पोखरा: एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एम बि आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज (सोमबार) पुरस्कृत भएका हुन् । उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे । सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए । उनले लोक तथा दोहोरीगीतको विकासका लागि कलाकारसंबद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए । प्रतिष्ठानले सोही कार्यक्रमकाबीच विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्व तथा अग्रज कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुर्षाेत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । पुरस्कृत आस्थामगर विगत २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल छन् भने नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) का गण्डकी प्रदेश इन्जार्चसमेत हुन् ।
दैलेख: ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले छामघाट खोलाबाट ढुङ्गा बोकेर किम गाउँतर्फ जाँदैगरेको भे २ त १४७८ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पुग्दा उहाँको मृत्यु भएको बताउनुभयो । उहाँले ट्याक्टर चालक भगवतीमाई गाउँपालिका –७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतक रमेश बिक पनि ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको बताउनुभयो । राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । दुई देशका यी पावन भूमिका लाखौँलाख नेपाली र भारतीय दर्शनार्थीको भीड लाग्ने उहाँले उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित शिला हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिसमेत सहभागी थिए । विश्वमै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीको दुई थान शिला जनकपुरधाम हुँदै हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या पु¥याइने छ । एउटा शिलामा रामको बाल्यकालको अवस्था झल्किने प्रतिमा तथा अर्कोमा सीताको प्रतिमा निर्माण गरिने रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभयो । “कालीगण्डकीबाट भगवान् रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो हुन्छ”, उहाँले भन्नुभयो । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन शालिग्रामले धर्मदूतको काम गर्ने पङ्कजको धारणा थियो । बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको छ । बिहीबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएका शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत पूजाआजा गरेपछि हस्तान्तरण गर्नुभएको थियो । भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिकाका प्रमुख केसीले कालीगण्डकीबाट लामो समय टिक्ने २६ टन र १४ टनका दुई थान शिला गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै अध्योध्यालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुुभयो ।
बलेवा: बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । आठ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट पाँच महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ । गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस ९हाल वडा नं ५ र ६० मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ”, थापा भन्नुहुन्छ, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पु¥याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ ।” काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिनुभयो । वडा नं १ पालाबाट दुई परिवारका आठ, वडा नं २ भीमापोखराबाट छ परिवारका १८, वडा नं ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं ७ रेशबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताउनुभयो । “कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ”, कँडेलले भन्नुभयो, “वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ ।” गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् । “उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ”, उपाध्यक्ष थापा भन्नुहुन्छ, “हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन् ।” गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताउनुभयो । