गोरखामा वयस्क पोथी चितुवा फेला, उद्धारमा समस्या
गोरखा | भदौ १९, २०८१
तस्बिर फाइल
गोरखा: गोरखा नगरपालिका–१०, स्थित विरिञ्चोकमा आज पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो ।
“हेर्दाखेरी वयस्क पोथी चितुवा खोल्सीमा बसिरहेको अवस्थामा फेला परेको हो”, उहाँले भन्नुभयो, “दिउँसोदेखि एक ठाउँबाट अर्को ठाउँमा हलचलसमेत नगरेकाले चितुवा घाइते अवस्थामा रहेको अनुमान गरिएको छ ।”
स्थानीयवासीले जानकारी दिएलगत्तै वन कार्यालयबाट एक टोली खटिएर चितुवाको निगरानी गरिरहेको उहाँले बताउनुभयो । “दिनैभरि चितुवा यताउता गरेको छैन”, उहाँले भन्नुभयो, “मानिस जम्मा भएर हल्लाखल्ला गर्दा चितुवा नभागेको तर अनुहार हेर्दा बलियो र फूर्तिलो अवस्थामा देखिन्छ ।”
प्रमुख शालिण्यले चितुवा ठूलो भएकाले डार्ट नगरी नियन्त्रणमा लिनसक्ने अवस्था नरहेको बताउनुभयो । “खोरमा पार्न मिल्छ कि भनेर पनि वन कार्यालयले खोर लिएर गएको थियो”, उहाँले भन्नुभयो, “घाइते हुनसक्ने भएकाले झनै हिंस्रक हुनसक्ने र एक ठाउँबाट अर्को ठाउँमा नसरेकाले त्यो पनि सम्भव भएन ।”
भोलि बिहानसम्म वन कार्यालयका कर्मचारीले चितुवाको निगरानी गर्ने र कहीँकतै नगए डार्ट झिकाएर उद्धार गर्ने तयारी गरिएको उहाँको भनाइ छ । “त्यतिकै छोड्दा जान्छ कि भनेर पनि पर्खिएका हौँ, प्रमुख शालिण्यले भन्नुभयो, ‘‘कतै गएन भने अन्य विकल्प सोच्नुपर्ला ।”
कार्यालयसँग चितुवा नियन्त्रणका लागि डार्ट गर्न आवश्यक व्यवस्था उपलब्ध नभएकाले समस्या भएको उहाँको भनाइ छ । चितुवाको निगरानीका लागि वन कार्यालयले तीन जना कर्मचारी परिचालन गरेको छ । स्थानीयवासीले केही दिनअघिदेखि घाइते अवस्थामा चितुवा हिँड्दै गरेकोसमेत देखेको बताएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

