पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ । बैठकमा महामन्त्री डा. मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन् । ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् । बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए । बैठका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको छ ।

पोखरा:   पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।  ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ सो सम्मेलन सञ्चालन हुने भएको हो । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।  विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहने छ भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहने छन् ।  दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायहरु खोजि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले बताए ।  उनले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुने उक्त कार्यक्रमले व्यवस्थापनका विद्यमान परिस्थितिको उजागार तथा दिगो व्यवस्थापनका पक्षमा घनिभूत छलफल गरी नीति निर्माणका बारेमा सहयोगी हुने बताए ।  विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा प्यानल छलफलका लागि पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक, माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनेछन् । भने सहजकर्ताको रुपमा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. सुर्यबहादुर जि.सी रहनेछन् ।  त्यसैगरी सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय, व्यवस्थापन सङ्काय थाइल्याडका डिन प्रा. सरना फोट्नाचन तथा ए.के. मभुबुल ह्ये एवम् पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी रहनेछन् ।  कार्यक्रममा स्वदेशी तथा विदेसी विश्वविद्यालयबाट ६५ वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुति रहने र उक्त लेखहरू माथि छलफल हुने कार्यक्रम संयोजक मोहन भण्डारीले जानकारी दिए । 

कास्की:   पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् ।   मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् ।   पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए ।    पारिवारिक स्रोतका अनुसार उनले आफ्नो नाम बताउन सक्छन् । उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परवारले आग्रह गरेको छ । 

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्षीय शिवम परियार रहेका छन् ।   उनी गत १५ गते बेलुकी करिब साढे ५ बजे भित्री सडकमा साइकल चलाउने क्रममा लडेर घाइते भएका थिए ।    उनको उपचारको क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको हो ।    साइकलबाट लडेका परियारको दाया खुट्टा र भित्री भागमा चोट लागेको थियो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।  

पोखरा:  कास्की प्रहरीले एटिएम तोडफोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धादिङको सिद्दलेख गाउँपालिका ३ घर भई पोखरा ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् ।    कास्की प्रहरीका अनुसार उनले हिजो बिहान करिब साढे २ बजे पोखरा ५ जिरोकिमीमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी नगद चोरी गर्न लागेकाे प्रहरीलाई सूचना पुगेकाे थियाे ।   सोही सूचनाको आधारमा नेपालीलाई वडा प्रहरी वैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।   पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ । कांग्रेस–एमालेबिच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ ।  समसामायीक राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

बागलुङ:      अविरल वर्षाका कारण बागलुङको ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएको बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ । खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

काठमाडौं:     उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो । धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो । आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए । त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गर्नुभयो । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ । सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो । सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।

पोखरा:     साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।  कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।