बढाइएको सवारी कर फिर्ता गर्न युवा संघ र अनेरास्ववियुको माग
पाेखरा | असार १४, २०७९

पोखरा : आगामी आर्थिक वर्षदेखि सवारी कर बढाउने निर्णयमा नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीले सवारी करसहित अन्य सात विषयमा ध्यानाकर्षण गराएका हुन् ।
सवारी करमा गरिएको भारी वृद्धि तत्काल फिर्ता गर्न, ६/६ महिनामा सवारी नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गर्न, यातायात कार्यालयमा भएको व्यापक बेथिति नियन्त्रण र छानबिन गर्न, प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल र ११ वटै जिल्ला अस्पतालहरुमा तत्कालै आवश्यक जनशक्ति पूर्ति गरी जनतालाई सहज पहुँचको व्यवस्था गर्न, विद्यार्थीलाई सवारी साधन र स्वास्थ्य सेवामा प्रदेशमा पूर्ण सहुलियत व्यवस्था गर्न, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन, ट्याक्सी व्यवसायीबाट मिटर तथा भाडादरमा भएको लापबरबाहीको छानबिन गर्न दुई संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
संघ सरकारले महँगीको उपहार दिइरहँदा प्रदेशमा सवारी कर र जाँचपासको बाध्यकारी व्यवस्था गरेर जनताको जीवनस्तर कष्टकर नबनाउन दुई संगठनले माग गरेका छन् । ‘संघ सरकारले जनताको ढाड भाँचिने गरी महँगीको उपहार दिइरहेको बेलामा प्रदेश सरकार अझै एक कदम अगाडि बढेर करका दरहरु वृद्धि गर्दै सवारी करमा ६/६ महिनामा रिन्यु गर्नुपर्ने बाध्यकारी व्यवस्थाले गण्डकी प्रदेश सरकारलाई नै गिज्याइरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनताको जीवन कष्टकर बनेको छ । सत्ताभन्दा बाहिर जनता छन् भन्ने प्रदेश सरकारलाई जानकारी गराउन चाहन्छौँ ।’
सरकारको ध्यानाकर्षण गराउन युवा संघका प्रदेश अध्यक्ष शिवबहादुर गुरुङ (महेन्द्र), अनेरास्ववियुका प्रदेश अध्यक्ष प्रकाश पौडेल, प्रदेश सचिव आरके पोख्रेरललगायत पुगेका थिए । भेटमा मुख्यमन्त्री पोखरेलले सवारी साधनको अवस्था पहिचान गर्न ६/६ महिनामा सवारी जाँचपासको व्यवस्था ल्याएको बताए । कर भने साना गाडीलाई नभई ठूला गाडीलाई राजस्व लिनका लागि बढाइएको उनले दाबी गरे ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ६/६ महिनामा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था गरेको छ । ६ समूहमा वर्गीकरण गरेर सवारी कर १० हजार रुपैयाँसम्म बढाएको छ । दुई पांग्रे सवारी साधनदेखि हेभी इकुपमेन्टसम्म सरकारले नवीकरण तथा वार्षिक सवारी कर बढाएको हो ।
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...
काठमाडौं: जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश...