पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

ओखलढुङ्गा:   ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच् वर्षीया भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पा आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानियले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास्पद देखिएको र मामा पर्ने बालकले उक्त घटना घटाएको हुन सक्ने परिवार र स्थानियको आशङ्कामा बालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक केशव अधिकारीले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा कुटपिट गर्दा बालकको ज्यान गएको पक्राउ परेका बालकले बताएको प्रहरी निरिक्षक अधिकारीको भनाइ छ । घटनाका विषयमा थप सुस्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कालीकोट:  भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् । यी सबै आयोजना बनेका एक हजार पाँच सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । यसको उत्पादनले कालीकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरु भए पनि तिनीहरुको उपयोगिता हुन सकेको छैन । कूल चार सय ८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), निर्माणका लागि स्वीकृति र विद्युत् उत्पादनका टेष्ट टनेल खोल्ने काम भइसकेको छ । यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ । आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पूरा भइरहेको छ”, उनले भने, “लगानीको मोडालिटी टुङ्ग्याउन बाँकी रहेको छ ।” आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् । यस आयोजना निर्माण भएमा जिल्लावासीले शेयर पाउनाका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । “यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएका छौँ । आयोजना निर्माणको काम अगाडि बढ्दा स्थानीयवासी निकै उत्साहित भएका छन्”, उनले भने ।  आयोजनाका लागि रु ९२ अर्ब तीन करोड लाग्ने अनुमान गरिएको छ । निर्माण थालेको पाँच वर्षमा आयोजना पूरा गर्न लक्ष्य राखिएको छ । सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट एक किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन सुरुङमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ । जिल्लाको तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता आठ सय ६० मेगावाट क्षमताको रहेको छ । तिला–१ को विद्युत् उत्पादन क्षमता चार सय २० मेगावाट र तिला–२ को चार सय ४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ ।  दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले कम्पनीले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ । दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडि बढ्न नसकेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । यी आयोजनाबाट कालीकोटका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन (डिपिआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।  कालीकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान हुने भएको हो । प्राधिकरणले कालीकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायत माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजना निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले जानकारी दिए । उनले भने, “यो चार सय केभी प्रसारण लाइन कालीकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो ।”  