दमौली: गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ । सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ । आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन् । गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिनुभएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउनुहुन्छ । गलेखामकोटमा एकपटकमा २०–२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । व्यास–२ का सुदीप गफ्फार ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ गलेखामकोटको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ ।” यसको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उहाँको भनाइ छ । कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्द्धनका लागि स्थानीयवासी जुटेका छन् । गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ ।” गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकि
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
म्याग्दी: कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू । यी दृश्यहरू मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्सेनि लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् । जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाउनुभयो । “धेरै पर्यटक सिधैँ मुक्तिनाथ पुगेर फर्किन्छन्”, उहाँले भन्नुभयो, “घुम्न र हेर्नलायक धेरै ठाउँ भए पनि ओझेलमा परेको स्याङ गाउँमा जोमसोम र मुक्तिनाथ आउने पाहुनालाई भित्र्याउने प्रयास थालेका छौँ ।” आठवटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताउनुभयो । थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ । अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् । स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ । गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको पनि प्रतिमा छ । सालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फाबजार र स्याउबारी देखिन्छ । उद्यानलाई स्थानीयवासीले ‘मानशान्ति पार्क’को नाम दिएका छन् । सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् । घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल बनाएको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो । जोमसोमबाट सिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाइ लम्ब्याउने र उनीहरूलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने विश्वास वडाध्यक्ष थकालीको छ । स्याङखोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो । थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । गुफाभित्र तीनवटा खाना पकाउने, ध्यान बस्ने, सामान राख्ने कोठा छन् । सो गुफामा परापूर्वकालमा लामा ध्यान बस्ने गरेका स्थानीयवासी बताउँछन् । स्याङका पूर्व वडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेहरूका लागि खोजको विषय बन्न सक्ने बताउनुभयो । स्याङखोलाको मोटरेबल पुलबाट १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । जनकल्याण युवा क्लबले स्याङखोलाको किनारबाट गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाएको छ ।
सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिनुभएको छ । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा राससलाई जानकारी दिनुभयो । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो ।
पोखरा: मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका २२ समूहबीच प्रतिस्पर्धा गराइएको थियो । आयोजक संस्था पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराका अध्यक्ष कमला गिरीका अनुसार विजयी सञ्जीवनी दिदीबहिनी समूहलाई रु ३० हजारसहित पुरस्कृत गरिएको छ । यस्तै प्रतियोगितामा द्वितीय भएको सहनशील दिदीबहिनी समूह पोखराले रु २० हजार तथा तृतीय भएको अमरसिंह दृष्टिविहीन समूह पोखराले रु १५ हजार पुरस्कार प्राप्त गरेको छ । सहभागी २२ समूहमध्ये १२ समूहलाई रु पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । टेवानद्वारा आयोजना गरिएको दोस्रो संस्करणको उक्त तीज गीत महोत्सवको उद्घाटन शुक्रबार गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गर्नुभएको थियो । त्यस्तै प्रतियोगिताअन्तर्गत रस्साकस्सीमा समावेशी आमा समूह विजयी भएको छ भने दुई दिनसम्म निरन्तर आफ्नो नाच प्रस्तुत गर्ने इन्दिरा अधिकारी पुरस्कृत हुनुभएको छ । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यहाँको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान० पोखराले यस्तो महोत्सव सुरु गरेको हो । टेवानका अध्यक्ष गिरीले मौलिक संस्कृतिको जगेर्नाका साथै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष दोस्रो संस्करणको तीज गीत महोत्सव आयोजना गरिएको बताउनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ १७ र बिक्रीदर एक सय तीन रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र बिक्रीदर १३ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
धनुषा: धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो । सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो । यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।
कालीकोट: कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाइसमा १८ जना सवार रहेका थिए । घाइते हुनेहरूमा सिञ्जा–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी–६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिनुभयो । घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशीने र स्वदेशमै केही गरौं भन्ने युवा समेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर जानुपर्ने स्थिति आएको र यसको अन्त्य गर्नुअत्यावश्कय रहेको बताएका छन् । ‘बैंक, वित्तीय क्षेत्रका समीयाहरुको उचित निकासको लागि नियामक निकायहरुसँग प्रतिफल आउने गरी काम गर्छु’ कार्कीले भने, ‘हिजो बैंकको चर्को ब्याजरदका कारण आम उद्योगी, व्यापारी, व्यवसायीले निकै कष्ट भोग्नुपरेको छ । मेरै नेतृत्वमा बैंक ब्याजदरको विरुद्धमा विभिन्न ध्यानाकषर्ण गर्ने काम भयो अब नेतृत्वमा बसेर अझ सशक्त हुने चाहाना छ ।’ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार कार्कीले सो कुरा बताउँदै आफुले उम्मेदवारी दिएपछि डेंगी लागेको र आराम गर्ने स्थितिमा रहेपनि जिम्मेवारी छाड्न नसकेर मैदानमा होम्मिएको बताए । देशमा भएका ठुला राजनैतिक घटनाक्रममा समेत संघ विचलित नभई आफ्नो उदेश्यमा अडिग रहेको सुनाउँदै उनले संघ उद्योगी र व्यवसायी हितका लागि मात्रै नभइ सामाजिक सेवामा समेत हरेक क्षण तल्लिन भएको स्पष्ट पारे । बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले २०५५ सालमा पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा प्रवेश गरेका कार्कीले कार्यसमितिमा उद्योग उपाध्यक्षमा दुई कार्यकाल बिताउँदै हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्दै गर्दा आम उद्योग, व्यवसायीहरुको विश्वास र साथले नै सफल भएको बताए । विभिन्न संघ संस्थामा रहँदाको अनुभव र देश विदेशको भ्रमणबाट सिकेका कुरालाई नेतृत्व तहमा बसेर आम पोखराको उद्योग, व्यवसायी संगै आर्थिक चलायमान बनाउने ध्येय आफ्नो रहेको उनी सुनाउछन् । ‘उद्योगीहरुको रक्षा, हकहित र सुख दुखमा साथ अनि औद्योगिक र व्यवसायिहरुको उत्थानका साथै सहज र शान्तिपूर्ण व्यवसाय गर्न सक्ने वातावरण बनाउनुनै मेरो लक्ष्य रहेको छ’ उनले भने, ‘कुनैपनि तहबाट राज्यको कानुनमा रहेर उद्योग–व्यवसायिहरुलाई यो वा त्यो वहानामा हतोतसाहित बनाइनु हुँदैन भन्नेमा म सचेत छु ।’ संघमा अबको पालो आफ्नै भएकाले पनि अध्यक्षमा उम्मेदवारी दिएको उनले सुनाए । २०११ सालमा स्थापित संघ उद्योगि र व्यवसायिको आस्थाको धरोहर मात्र नभई पोखरोको संवृद्धिको सम्वाहक रहेको उनको भनाइ छ । संघको वर्तमान प्रतिष्ठा, स्वरुप र क्रियाशिलताका लागि अग्रजहरुले गरेको आर्थिक नैतिक र भावानात्मक रुपले पु¥याएको ठुलो योगदानको चर्चा गर्दै संस्थागत असल कार्यलाई निरन्तरता दिदैँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादनलाई प्रवद्र्धन गर्दै बजार व्यवस्थापन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

