पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:   पोखरा महानगरपालिका–१९ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी गरिएको छ । उनीहरुको भुज्रुङखोला स्थित सेती घाटमा अत्येष्टी गरिएको हो ।  गएराति करिब १०  बजेको समयमा पुरनचौरमा पहिरो जाँदा ४७ वर्षीय कुलबहादुर परियारको घर पुरिएको थियो ।    पहिरोमा पुरिएर मृत्यु भएका पोखरा महानगपालिका–१९ पुरनचौर घर भएका ४७ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लश्रीमा परियार, १५ वर्षीय प्रशना परियार र राधिका परियारको सामुहिक अन्येष्टी गरिएको हो ।  गएराति पुरनचौर पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका २५ वर्षीय अस्मित परियार र २० वर्षीय प्रभा परियारको शव परिवारले लगेका छन् ।  गएराति कास्कीको तीन स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । भने, ४ जना घाइते भएका छन् । 

पोखरा:     मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै  वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । पोखरा अडिसनबाट करिब ५ देखि १०  जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।

काठमाडौं:     नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिका रूपमा व्याख्या गर्दै लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका हुन् । ‘एउटा अलिकता गल्ती भएछ कि ठिक मानिसलाई ठिक ठाउँमा नराखेको गल्ती हो कि यस्तो जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर गर्‍यौँ ?,’ लेखकले भने, ‘अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । लोकतन्त्र कमजोर हुँदैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’ दुई ठूला दलहरू मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रधानमन्त्रीको आशंका मेटाउँदै प्रमुख सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्री भएकै समयमा प्रतिपक्षी दलको नेताका रूपमा देखिसकेकाले प्रतिपक्ष कमजोर हुनेजस्तो आफूलाई नलागेको बताए । ‘खाली मैले एउटा कुरामा थोरै राजनीतिक टिप्पणी गर्न अनुमति चाहन्छु । दुई वटा ठूला राजनीतिक दलहरू मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला प्रतिपक्ष थोरै कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो,’ उनले भने, ‘मेरो आदरणीय नेता सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन मैले पत्रपत्रिका मार्फत विज्ञहरू विशेषज्ञहरू राजनीतिक शास्त्रका ज्ञाताहरूको पनि यो कुरा म सुनिराखेको छु । तर आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रूपमा यो रोस्टममा उभिँदा मैले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा देखिसक्या हुनाले अब प्रतिपक्ष कमजोर हुन्छ जस्तो लाग्दैन मलाई ।’

सिन्धुली:     सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शुक्रबार बिहान ११:४० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ सुनकोशी मरीन डाईभर्सनमा विङ्गल हाईस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट पठाइएको छ ।

काठमाडौं:     सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राती १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । “आगामी साउन ९ गतेसम्म हरेक दिन राती १० देखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । बैठकले सबै सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस र नेकपा ९एमाले० मिल्दा प्रतिगमन र निरंकुशताको डर रहेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा आफ्नो धारणा राख्दै उहाँले सो कुरा बताउनुभएको हो ।  उहाँले संसदको पहिलो र दोस्रो ठुलो दललाई विश्वासले नजोडेको जिकिर गर्नुभयो । उहाँले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने अभ्यास रहेको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको खतरा रहको उहाँले आशंका व्यक्त गर्नुभयो । नियत सफा भएमा पहिलो र दोस्रो दल मिल्न बन्द कोठा नचाहिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्रीमा रहुँला नरहुँला, म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसदको पहिलो र दोस्रो ठलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो ।’ तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन ? उहाँले प्रश्न गर्नुभयो । 

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा सचिव विष्णुप्रसाद भट्टराईलाई सम्मानित गरेको छ ।  गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नम्बर ८ का वडासचिव भट्टराईलाई आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गरेको आधारमा सम्मान गरेको हो ।  माछापुच्छ्रे गाउँपालिका–८ मा कार्यरत वडासचिव भट्टराईले वडामा आर्थिक वर्ष २०८०÷०८१ मा राजश्व संकलन लगायत समग्र सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।   

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही बेरमा प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ । बैठकले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन लाग्नु भएको हो । पछिल्लो पटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो । प्रधानमन्त्रीले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई यसअघि नै लिखित आग्रह गरिसक्नुभएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।  ती दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी नयाँ सरकार गठनको सहमति र निर्णय गरेका छन् ।  २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।     प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुईसय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।   त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुईसय ६२ सांसदमध्ये कांग्रेससहित एकसय ७२ जनाले विश्वासको मत दिनुभएको थियो ।  विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।      प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउनु भएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुईसय ६८ सांसदमध्ये एकसय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एकसय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत तटस्थमा परेको थियो ।         त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एकसय ५७ सांसदले मत दिनुभएको थियो । एकजना सांसदले तटस्थ मत जाहेर गर्नुभएको थियो ।      संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।  संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एकसय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कूल दुई सय ७५ सदस्यीय रहेको छ । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुईसय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।