पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाण्डौँ :     उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताउनुभएको छ ।             प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उहाँले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गर्नुभयो ।       उहाँले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु १९९ बाट रु २० र डिजेलमा प्रतिलिटर रु १९२ बाट रु २९ घटाउने निर्णय नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।       उहाँले पेट्रोलियम पदार्थमा मूल्य समायोजन, निगमको व्यवस्थापनलगायत समग्र पक्षमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएकाले सोको प्रतिवेदन आएपछि थप निर्णय लिइने बताउनुभयो ।     मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने र घट्दा घटाइने प्रणालीलाई निरन्तरता दिइएको उल्लेख गर्दै सदन, सडक र जनस्तरबाट आएको आवाजलाई सम्बोधन गरेर पछिल्लो समयमा वृद्धि भएको पेट्रोलको मूल्यमा करको दर घटाएर प्रतिलिटर रु २० घटाइएको जानकारी गराउनुभयो ।       उहाँले सर्वसाधारण जनताले प्रयोग गर्ने ग्यासमा सहुलितयत दिने र मूल्य घटेपछि उपभोग्य वस्तुमा मूल्य घटाउन सम्बन्धित मन्त्रालयका तर्फबाट तत्काल पहल गरिने बताउनुभयो ।       आगामी आर्थिक वर्षदेखि सिंहदरबारबाट ग्यास प्रयोगको वैकल्पिक व्यवस्था एवं घरायसी प्रयोगका लागि ग्यासको अलग मूल्य कायम गर्न पनि कार्यदलले दिने सुझावको कार्यान्वयन गरिने जनाउनुभयो । उहाँले बजारको महँगी नियन्त्रणका लागि अन्य मन्त्रालय र निकाय एवं पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।              मन्त्री बडूको जवाफमा स्पष्टीकरण माग गर्दै सांसदहरुले खाना पकाउने ग्यासमा मूल्य किन नघटाइएको, दैलेखको पेट्रोलियम खानी उत्खननको कार्यलाई किन तीव्रता नदिइएको, धेरै मूल्य बढ्ने र थोरौ घट्ने किन हुन्छ, बजारको महँगी किन नियन्त्रण नगरिएको जस्ता प्रश्न गर्नुभएको थियो ।

काठमाण्डौँ :     प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।              संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नुभएको हो । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

