पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।   अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरे । गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए ।   वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो ।   जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।   स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष  सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, प्रतिभा छनौट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रिसीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर , गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए ।  ञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

काठमाडौं:      प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए । प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयप्रतिनिधि सभाको महासचिव भएपछि सचिव पद रिक्त थियो ।  

पोखरा:   कास्कीका अन्नपूर्ण गाउँपालिका–३ काँडेमा आज दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  काँडेमा कार दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५३६३ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये चालकसहित ३ जना घाइते भएका हुन् । कार दुर्घटना हुँदा पवर्तको जलजला गाउँपालिका–६ घर भएका चालक ४४ वर्षीय सनम पुन, कुश्मा १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र शुशिला पुन घाइते भएको कास्की प्रहरीले जनाएको छ ।    घाइते तीनै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।   

पोखरा:     पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज (मंगलबार) महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।  

काठमाडौं:    स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सहभागी हुनुभएको छ ।  नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा ओली सहभागी हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले ओलीलाई फोटो प्रदर्शनीको अवलोकन गराउनुभयो । यसअघि प्रधानमन्त्री दाहाल फोटो प्रदर्शनीमा सहभागी हुनुभएको थियो । 

काठमाडौं:      नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा केन्द्रीय पार्टी कार्यालयमा फोटो प्रदर्शनी गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा प्रदर्शनी अवलोकन गरेका थिए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएको बताए ।

काठमाडौं:     नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् । यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो ।   कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ । नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गरिने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फर्किएका छन्। राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री  केही समयअघि फर्किएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ। प्रधानमन्त्री प्रचण्ड पछिल्लो राजनीति घटनाक्रमका बारेमा जानकारी गराउन शीतल निवास गएका थिए। एमाले र कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री पदाधिकारी बैठक सकिएलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिइ विश्वासको मत लिने ‘मुड’ मा छन्। माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमाले र कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनमा मार्गप्रशस्त गरिदिन आग्रह  गरेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ।  सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।