स्याङ्जा: स्याङ्जाको हरीनास गाउँपालिका स्याड्जामा महिला शसक्तिकरण तथा क्षमता विकासका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन भएको छ । हरीनास गाउँपालिका स्याङजाद्घारा महिला जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिका लागि आयोजित तालिमको समापनमा बोल्दै प्रमुख अतिथी हरीनास गाउँपालिकाका अध्यक्ष खीम नारायण मानन्धरले समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीय हुने बताए । बोल्ने कलाको विकासले महिलाहरु अगाडी बढन निकै सहयोगी हुदा सफल नेतृ बन्न यो तालिम सहयोगी हुने उनले विश्वास व्यक्त गरे । त्यस्तै पुर्व वडाध्यक्ष तथा स्वकीय सचिव पर्शुराम सिग्देलेले छोटो समयको तालिमले महिलाहरुमा आएको परीवर्तन देख्दा खुशी लागेको बताए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली ,वडा सदस्य गुन्जन मानन्धर लगायतकाले मन्तव्य राखेका थिए भने तालिममा सहभागीहरुले समापन कार्यक्रमको सञ्चालन र सिकाईका अनुभवहरु बाँडेका थिए । करिव १८ जना सहभागी तालिमको समापन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष इन्दा्र कुमारी थापा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको संयोजन महिला तथा वालवालिका शाखा संयोजक शुकु माया थापाले गरेकी थिइन ।
तनहुँ: चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उहाँले बताउनुभयो । त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् । त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रत्येक पालिकामा पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उहाँले बताउनुभयो । खोला खोल्सीमा रहेकाे सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भूमिका विशेष महत्वपूर्ण हुने बताउनुभएको छ। पोखरा महानगरपालिका–३१, बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा उहाँले सो कुरा बताउनुभएको हो। उहाँले हिजोभन्दा आज सामदायिक विद्यालयमा शिक्षाको अवस्था केही सुधार भए पनि अझै थप सुधार गर्नुपर्ने बताउनुभयो। अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन प्रतिस्पर्धा गर्ने तर सामुदायिक विद्यालयप्रति बेवास्ता गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको उहाँको भनाइ थियो। आफैँले पढेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नुभएका मुख्यमन्त्री अधिकारीले बाल्यकालमा सोही विद्यालयमा भौतिक पूर्वाधारको अभावका बीच अध्ययन गरेको स्मरण गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विभिन्न व्यक्तिले एक लाख ११ हजार १११ रुपियाँ अक्षयकोष स्थापना गर्नुभएको छ।
पोखरा: हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिदा एक महिला घाइते भएकी छिन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार करिब ५० वर्षिया महिला घाइते भएकी हुन् । घाइते महिलाको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी विकले जानकारी । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । सो घटनाबारे थप विवरण आँउन बाँकी छ ।
पोखरा: अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा नवनिर्मित स्तुपा र गुम्बाको विधिवत उद्घाटन हुने भएको छ । फागुन २३ गते स्तुपा र गुम्बा उद्घाटन गरिने भएको हो । स्तुपा र गुम्बा निर्माण समितिका अध्यक्ष नजर मान गुरुङका अनुसार फागुन २३ गते गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा स्तुपा र गुम्बाको उद्घाटन हुँदै छ । ुहिजोदेखि पूजा सुरु भएको छ । नयाँ घर बनाएपछि शुद्धिकरण पूजा गरेझैं हिजो हामीले स्तुपा र गुम्बाको शुद्धिकरण गर्यौ,’ उनले भने, ‘बौद्ध धर्मकी देवी ‘तारादेवी’को पूजा भयो । हिजैदेखि हिमपात ‘हिम’को पाठ पनि सुरु भएको छ यो २१ गतेसम्म चल्छ । २२ गते विधिवत पूजा हुन्छ । पाठ पढिँसकेपछि साँगे गर्न पूजा सकिइसकेपछि गाउँ परिक्रमा गर्छ लामाहरुले ।’ २३ गते औपचारिक उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री पञ्चराम गुरुङसहित गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित पूर्व गाउँपालिका अध्यक्ष र प्रदेश सरकारका सांसदहरुलाई समेत निमन्त्रणा गरिएको उनले सुनाए । ‘विजय स्तुपा’ र ‘पाल ङाघ्युर नमध्यल छ्योईलीङ गुम्बा’का लामा गुरु ख्येन्छेन साङध्ये राङज्युङ रिन्पोछेंले गर्नेछन् ।