प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालीकोटमा जग्गा खरिद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब रु १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ । कालीकोटमा निर्माण हुने यी आयोजना बनेमा कालीकोट तथा कर्णालीको सम्बृद्धि आधार हुने स्थानीयले बताएका छन् । यी आयोजनाबाट कालीकोटका हजारौँ युवायुवतीले रोजगारी, विद्युत्मा लगानी गर्ने अवसर पाउनेछन् । जलविद्युत् आयोजनाले कालीकोट जिल्ला र कर्णाली प्रदेशका लागि समृद्धिको आधार रहेको यसको विकास गर्नका लागि अहिलेका स्थानीय, प्रदेश र सङ्घीय सरकारले कामको थालनी गर्नुपर्ने सान्नीले बताए । “जलविद्युत्का ठूला आयोजना बन्नु कालीकोट र कर्णाली प्रदेशका लागि गौरवको विषयमा हो”, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने ।  जिल्लामा सञ्चालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट उत्पादन हुने सक्ने लघु जलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मतसम्भारको अभावलगायत कारणले अलपत्र अवस्थामा छन् । तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर पनि मर्मतसम्भारको अभावमा बन्द भएका छन् ।  त्यस्तै ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजना रकम अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् । शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना लघुजलविद्युत् आयोजना (१५ किवा), नरहरिनाथ गाउँपालिकाको माल्कोट लघु लघुजलविद्युत् (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि रकम अभावका कारण काम सुरु हुन सकेको छैन । हाल पाँच सय किलोवाटको सान्नीगाडको साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट क्षमताको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघुजलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्तै भर्ता, तिलागुफा नगरपालिकाको एक सय किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन् । 

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् ।   सोमबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पुगेर गुरुङ समुदायका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनुभएको हो ।   साथै प्रधानमन्त्री प्रचण्डलाई यही पुस १५ गते गुरुङ समुदायले मनाउन लागेको तमू ल्होसारको निमन्त्रणा पनि प्रतिनिधिहरूले दिएका छन् ।   उक्त अवसरमा प्रचण्डलाई समुदायकोतर्फबाट रक्सी र रोटी सगुन दिइएको छ ।    उनीहरूले गुरुङ संस्कार अनुसार प्रधानमन्त्री प्रचण्डलाई बधाइ तथा तमू ल्होसारको निमन्त्रणा दिएका हुन् ।

पारिजात दिदीसँगको परिचयको मसँग सानो कथा छ।  म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ। त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन्। मेरो क्याम्पस चिफ बामदेव पहाडी, ठूला लेखक तथा समीक्षक। पारिजातको पुरस्कार प्राप्त कृतिबारे उहाँको टिप्पणी, मान्छे भनेको टोपी हो कि टाउको?  आशय के भने, शंकर लामिछानेको भूमिकाको व्यापक आलोचना भयो, त्यो त टोपी हो। त्यसको चर्चा यसरी भयो मानौं टोपी पनि त्यै हो। टाउको पनि त्यै हो।  २०२३ सालको बीचमा आइएको परिक्षा दिन काठमाडौं आएँ। काठमाडौं आएपछि पारिजातबारे अरु कुरा सुनियो। पछि, मैले बिएको जाँच दिएपछि, त्योबेला राल्फा आन्दोलन चलिरहेको थियो। पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो। पारिजातको नजिकको विमल भन्ने मान्छे। उहाँले भन्नुहुन्थ्यो पारिजात तपाईंको रचना नियमित पढ्नुहुन्थ्यो। तपाईंलाई रुचाउनु हुन्छ, तपाईं राल्फामा किन नआउने?  राल्फाको घोषणापत्र मकहाँ पुर्याउनुभो। त्यो घोषणापत्रको शीर्षक गजब थियो, सेतो वन, नीलो जुन, आकाशका नुनिला निश्वासहरु। केही बुझिन्थ्यो, केही बुझिँदैनथ्यो। त्यसपछि विमलको पछि लागेर पारिजातदिदीकहाँ म पहिलो पटक पुगेँ। दुर्भाग्यवश विमलको होइन अरु कोही अरुको पछि लागेर। दुर्भाग्यवश पारिजात र विमलको बीचमा प्रेम सम्बन्ध थियो। त्यही दिन वा त्यो दिन भन्दा अगाडि विमलले पारिजातलाई धोका दिएका थिए।  मलाई पारिजातको अगाडि पुर्याइयो। पारिजात दिदी एकदम उद्घिन हुुनुहुन्थ्यो। अत्यन्तै निराश हुनुहुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभयो, तपाईंलाई भेट्न पाएकोमा मलाई खुसी लाग्यो। फेरि आउनुहोला। मेरो पहिलो भेट त्यही हो।  पारिजात दिदीसँग मेरा केही रोचक र तीता संस्मरणहरु छन्। पहिला त मीठा संस्मरण नै सुनाउनु पर्ला।  काठमाडौंको ल क्याम्पसमा साहित्य संध्या भन्ने एउटा कार्यक्रम हुन्थ्यो। एकदिन त्यो कार्यक्रममा जानुअघि, म अलि ढिला पुगेँ। पारिजात दिदी हरिवंश राय बच्चनको मधुशाला क्यासेटमा सुनिरहनुभएको थियो। वहाँको वरिपरि मधुशालाका फ्यानहरु थिए। म जाने बित्तिकै दिदीले भन्नुभयो। संग्रौलाजी आउनुभयो है। वहाँलाई यो मधुशाला मन पर्दैन । उहाँ त बडो शुद्ध मान्छे हो। त्यो सुनेपछि मलाई के लाग्यो भने पारिजातको नजरमा म बाहुनजस्तै शुद्ध रहेछु जस्ले प्रेमगीत सुन्नु हुँदैन।  प्रत्येक शुक्रबार पारिजात दिदीकोमा गुड फ्राइडे हुन्थ्यो। ललिजन रावल भन्ने एक जना गजलकार हुनुहुन्थ्यो। उहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो। सोल्टीमा काम गर्दा त्यहाँ कहिलेकाहीँ दारु प्राप्त हुन्थ्यो त्यो पनि स्कच रक्सी। कहिले आधा बोतल, कहिले एक पेग, कहिले एक क्वार्टर। हरेक शुक्रबार पारिजात दिदीको महफिलमा गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो। संजोगले एक दिन स्कच चलिरहेको बेला म पुगेँ।  पारिजात दिदीले भन्नुभयो, ए, संग्रौलाजी आउनुभो, गिलास लुकाऊ। उहाँ त बडो चोखो माक्र्सवादी हुनुहुन्छ। मलाई के लाग्यो भने पारिजात दिदीको नजरमा म विशुद्ध टुप्पी, जनै पालेको, दारु छुँदा जात जाने ।  पछि मैले पनि एउटा अभिनय गरेँ। खुकुरी रम एक बोतल बोकेर म दिदीकोमा गएँ। त्यो देखेपछि पारिजात दिदी जिल पनुभयो।  संग्रौला के गरेको यो? उपहार टक्र्याउन ल्याएको।  आफू त खाने होइन के रे?  अनि मैले दिदीकै अगाडि बोतल खोलेँ। दुइटा गिलास ल्याएँ। अनि उहाँसँगै मैले मदिराको मोर्चा खोलेँ। त्यसपछि दिदीलाई के विश्वास भयो भने बाहुन त बाहुन हो, धेरै शुद्धचाहिँ रहेनछ।  पारिजात दिदी त कुञ्जिनी भएको थियो। साहित्य संन्ध्या वा कुनै कार्यक्रममा लैजाँदा स्नेह सायमी अथवा मुरारी अर्याल वा कसैको मोटरसाइकल वा ट्याक्सीमा लगिन्थ्यो। मेरो त्यो बेलामा जापानी होन्डा थियो, त्यो पनि फेन्सी टाइपको। म गोराहरुलाई नेपाली भाषा दान गर्थें।  