  सुर्खेत :   सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्।  उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्।  मृत भेटिनुअघि उनको फेसबुकमा एउटा स्टाटस लेखिएको छ। शनिबार बिहान १ : २० बजे ‘सुसाइड नोट’ पोष्ट भएको देखिन्छ। सुसाइड नोटमा के कारणले आत्महत्या गर्न लागेको भन्ने उल्लेख गरिएको छैन।   घरबेटी सर्वोत्तमका अनुसार गायिका दिलमायाले ‘सुसाइड नोट’ लेखेको देखेपछि उनका ‘फ्यान’हरूले फोन गरेका थिए। तर उनको फोन भने अफ थियो। त्यसपछि घरबेटी सर्वोत्तम श्रेष्ठलाई पनि फोन आयो उनलाई भनियो दिलमायाले यसरी स्टाटस लेख्नुभएको छ। फोन पनि अफ छ। एकचोटी गएर हेरिदिनु न। त्यस्तो खबर आएपछि सर्वोत्तम दिलमायाको कोठामा पुगे। कोठाको ढोका खुल्ला नै थियो। ढोका खोलेर हेर्दा उनी मृत भेटिइन्।   ‘मलाई फोन आएपछि म हेर्न भनेर गएको थिएँ। कोठा खुल्लै थियो। चुकुल लगाएको थिएन,’ उनले भने। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुगेको थियो।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थल पुग्यो।    प्रहरीले यस घटनामा उनले आत्महत्या गरेको हो वा हत्या गरेको हो भन्ने खुलाएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले यस घटनाको अनुसन्धान भइरहेको बताए। ‘यो घटना शंकास्पद छ,छैन भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने। घटनाका केही कुराले भने शंका गर्ने ठाउँ छाडेको छ।   प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। आवश्यकताअनुसार अरू व्यक्तिहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति दिलमायाको कोठामा आउजाउ गरिरहन्थे।    घरबेटी सर्वोत्तमले पनि ती व्यक्ति दिलमायाका श्रीमान् भएको बताए। दिलमायाको अघिल्लो श्रीमानसँग डिभोर्स भएपछि उनीसँग बस्न थालेका थिइन्। तर उनी त्यस घरमा बस्दैनथे। उनले अर्को पनि विवाह गरेको खुलेको छ।   ‘आइरहने पुरूष आफ्नो श्रीमान् हो भन्नुभएको थियो। दक्षिणकालीमा गएर दोस्रो विवाह गरेको, हामी बुढाबुढी हौं भन्नुभएको थियो,’ घरबेटी सर्वोत्तमले भने। प्रहरीले भने ती व्यक्ति दिलमायाका  श्रीमान् हुन् वा होइनन् भन्नेबारे पनि बुझिरहेको छ।केही महिनाअघि पनि दिलमायाले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तमले बताए।    ‘विवाह गरेको लगभग दुई(तीन महिना नै उहाँले आत्महत्याको प्रयास गरिसक्नुभएको थियो। श्रीमानसँग त्यस्तै के कुरा भएर हो,’ उनले भने,‘दोस्रो विवाह भएदेखि उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो। दुःखको मात्रै कुरा गर्नुहुन्थ्यो। बुढा घर आएन। फोन गर्दा पनि रिसाएर मात्रै उल्टै गाली गर्छ  भन्नुहुन्थ्यो।’    सर्वोत्तमका अनुसार दिलमायाले ती पुरूषलाई लोकदोहरीको कार्यक्रममा भेटेकी थिइन्। दोहोरी साँझमा काम गरूञ्जेल उनको मानसिक अवस्था सामान्य नै भएको उनले बताए। तर अर्को विवाह भएपछि भने उनी डिप्रेशनमा गएको उनको भनाइ छ। विवाहपछि उनले काम समेत गर्न छाडेकी थिइन्।    ‘उहाँ गायिका भन्ने मलाई पहिल्यै थाहा थियो। उहाँ दोहोरीमा काम गर्नुहुन्थ्यो। दोहोरीमा काम गर्दासम्म ठिकै थियो,’ उनले भने,‘जब उहाँको अर्को विवाह भयो त्यसपछि काम गर्न नजा बरू यही बस् भनेर भनेका रहेछन्। मैले सोधेको थिएँ। त्यसरी काममा नगएपछि दिनभरी घरमा बसेर त्यस्तो भएको हो।’    दिलमाया मृत फेला पर्नु अघिल्लो रात पनि ती पुरूष पनि उनको कोठामा पुगेको देखिन्छ। सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए।  पछि अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। ‘यहाँको सिसिटिभी फुटेज हेर्दा उहाँ १२ बजेचाहिँ आएर बिहान साढे ४ बजे निस्किएको देखिएको छ,’ घरबेटी सर्वोत्तमले भने।    घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन। अहिले फोन गायब भएको हुँदा पनि थप शंका गर्ने ठाउँ छ।अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको हराएको फोन पनि खोज्ने काम भइरहेको छ। उनको फेसबुक आइडीबाट राति नै आत्महत्या गर्न लागेको सुसाइड नोट देखिए पनि कोठाबाट कुनै विषको बट्टा फेला नपारेको प्रहरीले बताए।    ‘घटना यही हो भनेर भन्न सकिने अवस्था छैन। उनी आफ्नै खाटमा उत्तानो परेको अवस्थामा शव भेटिएको हो। हामीले त्यहाँको मुचुल्का गरी शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाएका छौं,’ ती प्रहरीले भने,‘पोष्टमर्टमबाट केही कुरा खुल्नसक्छ।’ उनका अनुसार दिलमायाको घाँटीमा निलडाम पनि देखिएको छ।‘शरीरमा सानोतिना दाग देखिएका छन्। हामी हेर्दैछौं,’ उनले भने। घटनाको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ।

काठमाण्डौँ :    विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।    विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्छ । लाखौँ भक्तजनको उपस्थितिबीच पशुपतिनाथ मन्दिर मुख्य क्षेत्रलाई सफा र स्वच्छ राख्न पशुपति क्षेत्र विकास कोष लागि परेको छ ।    मन्दिरलाई २४सै घण्टा सफा राख्ने उद्देश्यले कोषले सफाइ कर्मचारीलाई १० दिने सफाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिममा कोषका ६७ कर्मचारी सहभागी रहेको प्रशिक्षक मनऋषि धितालले जानकारी दिनुभयो । पशुपतिनाथ जस्तो पवित्रस्थललाई सधैँ सफा र स्वच्छ राख्न तालिम, प्रशिक्षणजस्ता उत्प्रेरणा, आधुनिक उपकरण र नियमित अनुगमनको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । प्रशिक्षार्थीलाई १६ समूह बनाएर अलग अलग ठाउँमा काममा पठाइएको थियो । तालिमको सुरुमा काम लगाउँदा परम्परागत शैलीमा मात्र हुने गरेको सफाइ उपकरणको प्रयोगले समूह कार्यको अभ्यास गराएपछि प्रभावकारी देखिएको थियो ।    कोषले लाखौँ रुपैयाँ लगानी गरेर बनाएका भौतिक पूर्वाधारका संरचनामा समेत सही तरिकाले सफाइ हुन नसकेको भेटिएको प्रशिक्षक धितालले सुनाउनुभयो । “सफाइ कर्मचारीमा आधुनिक उपकरणको प्रयोग गरी काम गर्ने क्षमताको विकास नहुनु मुख्य कमजोरी पाइयो, तालिमपछि सफाइ कर्मचारीमा नयाँ शैलीले काम गर्ने क्षमताको विकास भएको छ, यसलाई निरन्तरता दिन कोषले उपकरणको पर्याप्त व्यवस्थाका साथै नियमित अनुगमन गर्नुपर्छ”–उहाँले भन्नुभयो ।    विसं २०४४ मा स्थापना भएको कोषका कर्मचारीका लागि पहिलोपटक प्रशिक्षण कार्यक्रम राखिएको हो । विसं २०५० भदौदेखि पशुपति क्षेत्रमा सफाइ काम गर्दै आउनुभएकी तारादेवी घिमिरे पहिलो पटक तालिम पाएको बताउनुहुन्छ । तालिमपछि उपकरण प्रयोग गरेर नयाँ शैलीमा सफाइ गर्न सकिने उहाँको विश्वास छ । पशुपति क्षेत्र २६४ हेक्टरमा फैलिएको छ । पशुपति क्षेत्रमा केही भाग वनसमेत छ । मुख्य मन्दिर क्षेत्र रहेको भागमा पनि नियमित सफाइ नभएको गुनासो भक्तजनले गर्दैआएका छन् ।     कोषका प्रवक्ता रेवतीरमण अधिकारी पशुपति क्षेत्रमा सफाइका लागि १०० कर्मचारी परिचालन गरिएको बताउनुहुन्छ । कोषका तर्फबाट ४०, नेपाल इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट ४० तथा नेपाल आयल निगम र नेपाल एसबिआई बैङ्कका तर्फबाट १०/१० कर्मचारीको पशुपति क्षेत्रमा सफाइका लागि व्यवस्था गरिएको छ । निगमले कोषलाई सफाइमा उपयोग गर्ने गरी केही उपकरणसमेत उपलब्ध गराएको छ ।       पशुपति क्षेत्रको सफाइमा ‘मब बकेट’ उपकरण प्रयोगमा ल्याइएको छैन । बाल्टीलाई मात्र प्रयोग गर्दा समस्या हुने गरेको सफाइ कर्मचारीको भनाइ छ । यस्ता उपकरण प्रयोगमा नल्याउँदा फोहरबाट सङ्क्रमण फैलन सक्छ । एक वर्षदेखि पशुपति क्षेत्रका सफाइमा काम गरिरहनुभएकी कविता उप्रेती पर्याप्त मात्रामा आधुनिक उपकरण नहुँदा समस्या हुने गरेको स्वीकार्नुहुन्छ । तालिममा सहभागीलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले पशुपति क्षेत्रको सफाइ पुण्य काम भएकाले मन लगाएर गर्न आग्रह गर्नुभयो ।    कार्यक्रममा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अध्यक्ष खेम लकाइलगायतले तालिमपछि पशुपति क्षेत्रको सफाइमा सुधार हुने तथा यसको नियमित अनुगमनसमेत गरिने बताउनुभयो ।