लमजुङ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं.४, भुजुङमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । शुक्रबारदेखि सुरु भएको सो तालिमको सोमबार समापन गरिएको हो । तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, वडाध्यक्ष नारायणबहादुर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा दलित महिला वडा सदस्य कोपिला मिजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रतिनिधि वृजबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका अध्यक्ष नवराज गुरुङ, युम्बु विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङ, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट ङाश्री गुरुङ, सुशीला गुरुङ र सुलमाया गुरुङले तालिमको अनुभवबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।
गण्डकीः बागलुङको ताराखोला गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर जनयुद्धका सहिद र बेपत्ताजनका २७ परिवारलाई जीवन निर्वाह भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु. एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु. आठ हजार प्रदान गर्नुभएको हो । सहिद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो । सहिद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताउनुभयो । उहाँले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गर्नुभयो । मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने सहिद मार्गको कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाउनुभयो । जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो । “रकम थोरै भएपनि सहिदको योगदानको कदर गर्न खोजिएको छ, यो सुरुआत मात्र हो, पछि भत्ता रकम वृद्धि पनि हुँदै जाला”, उहाँले भन्नुभयो । गाउँ सभाले बनाएको कार्यविधि अनुसार सहिद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता छन् । यस्तै गोली नै लागेर गम्भीर घाइते भई अपाङ्गता भएकाको संख्या १३ र सामान्य घाइतेको संख्या २२ रहेको जनाइएको छ । गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो । गाउँपालिकाले सहिद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ । सहिद सप्ताहमा सम्मानसहित नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिनुभयो ।
स्याङ्जा: स्याङ्जाको हरिनास गाँउपालिकामा महिला सशक्तिकरणको लागि उद्घोषण तथा भाषण तालिम सुरु भएको छ । एक समारोहका बीच हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तालिमको उद्घाटन गरे । हरिनास गाँउपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिमको आयोजना गरिएको उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले जानकारी दिईन । उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ओम प्रकास सिग्देल, स्वकीय सचिव पर्शुराम सिग्देल लगायतकाको उपस्थिति रहेको थियो । पाँच दिन सम्म चल्ने तालिममा सञ्चार कर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गर्नेछन् । तालिममा कुल २० जनाको सहभागीता रहेको छ । आजदेखि सुरु भएको तालिम फागुन २० गतेसम्म चल्नेछ ।
कास्कीमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकलाई आधार मान्ने हो भने यहाँ पछिल्लो ६ महिनामा ७४ जनाले मृत्यु रोजेका छन् । जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६४ रहेको छ । त्यस्तै, हामफालेर ६ जनाले आत्महत्या गरेका छन् । प्रहरीको सूचनाअनुसार बाँकी ४ जनाले विष सेवन गरेको पाइएको छ । आत्महत्या बढ्नुका विविध कारण रहेको मनोचिकित्सक बताउँछन् । यसपछि पनि पाेखराकाे मालेपाटन र गैह्रापाटनमा १–१ जनाले आत्महत्या गरिसकेका छन् । बिजी हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ मनोचिकित्सक निर्मल लामिछानेका अनुसार आत्महत्याका कारण विभिन्न हुन्छन् । लामिछाने भन्छन् ‘कोभिडपछि नेपाली समाज केही विचलित भएको छ, त्यसयता आत्महत्या र मानसिक बिरामी बढेका छन् ।’ यद्यपि, मानिसले मृत्यु रोज्नुमा कुनै एकमात्र कारण हुन नसक्ने उनको ठम्याई छ । ‘मुलतः बिपीएस (बायो–साइको–सोसियल) आत्महत्याको कारक बन्न सक्छ’ लामिछानेले भने ‘यससँगै बेरोजगारी, आर्थिकरुपमा सम्पन्न हुन नसक्दाको पीडालगायतले आत्महत्या निम्त्याउँदैछ ।’ उनले बिपीएसलाई कुनैपनि व्यक्तिको पारिवारिक, मानसिक र सामाजिक अवस्था भनि व्याख्या गरेका छन् । कतिपय आत्महत्याको पछाडि बिपिएस नै मुख्य कारण रहेको र मेडिकल साइन्समा पनि पुष्टि भएको उनले बताए । लामिछाने भन्छन्, ‘पोखरामै आत्महत्या गरेका व्यक्तिको हिस्ट्री केलाउँदा पनि यिनै कारणहरु बढी पाइन्छन्’ त्यस्तै, समयमै मनोचिकित्सकबाट काउन्सिलिङ् लिनसके आत्महत्या रोक्न सकिने उनको धारणा छ ।