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा पाँच परिवारका १६ जना, वडा नं ६ बिहुँमा तीन परिवारका पाँच जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका पाँच जना र वडा नं ८ मा दुई परिवारका दुई जना गाउँ फर्किएका छन् । बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अर्को पाँच महिना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो”, थापाले भन्नुभयो, “बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो ।” यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ । बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । “यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पु¥याएर फर्किएको छु, गाउँ त खाली हुने भए”, यातायात व्यवसायी तेजेन्द्र नेपाली भन्नुहुन्छ, “पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन् ।” जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् । जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । “दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भन्नुभयो ।
काठमाडौं: आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
ढोरपाटनः बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ । सदरमुकामसँग सिमाना जोडिएका गाउँमा एक दशक अगाडिनै मोटरबाटो पुगेपनि दूर्गम गाउँमा भने स्थानीय सरकार आएपछि मात्रै सडक सञ्जाल र यातायातको सुविधा विस्तार भएको हो । जिल्लाको तमान खोला गाउँपालिका–४ का हर्कबहादुर छन्त्याल अहिले ७९ वर्षीय पुग्नुभयो । अहिले उहाँको घरै अगाडि दैनिक गाडी गुड्छन् । आफ्नै आँखा अगाडि आएको परिवर्तन छन्त्याललाई कथा जस्तै लाग्छ । उहाँले आफ्नो जीवनमा भोगेका कैयन वास्तविकता सुनाउँदा साँच्चिनै मुलुकमा धेरै परिवर्तन भएको बताउनुहुन्छ । २०१८ सालदेखि बुटवलबाट खाद्यान्न तथा नून बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर नजिक सामान पाउँदा दङ्ग हुनुहुन्छ । छन्त्यालले उति बेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ–गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गर्नुभयो । अनेकौँ उतारचढाव पार गर्दै अहिलेसम्म आउँदा आफूले सोँच्दै नसोचेको विकास भएको उहाँको भनाइ छ । “गाउँमा यति ठूलो परिवर्तन आयो, गाउँलेहरुले यसरी हाम्रो दिन फेरिएला भन्ने सोचेका थिएनौँ, २०१८ सालमा बटौलीमा नुन लिन गएका बेला मोटर सररर चलेको देख्दा रमिता झै लागेको थियो, बिजुली बलेको देख्दा अचम्म लाग्थ्यो, अहिले त घरै अगाडी मोटर गुड्छ, बिजुलीले घरै झलमल छ, हाम्रा छोरानातिले हामीले जस्तो दुःख भोग्न परेन” छन्त्यालले भन्नुभयो । उहाँ भन्नुहुन्छ–“हाम्रो गाउँमा गाडी आउन पाँच सय वर्ष लाग्छ होला भन्ने अनुमान गरेका थियौँ, तर अहिले गाडी, बिजुलीलगायतको सुविधा उपभोग गर्न पाउदा स्वर्गमा आएजस्तै लागेको छ, पहिला हामीलाई धेरै दुःख थियो अहिलेकाले त्यो कुरा बुझ्दैनन् ।” स्थानीयवासी फूलकुमारी पुनले बुटवलबाट नून लिएर घर आउँदा आधा महिना बित्ने गरेको भन्दै अहिले एकै दिनमा आउनजान सकिने बताउनुहुन्छ । उहाँले नून ल्याउन जाँदा खर्च बोकेर जाने गरेको सुनाउँदै बाटोमै कयौँ रातविताउनु परेको नमिठो अनुभवसमेत सुनाउनुभयो । मोटरबाटोले विकासका अन्य ढोका खोल्ने भन्दै अहिले गाउँका धेरै समस्या समाधान भएको बताउँनुहुन्छ । “अहिलेको जस्तो जामाना थिएन पहिले, गाउँका धेरैजना एकजुट भएर बटौली नून ल्याउन जान्थ्यौँ, बाटोमै खानु पर्ने, सुत्नु पर्ने हुन्थ्योँ तर रमाइलो र कष्ट पनि हुन्थ्यो,” पुनले भन्नुभयो । “धेरै जना भएर जाँदा बाटोमा गीत गाउदै रमाइलो गरिन्थ्यो, कति साथीले त त्यही समयमा बिहेसमेत गरेका थिए” उहाँले स्मरण गर्नुभयो । उहाँले आफु ४० वर्षको उमेरमा गाडी चड्दाको अनुभव सुनाउँदै अव कसैले पहिलेको जस्तो दुःख भोग्न नपर्ने बताउनुहुन्छ । अहिले त नजिकै पालिकामा जाँदा पनि गाडी चडेर जाने गरेको उहाँले बताउनुभयो । उहाँले गाउँमा मोटरबाटो आएपछि गाउँले बिरामी हुँदा निकै सहज भएको र समयमा नै अस्पताल पु¥याउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो–“पहिले गाउँमा गारेटो बाटो मात्रै थिए, अहिले माथिमाथिलेसकेसम्मै मोटरबाटो पुगेको छ, हाम्रा पालाका मान्छे धेरैजसो ३०÷४० कटेपछि मात्रै गाडी