरेल प्यानलका तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध पोखरेलको प्यानलमा रहेका उत्तममान बुद्धचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष, वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) मा निर्विरोध बनिसकेका छन् । यस्तै पोखरेल प्यानलमा नै रहेका कार्यसमिति सदस्यमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य)मा निर्विरोध बनिसकेका छन् । निर्विरोध भएका उनीहरुलाई निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ । पोखरेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा क्रमशः भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।
गण्डकी: विकासमा आयोजनामा हुने ढिलासुस्ती र लापरबाहीबारे जान्न बागलुङ बसपार्क र पोखरा बसपार्क हेरे पुग्छ । निर्माण प्रकृया सुरु भएको २३ वर्षपछि बागलुङ बसपार्कको मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । सहरी पूर्वाधार र व्यावसायिक योजनाको अभावमा उक्त बसपार्क नियमित सञ्चालन हुनेमा भने अझै संशय नै छ । उद्घाटन भएको भोलिपल्ट बुधबारदेखि नै बसपार्क सुनसान बनेको स्थानीयवासीले जनाएका छन् । नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रु ११ करोड खर्चेर बसपार्क निर्माण गरिएको हो । ऋण लिएबापत बागलुङ नगरपालिकाले वार्षिक रु एक करोड २७ लाख सावाँब्याज नगर विकास कोषलाई तिर्दै आएको छ । जग्गा व्यवस्थापन विसं २०५७ मा भएपनि बसपार्क निर्माण विसं २०७८ मा भएको थियो । विसं २०६१ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको उक्त बसपार्क निर्माणले गति नलिएपछि पुनः विसं २०७५ फागुनमा तत्कालीन सहरी विकासमन्त्री मोहम्मत इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो । स्थानीयवासीले बसपार्क बनाउन ५९ रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएका थिए । जसमध्ये १७ रोपनीमा बसपार्क निर्माण भएको छ भने बाँकी जग्गामा धनीलाई नै फिर्ता गराइनेछ । नगर विकास कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने बागलुङ नगरपालिकाको योजनाले सार्थकता पाएपनि बसपार्क सञ्चालनमा आउन भने सकेको थिएन । बसपार्क जोड्ने पहुँच मार्ग निर्माणलगायत कतिपय पूर्वाधार निर्माण समयमा नहुँदा बसपार्क सञ्चालनमा ढिलाइ हुँदै आएको थियो । बसपार्क निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै तत्कालीन जनप्रतिनिधिसहित कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि बसपार्क सञ्चालन थप अन्यौलमा परेको थियो । निर्माण पूरा भएको तीन वर्षसम्म पनि बसपार्क सञ्चालनमा नआउँदा जनस्तरबाट नगरपालिकाको तीव्र आलोचना हुँदै आएको थियो । जग्गाधनी पनि निराश र आक्रोशित थिए । ढिलै भएपनि बसपार्क उद्घाटन भएर सञ्चालनमा आउने वातावरण बन्नुलाई सुखद् मान्नुपर्ने बसपार्क जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो । “हामीले बसपार्कलाई निःशुल्क जग्गा दियौँ, उद्घाटनका लागि वातावरण पनि बनायौँ, हाम्रो दायित्व पूरा भएको छ”, उहाँले भन्नुभयो, “बसपार्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने जिम्मा अब नगरपालिकालगायत अन्य सरोकार भएका पक्षको हो ।” बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण अझै बाँकी रहेको उहाँले बताउनुभयो । “नगरपालिकासँग हाम्रो १२ बुँदे समझदारी भएको छ, त्यसमा उल्लेख गरिएका प्रतिबद्धता नगरपालिकाले पूरा गर्नुपर्छ, जग्गाधनीको माग नै यही छ”, उहाँले भन्नुभयो, “अबपनि बसपार्क नचलाउने हो भने नगरपालिकाको अक्षम झल्किन्छ, बसपार्कलाई नियमित सञ्चालन गर्न सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ ।” बसपार्कमा ५० वटा ठूलो बस र १० वटा मिनी बस अट्ने क्षमता छ । टर्मीनल भवन, व्यापारिक भवन, टिकटकक्षलगायतका संरचना बनाइएको छ । नयाँ बसपार्क नबन्दा बागलुङ नगरपालिका–३ मा रहेको अस्थायी बसपार्कबाट बस सेवा सञ्चालन हुँदै आएको थियो । प्रदेश राजधानी पोखरा पनि ५० वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको दूरावस्थाले पर्यटकीय राजधानीसमेत रहेको पोखरालाई नै गिज्जाएको महसुस हुन्छ । बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर खुम्चदै गएको छ । अव्यवस्थित घरटहरा । फोहोरको दुर्गन्ध । बिजुलीका जीर्ण पोल । लत्रिएका तार । हिलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । आँखा बिझाउने यी दृश्य पोखरा बसपार्कका हुन् । न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । किनारामा थन्काइएका थोत्रा बस आदिले पनि बसपार्कको बेहाल अवस्थालाई दर्शाइरहेको छ । झण्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुङ्गो छैन । पोखरा उपत्यका नगर विकास समितिले उहिले देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र कामचलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ रु चित्तबुझ्दो जवाफ कुनै निकायसँग छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बसपार्कले पर्यटनको राजधानी सहर पोखराकै बदनाम गरेको बताउनुभयो । “नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउने पोखरामा स्तरीय बसपार्क बन्न नसक्नु दुर्भाग्य हो, बसपार्कको बेहाल देख्दा हामीलाई पनि पीडा हुन्छ”, उहाँले दुःखेसो पोख्नुभयो, “राजनीतिको दुश्चक्रमा बसपार्क फस्यो, राज्यका निकायले पनि बसपार्क बनाउन इच्छाशक्ति देखाएनन् ।” अध्यक्ष केसीका अनुसार सो बसपार्क भएर दैनिक झण्डै तीन सय गाडी देशका विभिन्न गन्तव्यमा गुड्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको उहाँको भनाइ छ । “पोखरा एकातिर प्रदेशको राजधानी सहर हो, अर्कातिर पर्यटनको केन्द्र”, अध्यक्ष केसीले भन्नुभयो, “बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ, अब पनि बसपार्क नबनाउने हो भने पोखराकै बेइज्जत हुन्छ ।” उहाँले बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताउनुभयो । यातायात व्यवसायीले पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आएपनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गर्नुभयो । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रुहरु बसपार्क छिर्नै चाहँदैनन् । अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार बन्न सकेको छैन । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ । जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बसपार्क नबन्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । “व्यवस्थित बसपार्क नहुँदा बस सडकबाटै अवस्था छ, पृथ्वीचोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “बसपार्क निर्माणमा पोखरा महानगरपालिका र प्रदेश सरकारको विशेष ध्यान जानु जरुरी छ, पोखरा जस्तो पर्यटकीय सहरमा बसपार्क नहुनु दुर्भाग्यको विषय हो ।” उहाँले पोखरा–मुग्लिन सडक विस्तार हुँदै आएकाले अहिले पृथ्वीचोक क्षेत्र छेउछाउको पार्किङस्थल सडकमा परिणत हुने उहाँले बताउनुभयो । महानगरपालिकाले भुइँमा ग्राभेल बिछ्याएर हिलो र खाल्डाखुल्डी पुर्ने काम गरेपनि वर्षात्का बेला बसपार्क फेरि पुरानै अवस्थामा फर्कने गरेको छ । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने÷ओराल्ने गर्दा पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । यातायात व्यवसायीहरुले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् । माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ । सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ । बसपार्क बनाउने भनिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ । पोखरा महानगरअन्तर्गत पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको उक्त जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा प¥यो भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन । दुई सय पाँच रोपनीमध्ये केही जग्गा पृथ्वी राजमार्गमा पर्दा पछि बसपार्कका नाममा एक सय ८७ रोपनी कायम भएको थियो । उक्त जग्गा पनि अहिले घट्दैघट्दै ६० रोपनीभन्दा पनि कममा सीमित भएको छ । जग्गाकै कारण पृथ्वीचोकमा ठूलो बसपार्क बन्ने सम्भावना नरहेको भन्दै महानगरले ‘सिटी’ बसपार्कको योजना अघि बढाएपनि त्यसले सार्थकता पाउन सकेको छैन । पोखरा–३२ लामेआहालमा प्रादेशिक बसपार्क बनाउने गण्डकी प्रदेश सरकारको प्रस्ताव पनि अलपत्र परेको छ । दुई सय ७३ रोपनी क्षेत्रफलमा बनाउने भनिएको उक्त बसपार्कका लागि लगानीको स्रोत जुट्न नसकेको प्रदेश सरकारले जनाएको छ ।

