हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।
काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो । पछिल्ला दिनमा विभिन्न नाका भएर काठमाडौँ भित्रिने र बाहिरिने सडक सञ्जाल पुनःसञ्चालनमा आउनथालेपछि हवाई उडान पनि सामान्य बन्दै गएको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । बाढी, पहिरोलगायत विपत्तिका घटनाले सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप भएको थियो । उडान चाप र यात्रु बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड देखिन्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँचसय अहिले उडान सामान्य बन्दै गएपछि विस्तारै भीडभाड कम हुँदै गएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप र यात्रु सङ्ख्या बढे पनि केही दिनअघि जस्तो भीडभाड नरहेको बताउनुभयो । “उडान चाप र यात्रुको सङ्ख्या त उस्तै, छ, तर, अघिल्लो दिन जस्तो अत्यधिक चाप र भीडभाड छैन”, उहाँले भन्नुभयो । प्रवक्ता शेर्पाका अनुसार यही असोज १३, १४, १५ र १६ गते उडान चाप थियो । पछिल्लो तीन दिनमा उडान सङ्ख्या केही कम भएको छ । विमानस्थलको विवरणमा यही असोज १९ गते दुईतर्फी दुई सय ९९, असोज २० गते तीन सय १८ र २१ गते तीन सय छ उडान भएको छ । यो हेलिकप्टरबाहेकको उडान सङ्ख्या हो । अन्तर्राष्ट्रियतर्फ पनि उडान सामान्य अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो । उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो । उहाँहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा आइपुग्नुभएको हो । मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गर्नुुभएको थियो । सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । उहाँले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिनुभयो । सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पु¥याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ । यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइको छ ।
हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु दुई करोडको चेक हस्तान्तरण गर्नुभयो । यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले रु पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो ।
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् । जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजना प्रभावित क्षेत्रमा विभिन्न विकास योजनाका लागि सहयोग गरिएको छ । यसअनुसार खानेपानी, सडक, विद्यालय भवन, खेलमैदानलगायत काम गरिएका छन् ।” उहाँका अनुसार हाल नौवटा योजना सञ्चालनमा छन् । उहाँका अनुसार म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद नगरपालिका–५ स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण, व्यास नगरपालिका–५ पाटनस्थित पराशर आधारभूत विद्यालय भवन निर्माण, ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सभाहल निर्माण, सोही वडाको होक्सेटारस्थित सेती नदी बायाँ किनार संरक्षण कार्य, बाँधतर्फबाट लोक्मा जाने पैदलमार्ग निर्माण, बन्दीपुर गाउँपालिका–६ स्थित भुतखोला साराङघाट सडकखण्ड ग्याविन निर्माण, ऋषिङ गाउँपालिका–१ धोवलास्थित धोवला सडक कल्भर्ट संरक्षण र ग्याजाटारस्थित ग्याजा महिला समूह भवन सहयोग कार्यक्रम जारी छन् । आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिएका छाैँ । समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।” आयोजनाको समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सनले गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतले गरिरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको क्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले रु १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रु आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रु आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।
बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो । वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज विहान फेलापरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा प¥यो । काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो । घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले । दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे । घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा सघाएका थिए । घटनास्थलमै पुग्नुभएका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो । अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउनुहुन्छ । यो पनि पढ्नुहोस सिन्धुलीमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उहाँको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडाँैबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो ।” उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाउनुभएको थियो । उहाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । “लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो”, उनले भने, “उपचार केन्द्र प्रभावकारी बनेका छन् ।” मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताए । रानीपौवाबाट मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो । सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए । उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ । बिहान ६:०० देखि दिउँसो ३:०० बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८–७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९–८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०–८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए ।