पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।   काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो ।   सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन्  । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

जानकी (बाँके):  नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ ।  रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो ।  “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।”   सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिनुभयो ।    “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताउनुभयो l    गत आर्थिक वर्ष २०८०÷८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।  

बागमती:   बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ ।   रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।   मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।   इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।   यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

धनुषा:    धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् ।  सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो ।  सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो ।  यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।  

चेपाङ:    चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।            विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।  यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले  बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो ।            चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।            उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।            चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।            न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।      राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।  यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।             चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

काठमाडौं:    आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ । सदाझै यो वर्षको तीजमा पनि उहाँ फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त हुनुभयो । आज उहाँ दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त हुनुभयो । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उहाँको अनुभव छ । तीजमा व्रत बस्नु उहाँको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । “तीजको बेग्लै धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।” अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त हुनुभयो । तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ । कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाउनुभएको छ, त्यति उहाँको वास्तविक जीवनमा मेल खाँदैन ।  तीजको दिन उहाँ चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त हुनुभयो । उहाँलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उहाँको उत्सव हो । त्यसैले उहाँको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन । गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुग्नुभयो । तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुग्नुभएको उहाँले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याउनुभयो ।  स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उहाँको अनुभव छ । तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसक्नुभएकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउनुभयो । “भोकै बसेर पर्व मनाउने होइन”, उहाँ भन्नुहुन्छ, “नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ ।  मैले यसरी मनाउँदै आएकी छु ।” गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको उहाँले बताउनुभयो । दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिनुभएका उहाँले एक महिनामा राम्रो आम्दानी गरेको सुनाउनुभयो ।  तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिनुहुन्छ । उहाँ फलफूल खाएर व्रत बस्नुहुन्छ भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।”

काठमाडौं:    धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।       व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।         सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाउनुभयो ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।       संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।        “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।       श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।  “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा  बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”,उहाँले भन्नुभयो ।      नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।     समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व  छ ।      व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।  ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।        पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा            यो व्रत सक्ने नीराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।      महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।  पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । महिनाँै अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा स्थापित गर्न खोजेको छ ।      यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा यसका लागि तोकिएको छ ।       बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।

झापा:    वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।       कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् ।       दुवै सामुदायिक वनलाई डिभिवन वन कार्यालयले मेसिन अनुदानमा उपलब्ध गराएको जनाएको छ । रु पाँच लाख मूल्य बराबरको मेसिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।       उहाँले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाइ छ ।       सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उहाँको भनाइ छ ।      यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मेसिन भने पहिलो पटक ल्याइएको हो । दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन सुरु गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।