देखेका थिए, त्यसबेला नौडाँडाबाट गाडीमा चडेको थियौँ, त्यसभन्दा अगाडि बाटौलीमा नून लिन जाँदा गाडी त देखेको थिएँ तर चढेको थिएन, पहिलो पटक गाडीमा चड्दा निकै मन फुरुङभएको थियो, खुसीले संसारै जितेको जस्तो लागेको थियो, घर फर्किँदा उही गोरेटोमा यात्रा गर्नुपथ्र्यो ।” उहाँले उति बेला गाउँमा उपचारको लागि नजिकै स्वास्थ्य संस्था नभएको, पानीका लागि टाढा जानुपर्ने समस्याको अहिले समाधान भएको, विकासका पूर्वाधारको विस्तार भएर जीवनस्तर सहज भएको बताउनुभयो । “हाम्रो पालामात स्वास्थ्य संस्था थिएनन्, कोही बिरामी भए काठमाडौँ, पोखरा लैजानुपथ्र्यो, समयमा उपचार नपाउँदा कतिले ज्यान गुमाउनु पथ्र्यो,” उहाँले विगतलाई सम्झँदै भन्नुभयो– “अहिले त गाउँमै उपचार हुन्छ, यहाँ हुननसके ठूला अस्पतालमा छिट्टै पु¥याउन सकिन्छ, अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।” तमान खोला अझै पनि जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिन्छ । स्थानीय सरकार सठन भएपछि विस्तारै सुगम बन्दै गएको छ । भौगोलिक विकटता र सदरमुकाम भन्दा टाढा हुँदा त्यस क्षेत्रका जनताले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जनप्रतिनिधि भएर आएको पहिलो कार्यकाल जनताको मुख्य आश्यकतालाई परिपूर्ति गर्ने गरी काम गरेको बताउनुभयो । सडकनै विकासको मुख्यआधार भएको भन्नुहुदै अध्यक्ष बुढा भन्नुहुन्छ– “तमानखोला भौगोलिक हिसाबले पछाडि छ, विकासका पूर्वाधारले समेत नजोडिदा यहाँका नागरिकको अवस्था निकै कष्टकर थियो, तर अहिले धेरै परिवर्तन आएको छ, स्थानीयस्तरमा नै प्रशासनिक तथा अन्य काम हुने गरेको छ ।” गाउँमा सडक र यातायातको विस्तार भएपछि घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने समस्याको अन्त्य भएको छ । पलिका हप्तादिनसम्म लाग्ने काम अहिले एकैदिनमा गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् ।
पोखरा: तामाङ समुदायले आइतबार पोखरामा २८५९ औँ सोनाम ल्होछार मनाएका छन् । बैदाम तामाङ सेवा समाज पोखराको अयोजनामा आइतबार पोखराको लेकसाईडस्थित खहरेमा रहेको पेमा देछेन लिङ गुम्बामा एक आपसमा शुभकामना आदान प्रदान गरी ल्होछार पर्ब मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । कार्यक्रममा ताम्बा टोलीद्धारा विभिन्न प्रस्तुति राखिएको थियो । धनबहादुर तामाङ, मनोज तामाङ, जीवन तामाङ, राजन तामाङ, बमबहादुर तामाङ र फरक योञ्जनले प्रस्तुति दिइएका थिए । त्यस्तै मिस तामाङको नृत्य, तामाङ सास्कृतिक नृत्य लगायतका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले बताए । नेपालको राष्ट्रिय संस्कृतिको कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको र ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको समाजका अध्यक्ष तामाङले बताए । कार्यक्रममा उपस्थित तामांङ समुदायले गुम्बामा पुजा गरेका थिए । गुम्बाका लामा गुरु प्रेम लामाले दर्शनार्थीलाई वांग अभिषेक गराएका थिए । यस्तै कार्यक्रममा मिस तामांङ पोखराका सहयोगी तथा उपसमिति संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्ंचालन राम लामा र डोल्मा लामाले गरेका थिए ।
काठमाडौं: आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताले पनि सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।
पोखराः जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोपमा पुस २६ गते पक्राउ परेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा वडाध्यक्ष अधिकारीलाइ शुक्रबार रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनी शुक्रबारनै धरौटी बुझाएर रिहा भएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले शुक्रबार वडाध्यक्ष अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुन मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो । अधिकारी रिहा भएपनि उनको मुद्दा सकिएको छैन । हाललाई थुनामा राखेर कारवाही अगाडी बढाउन आवश्यक नदेखिएको भन्दै उनलाई मुक्त गरिएको हो । जाहेरवालाले अभियुक्त अधिकारीलाई थुनामा राखेर कारवाही अगाडी बढाउन माग गरेको थियो । सो मुद्धामा जाहेरवालाको तर्फबाट अधिवक्ताहरु शिव सुनार र कुञ्जनी परियार प्यासीले वहस गरेका थिए । सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।