कास्की: गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटा जिल्लामा गरी एक महिनामा उक्त सङ्ख्यामा सवारीसाधनलाई कारबाही गरिएको जनाएको छ । यसैगरी सोही अवधिमा सवारीसाधन कारबाहीबाट रु एक करोड ५० लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यहाँ कास्कीमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । कास्कीमा सात हजार तीन सय १३ सवारी साधन कारबाहीमा पर्दा रु ५४ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । यसैगरी नवलपरासीमा दुई हजार आठ सय सतासी सवारीसाधनबाट रु २२ लाख ४१ हजार पाँच सय, तनहुँमा तीन हजार चार सय ४५ सवारीसाधनबाट रु २६ लाख ९७ हजार पाँच सय, स्याङ्जामा एक हजार दुई सय ३५ सवारीसाधनबाट रु नौ लाख ८३ हजार पाँच सय, बागलुङमा नौ सय ७० बाट रु आठ लाख ४१ हजार, लमजुङमा एक हजार सात सवारीसाधन कारबाहीबाट रु सात लाख ६८ हजार राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । यसैगरी गोरखामा नौ सय ७२ सवारीसाधनबाट रु नौ लाख २८ हजार पाँच सय, पर्वतमा छ सय ११ सवारीसाधनबाट पर्दा रु पाँच लाख ७५ हजार, म्यादीमा पाँच सय ७४बाट रु चार लाख २५ हजार पाँच सय, मुस्ताङबाट ७५ सवारीसाधन कारबाहीबाट रु ७१ हजार पाँच सय र मनाङमा २४ सवारीसाधनबाट रु २२ हजार राजस्व जम्मा भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । “ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेको सङ्ख्या बढ्न थालेपछि जिल्ला जिल्लामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । दैनिकजसो सवारी जाँच गरिएको र नियमविपरित चलाउनेलाई कारबाहीस्वरूप जरिवाना गर्ने गरिएको छ”, प्रनाउ विकले भन्नुभयो । कार्यालयले यस अवधिमा सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेशभर तीन हजार दुई सय ५७ ट्राफिक जनचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । ती कार्यक्रमबाट महिला ५६ हजार दुई सय ५३ र पुरुष ९८ हजार आठ सय ८१ जना गरी एक लाख ५५ हजार एक सय ३४ जना लाभान्वित भएको बताइएको छ ।
काठमाडौं: यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत रु एक करोड ३० लाख ९६ हजार दुई सय ६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।
काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नुभएको हो । प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पु¥याउनु भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताउनुभयो । साथै उहाँले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उल्लेख गर्नु भयो । मन्तव्यकै क्रममा सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लाग्नुभएका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पु¥याउन महारथी शर्माले प्रदर्शन गर्नुभएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्नु हुने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गर्नु भयो । कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सम्झनास्वरूप उपहार प्रदान गर्नुभएको थियो भने नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गर्नुभएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप मउपहार प्रदान गर्नुभएको थियो । यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झनास्वरूप उपहार आदानप्रदान भएको थियो । त्यस अवसरमा पूर्वप्रधानसेनापतिहरू, पूर्वरक्षा सचिवहरू, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस अघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गर्नुभएको थियो भने प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६१ र बिक्रीदर एक सय तीन रुपैयाँ ७ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २१ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पोखरा: पोखरा महानगरपालिका–११ स्थित मेडिपल्स हस्पिटल पछाडि कार पार्किक गर्ने क्रममा सेती नदीको खोँचमा खसेको छ । आज साँझ हस्पिटलको पछाडि ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कारसँगं खोँचमा खसेका पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने कार चालक ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय सितल आचार्यको सकुशल उद्धार गरेको कास्की प्रहरीले जनाएको छ । कार पार्किङ स्थलबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गोरखा: गोरखा नगरपालिका–१०, स्थित विरिञ्चोकमा आज पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो । “हेर्दाखेरी वयस्क पोथी चितुवा खोल्सीमा बसिरहेको अवस्थामा फेला परेको हो”, उहाँले भन्नुभयो, “दिउँसोदेखि एक ठाउँबाट अर्को ठाउँमा हलचलसमेत नगरेकाले चितुवा घाइते अवस्थामा रहेको अनुमान गरिएको छ ।” स्थानीयवासीले जानकारी दिएलगत्तै वन कार्यालयबाट एक टोली खटिएर चितुवाको निगरानी गरिरहेको उहाँले बताउनुभयो । “दिनैभरि चितुवा यताउता गरेको छैन”, उहाँले भन्नुभयो, “मानिस जम्मा भएर हल्लाखल्ला गर्दा चितुवा नभागेको तर अनुहार हेर्दा बलियो र फूर्तिलो अवस्थामा देखिन्छ ।” प्रमुख शालिण्यले चितुवा ठूलो भएकाले डार्ट नगरी नियन्त्रणमा लिनसक्ने अवस्था नरहेको बताउनुभयो । “खोरमा पार्न मिल्छ कि भनेर पनि वन कार्यालयले खोर लिएर गएको थियो”, उहाँले भन्नुभयो, “घाइते हुनसक्ने भएकाले झनै हिंस्रक हुनसक्ने र एक ठाउँबाट अर्को ठाउँमा नसरेकाले त्यो पनि सम्भव भएन ।” भोलि बिहानसम्म वन कार्यालयका कर्मचारीले चितुवाको निगरानी गर्ने र कहीँकतै नगए डार्ट झिकाएर उद्धार गर्ने तयारी गरिएको उहाँको भनाइ छ । “त्यतिकै छोड्दा जान्छ कि भनेर पनि पर्खिएका हौँ, प्रमुख शालिण्यले भन्नुभयो, ‘‘कतै गएन भने अन्य विकल्प सोच्नुपर्ला ।” कार्यालयसँग चितुवा नियन्त्रणका लागि डार्ट गर्न आवश्यक व्यवस्था उपलब्ध नभएकाले समस्या भएको उहाँको भनाइ छ । चितुवाको निगरानीका लागि वन कार्यालयले तीन जना कर्मचारी परिचालन गरेको छ । स्थानीयवासीले केही दिनअघिदेखि घाइते अवस्थामा चितुवा हिँड्दै गरेकोसमेत देखेको बताएका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई रु ६५ लाख नै दिने स्पष्ट गर्नुभयो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् । प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यसपटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जीत नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीर्तिमान तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।” सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।
काठमाडौं: नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिनुभएको थियो । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाउनुभएको थियो । “पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ता गरेको कामको मूल्याङ्कन प्रणाली बनाउने कुरा भएको छ”, उहाँले भन्नुभयो, “मूल्याङ्कन कमिटीगत रुपमा हुनुपर्नेमा पोलिटब्युरो सदस्यको सुझाव रहेको छ ।” बैठकमा प्रचार विभाग प्रमुख गौतमले संविधान संशोधनको सन्र्दभमा नेपाली कांग्रेससँग गरिएको सम्झौताअनुसार नै संविधान संशोधन गर्न पोलिटब्युरो सदस्यले सुझाव दिएको बताउनुभयो । उहाँले संविधान पुनरावलोकन आवश्यक र पुनरावलोकनको आधारमा संविधान संशोधन गर्न सुझाव दिइएको बताउनुभयो । बैठकमा ५१ जना पोलिटब्युरो सदस्यले महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिनुभएको थियो । बैठक दुई दिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।