तिनले भनेको बेला तिनको घरमा जानुपर्ने भएको हुनाले मैलो जापानी होन्डा किनेको थिएँ।  दिदीले गुनासो गर्नुभएछ। संग्रौलाको त्यस्तो राम्रो होन्डा छ। त्यसले कार्यक्रममा जाँदा वा आउँदा मलाई त कहिले चढाएन। पारिजात दिदीको जीवन यति मूल्यवान छ। मैले कतै जाँदा वा आउँदा मैले मोटरसाइलमा राख्दा कदाचित दुर्घटना भयो भने मलाई ठूलो अपगाल पर्नेछ।  त्यसैले पारिजात दिदीलाई मोटरसाइकलमा बोक्न मलाई कहिल्यै पनि आँट आएन। पछि, ल क्याम्पसको बाहिरपट्टि कसैले वहाँलाई पुर्याउँथ्यो। ल क्याम्पसको तलामाथि प्रतिभा प्रवाह भन्ने कार्यक्रम हुन्थ्यो महिनैपिच्छे। पारिजात दिदीलाई बोकेर तलबाट माथि लैजानु पथ्र्यो। एक दिन मैले नै काँध थापेँ। दिदी, तपाईंलाई बोक्न मलाई अनुमति चाहियो। दिदीलाई बोकेर माथि लगेँ। अनि भनेँ, यो क्षतिपूर्ति हो। मैले तपाईंलाई मोटरसाइकलमा त बोक्न सकिनँ। त्रास थियो, डर थियो। त्यसको क्षतिपूर्ति हो यो। त्यसपछि हरेक कार्यक्रममा बाहिर आएपछि संग्रौलाजी क्षतिपूर्ति त बाँकी छ नि ? अनि मेरो काम उहाँलाई बोकेर माथि लैजाने भयो।  हामीले वामपन्थी साहित्य र चिन्तनलाई प्रवर्धन गर्न भनेर हामीले श्रष्टा प्रकाशन खोल्यौं। श्रष्टा प्रकाशनअन्तर्गत कृष्णमणि पुरस्कार राख्नुभएको थियो। पारिजात दिदीले उपन्यास लेख्न थाल्नुभयो। लेख्न थालेपछि ढोका बन्द गरेर चुकुल लाएर बस्ने उहाँकै बानी थियो। अनि लेखिएको चिज प्रकाशित हुनुअघि कसैलाई पनि नदेखाउने। सप्र्राइज दिने भन्नुहुन्थ्यो। हामीलाई के लाग्यो भने पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो। किनभने हाम्रो उद्देश्य वामन्थी साहित्य र सिर्जना प्रवर्धन गर्ने हो। पारिजात दिदी त हाम्रो सम्पत्ति हो। हामीले बुक गर्यौं। पारिजात दिदीको उपन्यास हाम्रो हातमा पर्यो। अध्यक्ष थिएँ। साहित्यसम्बन्धी हाम्रा केही मानकहरु थिए। ती मानकहरु त्यो बेला अलि कडै थिए भन्ने लाग्छ। हाम्रा शुद्धताका केही आग्रहहरु थिए।  प्रगतिशील के हो? प्रगतिशील के होइन?  पुस्तक पढेपछि मैले र मुरारी अर्यालले .. पारिजात दिदीको जुन प्रवृत्तिसँग हामी सहमत थियौं। त्यो उपन्यासमा पारिजात दिदीको त्यो प्रवृत्तिभन्दा फरक चिज थियो। हामीलाई के लाग्यो भने हाम्रो प्रकाशनको मापदण्ड अनुसार छैन। पारिजातसँग त हामीले नै अतिरिक्त अनुरोध गरेर पुस्तक मागेको हो। हामीलाई संकट भयो। अब त्यो टार्ने कसरी? म त स्रष्टा प्रकाशनको अध्यक्ष। मलाई धेरै अप्ठ्यारो भयो। मैले कसैको हातमा सानो चिठी लेखेर त्यो पाण्डुलिपी फर्काएँ ।  यो यो कारणले तपाईंको पुस्तकसँग हामी सहमत हुन सकेनौं। माफ गर्नुहोला दिदी दुर्भाग्यवश हामी यो छाप्न सक्दैनौं। पारिजात दिदी खुब रिसाउनुभयो। पारिजात दिदी आफ्नो सिर्जनमाथि, चिन्तन र व्यक्तित्वमाथि भएका टिप्पणी र समीक्षाहरुलाई त्यति सहज किसिमले पचाउने मान्छे होइन।  हामी सबै त्यस्तै होला, सबैलाई मन पर्ने त प्रशंसै हो। टिप्पणी, समीक्षा, आलोचना प्रायः मन पर्दैन। पारिजातमा टिप्पणीप्रति, आलोचनाप्रति सहिष्णुता थिएन। दिदीसँग बोलचाल नै बन्द त भएन तर केही समय सम्बन्ध अत्यन्तै तिक्त भयो।  यस्ता अरु पनि सन्दर्भहरु पनि छन् जसमा पारिजात दिदीसँग मतान्तर र तिक्तता भएका छन्। सँगै काम गरेपछि ती जब व्यक्त भयो केही समय दुरी पनि बढ्यो। आइजाइ पनि कम भयो। तथापि त्यो मतान्तर र दुरीको आयु सधैं लामो रहेन। केही समय बितेपछि हाम्रा सम्बन्ध पुनस्र्थापित भए। सहकार्य पुनः प्रारम्भ भयो।  