जुम्ला: तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उहाँले बताउनुभयो । यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो । स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो । तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिबी घर्तीमगरले बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो । बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । त्यसअघि आजै बिहान ११ः०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिनुभयो । “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उहाँले भन्नुभयो । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताउनुभयो । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताउनुभयो । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उहाँले भन्नुभयो, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।” अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिनुभयो ।
तनहुँ: सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन् ।” “अस्पतालमा दैैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्”, सूचना अधिकारी डा भण्डारीले भन्नुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उहाँले भन्नुभयो, “सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ ।” डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् ।
नवलपरासी: बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईँले बताउनुभयो । जिल्लामा गत आर्थिक वर्षमा ५७ माछापोखरी थपिएका छन् । आव २०७९/८० मा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको थियो भने आव २०८०/८१ मा उक्त सङ्ख्या एक हजार पाँच सय ७४ पुगेको उहाँले बताउनुभयो । जिल्लामा गत आवमा ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन् । आव २०७९/८० मा दुई सय १५ फार्म रहेकामा आव २०८०/८१ मा उक्त सङ्ख्या दुई सय ७३ पुगेको प्रमुख गुरागाईँले जानकारी दिनुभयो । “माछा फार्म र माछापोखरी थपिने क्रम बढेसँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । आव २०७८/७९ मा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकामा आव २०७९/८० मा नौ सय ६८ मेट्रिक टन तथा आव २०८०/८१ मा नौ सय ८१ मेट्रिक टन माछा उत्पादन भएको तथ्याङ्क छ । माछापालनतर्फ जिल्लामा आकर्षण बढ्दै गएपछि माछाका भुरा उत्पादन गर्नेगरी गत आवमा एउटा मत्स्य ह्याचरी स्थापना भएको छ । त्यसैगरी यहाँ ६ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेको प्रमुख गुरागाईँले जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मत्स्य स्वास्थ्य घुम्ती शिविरमार्फत स्थलगत माछापोखरीको रेखदेख गरिनुका साथै २५ लाख २८ हजार सिल्भर कार्प, रोहु र नैनीका भुरा वितरण गरिएको उहाँले बताउनुभयो । सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर र वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ । कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको छ ।
टीकापुर: एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिनुभयो । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उहाँले नागरिकलाई नआत्तिन आग्रह गर्नुभयो । “स्थानीयले तीन चितुवा देखेको बताएका छन् । हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ”, उहाँले भन्नुभयो । चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ । दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ । बिहीबार राति पनि चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर–१ का वडाध्यक्ष मोहन लुहारले जानकारी दिनुभयो । चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा स्थानीयका करिब २२ बाख्रा मारेको छ । केही बाख्रा घाइते भएका छन् । त्यत्तिकै सङ्ख्यामा कुकुर र कुखुरा समेत मारेको स्थानीयले बताएका छन् । चितुवाले बिहीबार रातिमात्रै ब्लक नं १७ मा २६ कुखुरा मारेको छ । होहल्ला गरेपछि दुई बच्चासहितको चितुवा भागेको स्थानीय रमेश खड्काले बताउनुभयो । सहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् । चितुवाले दैनिक जनावर मार्न थालेपछि साँझबिहान हिँडडुल गर्नेहरू त्रासमा छन् । यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका स्थानीय रुपा विकले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जबाट नदीवारि आएका चितुवा वडा नं २ मा रहेको सामुदायिक वन हुँदै सहर पसेको आशङ्का गरिएको छ । बजार क्षेत्रमा मात्र होइन, टीकापुरको वडा नं ७ र ८ मा पनि जङ्गली जनावरले आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चितुवाले दैनिकजसो कुकुर र बाख्रा मार्न थालेको छ ।
पोखरा: कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए । कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका उप प्रमुख कल्पना गुरुङ्ले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाकै सुशासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफुले गरेका कामको बारेमा सरोकारवालाहरुलाई जानकारी दिनुपर्नेमा जोड दिईन् । कार्यक्रममा वडा सदस्य दिलबहादुर गुरुङ्ले वडा समिति भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङ्ले आगामी दिनहरुमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । सार्वजनिक सुनुवाई कार्यक्रमममा वडा सदस्य पुर्णसुब्बा गुरुङ्ले आफुहरुले सकेसम्मको सेवा वडाबासीलाई दिईएको दावी गरिन् । उनले जुनसुकै समयमा पनि आफुहरु वडाबासीको सेवामा तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् । सेवा प्रवाहवारे जानकारी गराउने क्रममा वडाध्ष्क्ष गुरुङ्ले मादी गाउँपालिकाबाट १ करोड ३६ लाख र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरि जम्मा १ करोड ५१ लाख रकम विभिन्न योजना तथा कार्यक्रम गरि रकम विनियोजन भएकोमा यस वर्ष मादी गापा वडा नम्बर २ ले योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्नमा सफल भएको दाबी गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव बसन्त थापा मगरले गरेका थिए ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बर्दिया: बर्दियामा सर्पले डस्दा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते जनाइएको छ । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा चिकित्सकले सर्पको डसाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । प्रहरीका अनुसार बालकलाई सर्पले डसेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । सर्पको डसाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

