काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो । “विद्युत् उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिङ्गो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुनेगरी स–साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ”, उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । “आयोजनालाई अगाडि बढाउन काहाँकाहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्ति कोको हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री खड्काले भन्नुभयो । स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ऊर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले ऊर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो । उहाँले आयोजनागत रुपमा ऐलानी जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको बताउँदै अरुण तेस्रोको लगानी बोर्डमार्फत आयोजना विकास सम्झौता भएकाले बोर्डमार्फत नै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारणलाइन विस्तारका क्रममा देखिएका समस्याकाबारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
पोखरा: निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् । उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् । अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । उक्त कार्यक्रममा मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछिन् । अहिले प्रतियोगीहरु अन्तिम प्रशिक्षणमा छन् । एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चराणमा पुगेको निर्देशक सुरज थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रम ग्राण्ड होटलमा यही २२ गते शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ । यि हुन्, अन्तिम ११ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ । सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् । कार्यक्रमलाई विभिन्न संस्थाको साथ उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् । सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङ्व्येज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको छ । यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।
म्याग्दी: अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ । तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको छ । भक्तजन र स्थानीयको पहलमा ऋखार क्षेत्रमा अन्य मन्दिरसमेत निर्माण भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ । मुस्कुराइरहेको आँखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिले तपस्या गरेको प्रसिद्ध तपोभूमिका रुपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित रहेकाले वैशाखदेखि असोजसम्म पूजाआजा हुन्छ । ऋखार मन्दिरमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमाको दिन बिशेष पूजा हुने गरेको छन्त्यालले जानकारी दिनुभयो । केही वर्षअघिसम्म कुइनेमङ्गले आसपासका बासिन्दाको कम चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचारप्रसारको कारण जिल्ला बाहिरबाट ठूलो सङ्ख्यामा पर्यटक र भक्तजन आउन थालेको उहाँको भनाइ छ । यस मन्दिरमा पूजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजन बढ्दै गएका छन्त्यालले बताउनुभयो । यहाँ म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, नवलपरासी, काठमाडौँलगायत क्षेत्रबाट भक्तजन पुग्ने गर्छन् । दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी ऋखारमा पुगेका भक्तजन र पर्यटकलाई यस क्षेत्रबाट देखिने मनोरम दृष्यले लोभ्याउने गर्दछ । पहिलो पटक यहाँ पुग्नुभएका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखारमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताउनुभयो । उहाँले यहाँबाट देखिने दृष्यले आफू लोभिएको बताउनुभयो । मन्दिर परिसरमा रहेको दमाह आकारको तामाको भाँडोमा कहिल्यै पानी नसुक्ने नौलो विशेषता रहेको ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षौँदेखि मन्दिर परिसरमा रहेको उक्त भाँडोमा कतैबाट पनि पानी नराखे पनि भाँडोमा सधँै भरिभराउ हुने गर्दछ । पूजाआजा र दर्शनका लागि पुगेका भक्तजनले सोहि भाँडोको पानीलाई पवित्रजलका रुपमा लैजाने गरे पनि भाँडो कहिल्यै नरित्तिने छन्त्यालले उल्लेख गर्नुभयो । “पौराणीक कथाअनुसार संसारको प्रलय भई जलमग्न हुँदा सत्यव्रत राजाले डुङ्गामाथि चढेर सप्तऋषि, महत्वपूर्ण जडिबुटी र आफ्नो सुरक्षा गरेको र कालन्तरमा उनीहरु यही क्षेत्रमा आएर विश्राम गरेको जनविश्वास रहेको छ । यहाँ रहेको उक्त ढुङ्गालाई प्रयलकालको