म जुन बेला प्रगतिवादमा प्रवेश गरेँ, त्यो बेलाका धुरन्धर प्रगतिवादीहरुमा स्खलन आएको थियो। ताना शर्मा विचलित भइरहेका थिए। कृष्णचन्द्रसिंहको बाटो फरक भएको थियो। डिपी अधिकारी लगभग राजावादीजस्ता भएका थिए। त्यो वैचारिक संकटको बेलामा नेपालको वामपन्थी प्रगतिशील साहित्यको पारिजातबाटै भएको थियो, प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा। वैचारिक दृष्टिकोणबाट, सिर्जनाको दृष्टिकोणबाट, अभिनयको दृष्टिकोणबाट र नयाँ पुस्तालाई प्रशिक्षण दिने कोणबाट पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो। उहाँ मेरो दिदी हुनुहुन्थ्यो। मेरो साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो।  वहाँको विचारप्रतिको निष्ठा, जिद्दीको हदसम्मको जुन दृढता थियो मैले त्यसबाट धेरै सिकेको छु। म जिद्दीवाल मान्छे हो, मलाई छुचो मान्छे भन्छन् । कुनै कुरा मलाई लागेपछि त्यसमा के के जोखिम होला म त्यो कहिले पनि सोच्दिनँ। आफ्नो निष्ठाको निम्ति लड्ने हो। तपाईं न्यायको पक्षमा, सत्यको पक्षमा उभिनुहुन्छ भने आलोचित हुनमात्र होइन निन्दित हुन पनि तयार हुनुपर्छ। पारिजात दिदी तयार हुनुहुन्थ्यो। मैले उहाँबाट धेरै सिकेको छु। 

वीरगञ्ज:   बाराको महागढीमाई नगरपालिकामा पराल काटने मेसिनले हात काटिदा एक जना गम्भीर घाईते भएका छन । महानगढीमाई नगरपालिका– ११ मधुरी टोल बस्ने ३५ वर्षीय अमिरकाप्रसाद यादव गम्भीर घाइते भएका हुन । आइतबार दिउँसो ना.६ त. १५७३ नम्बरको ट्याक्टरमा जडान गरिएको पराल काट्ने मेसिनमा पराल काटने क्रममा यादवको हाट काटिएको थियो । अमिरकाको बायाँ हातको कुहिनो भन्दा तलतिरको भाग पुरै कटेको, दाहिने हातको ४ वटा औला काटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ 

कञ्चनपुर:   कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवका ४० वर्षीय साधुराम चौधरीले दुई वर्ष भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गरे । कोरोना महामारीसँगै स्वदेश फर्किएका उनी हाल गाउँमै अरु युवासित मिलेर ‘चान्देव एकीकृत इन्टरलक इँटा तथा ब्लक उद्योग’ सञ्चालन गरिरहेका छन् ।  सिमेन्टको प्रयोग गरी बनाइले आधुनिक एवं भूकम्प प्रतिरोधी इँटा उद्योग समूहमा सञ्चालन गरिरहेका चौधरीले उद्योग स्थापनाको छोटो समयमै मनग्य आम्दानी गरिरहेका छन् । “घरपरिवार छाडेर विदेशमा मजदुरी गर्नुभन्दा गाउँमै केही गरौँ भनेर भारतबाट फर्किएर यसमा संलग्न भए”, उनले भने, “हातमा सीप भए गाउँमै मेहनत गरेर आम्दानी गर्न सकिँदोरहेछ ।” कञ्चनपुरमा इँटा उद्योगबाट उत्पादित इँटा घर निर्माण प्रयोजनमा बढी प्रयोग भइरहेको भए पनि पछिल्लो समय यहाँका चौधरीले जस्तै छिटपुटरुपमा इन्टरलक ब्लक बनाउनेक्रम बढेको छ । “जेठमा सञ्चालनमा ल्याएको उद्योगबाट आठ हजार ब्लक बिक्री गरिसक्यौँ”, चौधरीले भने, “अहिले थप चार हजार इँटा माग भएपछि बनाउन थालेका छौँ ।” उनले रु पाँच लाखको लगानीमा उद्योग सञ्चालन गरेको उल्लेख गर्दै सञ्चालन भएयता इँटाको माग आउन थालेको जानकारी दिए । “रु तीन लाख बढीको इँटा बिक्री गरिसक्यौँ”, उनले भने, “फस्टाउँदै गए मुनाफा पनि समूहमा सहभागीबीच बाँडफाँट गर्ने योजना छ ।” उनले घरपरिवारसितै बसेर उद्योगमा