काठमाण्डौँ  :     राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् ।   राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।        सांसद डा विमला राई पौड्यालले भन्नुभयो, “रुखले प्रविधिक पाएन, धेरै रुख त्यसै सडेर गएका छन, धोद्रो भएर गएका छन् अनि हामीले काठ आयात गरिरहेका छौँ, आयातित काठलाई प्रतिस्थापन गर्ने सरकारको योजना के छ ।”       सांसद गङ्गा कुमारी बेल्वासेले निकुञ्ज ऐन, २०२९ लाई संशोधन गरी समयानुकुल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसदद्वय खिमलाल देवकोटा र सुरेशकुमार आले मगरले बजेट कार्यान्वयनमा जोड दिनुभयो ।      छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन नियमावली र वन ऐन अन्तर्गत नै रहेर खानी उत्खनन गर्ने काम भइरहेको प्रस्ट पार्नुभयो । उहाँले कर्मचारी अभावले वन क्षेत्रमा प्राविधिकको कमि भएको उल्लेख गर्दै जतिसक्दो चाँडो प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       उहाँले भन्नुभयो, “कोभिड–१९ बाट थलिएको पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा आरक्षणमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ, जैविक विविधता संरक्षणमा मन्त्रालययको प्राथमिकता छ ।”

     चितवन :     चितवनको इच्छाकामना गाउँपालिका -४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।   पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।  

काठमाण्डौँ :      प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।      प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।     जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ :    सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।      यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।       पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ ।     वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो । 

काठमाण्डौँ :      देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पकाउन आवश्यक ‘भाँडाकुँडाका सेट’ प्रदान गरेको छ ।   चनपा–५ डाउराडिपोमा प्रधान कार्यालय रहेको सो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । संस्थाका अध्यक्ष रामनारायण घिमिरे, सचिव राम तामाङ, प्रबन्धक प्रवीण सिलवाल र प्रहरी निरीक्षक शुभद्रा वाइबाले सो सामग्री वितरण गर्नुभयो । साथै संस्थाले वार्षिकोत्सवका अवसरमा शनिबार पाँचौँ रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । काठमाडौ उपत्यकाभित्र रगतको अभाव हुन नदिन आयोजित सो रक्तदानमा ६६ जनाले रक्तदान गरेका थिए ।   सो अवसरमा अध्यक्ष घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सेवाका काम गरिरहेको जानकारी दिनुभयो । संस्थाले कोभिड–१९ को महामारीका समयमा पनि मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको थियो ।   विसं २०६६ असार ६ गतेदेखि निरन्तर सेवा गर्दै आइरहेको सो संस्थामा हाल कूल सदस्य तीन हजार ५००  र  कूल सम्पत्ति रु एक अर्ब ३५ करोड नाघेको अध्यक्ष घिमिरेले बताउनुभयो । सहकारी ऐन, नियमसहित संस्थाको स्वीकृत विनियमअनुसार आव २०७८/७९ मा रु पाँच करोड शेयर पूँजी बनाउने लक्ष्य लिएको छ ।   नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, देशदर्शन कल, गोल्डन, बोनस बचतजस्ता निक्षेप योजना छन् । यसैगरी देवदर्शन पुलेसो, आवधिक, छाटो, व्यापारिक, हायर पर्चेज, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघुलगायत कर्जा योजना छन् । संस्थाले  सदस्य हितकोषअन्तर्गत आफ्ना सदस्यलाई सुत्केरी भत्ता, काजकिरीया खर्च र प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई रु पाँच हजार वितरण गर्दै आएको छ ।