अवशेषका रुपमा लिने गरिन्छ भने सप्तऋषिको तपस्थली, हिउँले खारिएको ठाउँ र हजारौँ फूलहरुले सजिएको रमणीय ठाउँ भएकाले यस क्षेत्रको नाम ऋखार रहनगएको किंवदन्ती छ”, उहाँले भन्नुभयो । ऋखार धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताको दृष्टिकोणले पनि पर्यटकीय गन्तव्यको सम्भावनायुक्त ठाउँ रहेको सप्तऋषि युवा क्लबका संरक्षक अङ्कित पुनले बताउनुभयो । मनोरम हिमाल, जङ्गली फूलले रङ्गिएका खर्क, हरियाली डाँडा, छलछल बग्ने झरना, खोलानाला, परम्परागत भेडाबाख्रा र गाईभैँसीको गोठले यस क्षेत्रको पदयात्रामा जाने जो कसैको मन लोभ्याउने उहाँको भनाइ छ । धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले ऋखार संरक्षण समिति गठन गरेर यसको विकास र प्रवर्द्धनको काम गर्दै आएका छन् । स्थानीयको अगुवाई, भक्तजन र समुदायको सहयोग तथा सरोकार भएकाको पहलमा दुवाडी, पात्लेखर्क, बगरखोलामा तिर्थयात्री भवन, ऋखार जाने बाटोमा पुल, पदमार्गलगायत संरचना निर्माणले गरिएको संरक्षक पुनले बताउनुभयो । स्थानीय सरकार कार्यान्वयनमा आएसँगै रघुगङ्गा गाउँपालिका र वडा नं ८ को कार्यालयले ऋखारलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचारप्रसार र पूर्वाधार विकासलाई जोड दिएको छ । सरकारी निकाय र संरक्षण समिति, स्थानीय आमा समूह, युवा क्लबको समेत सक्रियता बढेको संरक्षक पुनले बताउनुभयो । उहाँका अनुसार यहाँका सम्भावना र समस्या पहिचान गरी दीर्घकालीन र तत्कालीन पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउने कार्यलाई वडा कार्यालयले अघि सारेको छ । अप्ठ्यारा ठाउँमा पदमार्ग, खोलामा झोलुङ्गे पुल, प्रयाप्त आश्रयस्थललगायत पर्यटन पूर्वाधार निर्माणसँगै ऋखार हुँदै धवलागिरि हिमालको चेमाली आधार शिविरलाई व्यवस्थित पदमार्गले जोड्न सके यहाँ धार्मिक पर्यटकको आगमन बढाउन सकिने क्लबका संरक्षक पुनको भनाइ छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको रघुगङ्गा–८ कुइनमङ्गलेको विकासमा ऋखार क्षेत्रको धार्मिक, पर्यटकीय पूर्वाधार विकासले महत्वपूर्ण सहयोग पु¥याउने ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले बताउनुभयो । छन्त्याल समुदायको कला संस्कृति पर्यटकका लागि थप आकर्षक बन्न सक्ने भन्दै उहाँले यस क्षेत्रको विकासले समग्र रघुगङ्गा गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
चितवन: चोध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले यस अघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाउनुभयो । अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो लाग्यो । केन्द्रमा रहेका एक सय ५० चेपाङ बालबालिकालाई तीजको अवसरमा नेपाल प्रेस युनियनले आज लट्टे खुवाएको हो । नमिताले भन्नुभयो, “तीज मैले पहिलो पटक सुनेकी हुँ, हामीले त न्वागी पर्व मनाउथ्यौं ।” सोही केन्द्रमा रहनु भएकी १६ वर्षिया जुना चेपाङले पनि पहिलो पटक लट्टेको स्वाद लिनुभयो । खाँदै गर्दा उहाँले भन्नुभयो “मलाई त नौलो परिकार मिठो लाग्यो ।” कक्षा नौ मा अध्ययनरत जुनाले आफूहरुले खासै गुलियो नखाने गरेको भन्दै भातमा चिनी हाल्दा मिठो लागेको सुनाउनुभयो । उहाँ जस्तै केन्द्रमा रहेका ४८ छात्रा र एक सय दुई छात्रले लस्करै लाइन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरुमध्ये शहीद स्मृति क्याम्पसमा तीन, नेपाल माविमा पाँच, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ र बाँकी पञ्चकन्या मावि जयमङ्गलामा अध्ययनरत छन् । केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलो पटक लट्टे खाएर तीज पर्व मनाएका हुन् । त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं २९, इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन् । त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन् । उनीहरुलाई तीजमा दर खुवाएर नचाउन रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा पुग्नुभएको थियो । सँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवालसँगै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित जिल्लाका पत्रकार उपस्थित हुनुभएको थियो ।
भोजपुर: युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभएको थियो । गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ । लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द–१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुग्नु भएको थियो । आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताउनुभयो । प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ । साथै उहाँको घरमा गएर सरकारी टोलीले प्रकाशको जन्मदर्ता र नागरिकतासमेत बनाइदिएको छ ।