खटिनुका साथै स्याली र दोदा नदीमा बगर खेतीबाट आयआर्जन गरिरहेको बताए । “सिमेन्टबाट निर्मित इँटाको प्रयोगले घरको लागतसमेत कम हुने भएकाले यसको माघ बढिरहेको छ”, उनले भने, “अहिले प्रतिइँटा रु ४० का दरले बिक्री भइरहेको छ ।” उद्योगमा आबद्ध स्थानीय निमबहादुर चौधरीले गाउँका–६ जना मिलेर गाउँमै उद्योग सञ्चालनको तालिम लिएर व्यावसायिकरुपमा लागेको बताए । “हिउँदमा सबै बगरमा बेमौसमी तरकारी लगाएर आम्दानीमा जुटिरहेका हुन्छौँ”, उनले भने, “यता ब्लक उद्योगले वर्षभरि काम दिइरहेको हुन्छ ।” यसबाट भएको आम्दानी सोही उद्योगमा लगानी गरिरहेको उनले बताए । “मुनाफा वितरणभन्दा पनि उद्योगको दायरा बढाउने सोचमा छौँ”, उनले भने, “ स्थानीय दशकभन्दा बढी समयदेखि यहाँ बगरमा तरकारी फलाएर घर खर्च चलाउने धेरै छन् ।” उनले हरेक वर्ष छ महिना बगरखेती हुने गरेको उल्लेख गर्दै गाउँमा उद्योग सञ्चालनले व्यवस्था थप बढाएको जानकारी दिए । उद्योगमा आबद्ध रामदयाल रानाले उद्योग सञ्चालनका लागि दातृ निकायको सहयोगले सम्भव भएको बताए । ब्लक इँटा बनाउने मेसिन खरिदका लागि यहाँस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले रु दुई लाख सहयोग गरेको हो । यहाँ उत्थान परियोजनाअन्तर्गत समाजकल्याण सङ्घले चार वटा स्थानमा ब्लक उद्योग सञ्चालन गर्न सहयोग गरेको छ । “हामीलाई त उद्योगबारे थाहा नै थिएन”, रानाले भने, “दातृ निकायले तालिम र मेसिन दिएपछि उद्योग सञ्चालनमा सहयोग पुगेको हो ।” कृषि नै आयआर्जनको मुख्य पेसा भए पनि ग्रामीण भेगका कृषकले राज्यबाट कुनैखाले अनुदान र सहयोग नपाएको रानाको गुनासो छ ।  एनएनएसडब्लुएको उत्थान परियोजनाका संयोजक विनोदविक्रम जैरुले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका परिवारको अवस्था सबल बनाउन सहयोग पुग्ने उद्देश्यले ब्लक उद्योग सञ्चालनका लागि सहयोग गरिएको बताए । “आयस्रोत सामान्य भएकाको अवस्थामा सुधार आएर आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले उत्थान परियोजनामार्फत विभिन्न आयमूलक काममा सहयोग गरिएको छ”, उनले भने, “गाउँबस्तीमै मेहनत गरेर जीविका चलाउनसक्ने जनशक्ति निर्माणमा अग्रसर छौँ ।” चान्देवमा लामो समयदेखि बगरखेतीमा लागिपरेका कृषकलाई ब्लक उद्योग सञ्चालनमा समेत सहयोग पु¥याइएको जैरुले बताए । “बगरमा खेती आंशिक समय मात्र हुन्छ”, उनले भने, “बाँकी समय उद्योगमा खटिएर आम्दानी गर्नसक्ने भएका छन् ।” उनले जलवायुमैत्री, घर बनाउँदा प्लास्टर गर्नु नपर्ने र पोलेको इँटाभन्दा बलियो भएकाले पछिल्लो समय ब्लक इँटाको माग बढिरहेको बताए ।

तनहुँ:  व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवा मार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिन लागेको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरुमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सर ,एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ ।  कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्ष मूनिका बालबालिकाहरूको वृद्धि अनुगमन र पोषण सम्बन्धी सेवा प्रदान गरिनेछ ।  आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ ।  वास्तविक कृषक पहिचान गरी अनुदान  जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ । व्यावसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमन पश्चात दिने योजना नगरपालिकाले बनाएको हो ।  अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।  अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समिति संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन् ।  कृषकले पेश गरेका कागजातको आधारमा मात्रै अनुदान नदिइने भएकोले अनुगमन समितिले प्रत्यक्ष अवलोकन गरेपछि मात्रै अनुदान दिने योजना रहेको अनुगमन समितिका संयोजक घिमिरेले जानकारी दिए ।  गाउँपालिकाले व्यावसायिक कृषकका लागि यस चालू आवमा बोका वितरणका लागि रु तीन लाख पचास हजार, औजार, च्याप कटरमा रु एक लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि रु चार लाख र स्थानीय कुखुरामा रु एक लाख बजेट बिनियोजन गरेको छ ।  पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताए ।  अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका गर्न कठिनाइ भएकोले फार्म निरीक्षणमा जाने र त्यसको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको उनले बताए ।  जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि पनि सहज हुने भएकोले अनुगमन कार्यलाई प्राथमिकता दिइएको अनुगमनको संयोजक वालकृष्ण घिमिरेले बताए ।  उत्पादित वस्तुलाई बजारीकरण गर्दै समृद्ध म्याग्दे वनाउने सुनौलो सपना रहेको हुँदा उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिका कार्यालयले जोड दिँदै आएको बताइएको छ ।

बाजुरा:  ए यो भुवो काँ जादोः भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे। भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन्  । बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ ।  त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् । केही वर्षअघि कोरोनाको कहरका कारण यो पर्व मनाइएको थिएन । यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहमाका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ ।  भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउन यहाँका विदेश गएका स्थानीय यतिबेला धमाधम गाउँ फर्किएका छन् । विगतका केही वर्ष कोरोनाको कहरमा भुवा पर्व मनाउन नपाएकाहरु यतिबेला भुवापर्व मनाउन गाउँ फर्किएका हुन् । खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय भीम नेपालीले धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरु अहिले गाउँ फर्किएको बताउनुभयो । कोरोना कहरले दुई वर्षसम्म यो पर्व खेल्न नपाएकाहरु यतिबेला गाउँमा आएर ढाल तरवार समात्दै अहिले भुवा खेल्न थालेको उहाँको भनाइ छ ।  बाजुराका स्थानीय जोतिष कृष्णराज जोशीले, पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्नेगरेको बताउनुभयो । गोरखापत्र 

रौतहट:   रौतहटको गुजरा नगरपालिका–९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।  मृत्यु हुनेमा मोटरसाइकल चालक गुजरा–१ मनहर्वाका ३२ वर्षीय तुफानी माझी रहेका छन्। उनको उपचारका क्रममा चन्द्रपुर अस्पताल प्रालिमा मृत्यु भएको हो।  सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकी माझीको सोही अस्पतालमा नै उपचार भैरहेको छ।  गएराति साढे १ बजे तुफानीले चलाएको ना ४० प ५०३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी सिमराभवानिपुरले जानकारी दिएको छ।