पोखरा: मेडिपल्स हस्टिपलको पार्किङ क्षेत्रमा कार पार्किङ गर्ने क्रममा सेती खोँचमा खसेको कार निकालिएको छ । पोखरा महानगरपालिका–११ स्थित मेडिपल्स हस्पिटल पछाडि कार पार्किक गर्ने क्रममा खोँचमा खसेको कार आज (बिहीबार) दिउँसो क्रेनको मद्धतमा सुरक्षाकर्मीले निकालेको हो । बुधबार साँझ हस्पिटलको पछाडि ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा सेती खोँचमा खसेको थियो । कारसँगै सेती खोँचमा खसेका पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने कार चालक ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय सितल आचार्यको सकुशल उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।
झापा: वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् । दुवै सामुदायिक वनलाई डिभिवन वन कार्यालयले मेसिन अनुदानमा उपलब्ध गराएको जनाएको छ । रु पाँच लाख मूल्य बराबरको मेसिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उहाँको भनाइ छ । यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मेसिन भने पहिलो पटक ल्याइएको हो । दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन सुरु गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।
काठमाडौं: हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेगरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिने छन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ । चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ । बाहिर चार लाम भएपनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीनवटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गर्ने तयारी गरेको छ । तीजका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खोल्ने गरी तयारी गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहानैदेखि भक्तजनलाई सहज रुपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको छ । तीजका अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरीमात्र खटाउने गरी व्यवस्था मिलाइएको छ । त्यसका छ सय महिला प्रहरीको सूची कोषमा प्राप्त भएको पत्रकार सम्मेलनमा आज जानकारी गराइएको हो । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी सामग्री मेटाइने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आइएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्रमा समस्या हुने गरेको भन्दै कोषाध्यक्ष सुवेदीले यसको निगरानी कडाइका साथ गरिने बताउनुभयो । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले कडाइ गर्न लागेको उहाँको भनाइ छ । कोषले विगत वर्षदेखि गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरेको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे÷नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेका कोषाध्यक्ष सुवेदीलेले जानकारी दिनुभयो । कोषले तीजका अवसरमा शुक्रबार बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । वृद्धवृद्धा एवं बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रुपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गर्नुभयो । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उहाँको भनाइ छ । मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भाबी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । उच्च शिक्षाको विकासका लागि विभिन्न समयमा विभिन्न सरोकार भएकाले दिएका राय, सुझावलाई समेटेर एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो । बागमती प्रदेशका सदस्य दीपेन्द्र श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा ठूलो सुधारको खाँचो रहेको बताउनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा शिक्षालाई प्रविधितर्फ जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा रुद्र शर्माले क्याम्पसले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क अध्यापन गराउँदै आएको जानकारी दिनुभयो । क्याम्पस प्रमुख अपराजिता अर्यालले नारी शिक्षाको क्षेत्रमा चार दशकदेखि निरन्तर रुपमा लागेको डिल्लीबजार कन्या क्याम्पसमा हाल आठ सयभन्दा बढी छात्रा अध्ययनरत रहेका जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट प्राज्ञिक सम्मानबाट समाजशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएका सोही क्याम्पसका प्राध्यापक डा हरिहर घिमिरे र डा आनन्द पन्तलाई सम्मान गरिएको थियो । साथै क्याम्पसले उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।

