पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

रुकुमपूर्व:    रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।   रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।       सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उहाँका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगङ्गा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा निजहरूलाई कारागार चलान गर्ने आदेश भएको बताउनुभयो ।   वैशाख १९ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेरामा स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन जुनमाया बुढा माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।     निजहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो । वडाध्यक्षमा विजयी हुनुभएका कुमारसिं बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै हुनुहुन्थ्यो । अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जङ्गलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।   मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर परीक्षण गरिएको थियो । जेल चलान भएका सिंह गत वैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो । उहाँ मतदान हुनुअघि नै पक्राउ परिसक्नुभएको थियो ।  

पोखरा:   सरकारले जारी गरेको निर्देशनात्मक आदेशलाई पालना गर्दै यातायात व्यवस्था कार्यालय कास्कीले इम्बोस्ड नम्बर जडान गरिरहेको छ ।  तर सोमबार एक सुचना जारी गर्दै दैनिक ४० देखि ५० वटा मात्रै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने स्पष्ट पारेको छ ।    जारी सुचनामा भनिएको छ, ‘यस कार्यायलमा मिति २०७८ फागुन २२ गते देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान कार्य सुचारु भएकोमा हाल इम्बोस्ड नम्बर जडान गराउन सेवाग्राहीको अत्याधिक चाप बढेको तर कार्यालयमा यातायात व्यवस्था विभागबाट जडान भएको बायोम्याट्रिक सर्भर र अन्य उपकरण तथा जनशक्तिको क्षमता अनुसार दिनमा ४० देखि ५० जना भन्दा बढिको बायोम्याट्रिक र डकुमेन्ट स्क्यान गर्न नसकिने तथा कार्यालय परिसरमा सवारी साधन पार्किङको पनि समस्या रहेकोले सेवाग्राहीलार्य सेवा दिन सक्ने गरि पूर्वाधार र जनशक्तिको व्यस्थापन थप नभएसम्मका लािग हाल यस कार्यालयमा नया तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’ यातायात व्यवस्था कार्यालय कास्कीका अनुसार तत्काल पुरानो दर्ता भएका सवारी साधनलाई नआत्तिन समेत आग्रह गरेको छ । पहिलो चरणमा दैनिक ४० देखि ५० वता नया तथा सरुवा दर्ता भएका सवारी साधनलाई इम्बोस्ड नम्बर जडान गरिने बताइएको छ ।   कसरी भर्ने फारम ? सबैभन्दा पहिला यातायात व्यवस्था विभागको साइडमा गएर इम्बोस्ड नम्बर प्लेट प्रणालीमा जानुपर्छ ।   त्यहाँ गएपछि आफ्नो सवारीको नम्बरदेखि सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । जसमा सवारी साधन दर्ता नम्बर र दर्ता मिति भर्नुपर्ने हुन्छ । त्यति भेरपछि अर्को पृष्ठमा मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ । मोबाइल नम्बर इन्ट्रि गरेपछि मोबाइलमा एउटा भेरिफिकेसन कोड आउछ जुन कोड हालेर तपाई अर्को पृष्ठमा जानुपर्छ ।   त्यसपछि आफ्नो इमेलमा भेरिफाइ गराएर अर्को पृष्ठमा सवारीसाधनको दर्ता मितिदेखि आफ्नो सवारीको ब्लुबुकबाट सवारी साधनको प्रकार, इन्जिन नम्बर, चेसिस नम्बर लगायत सम्पूर्ण विवरण भर्नुपर्छ ।   सबै भरिसकेपछि अर्को पृष्ठमा भएर सवारी धनीको दुई विकल्प मध्ये एक रोज्नुपर्ने हुन्छ । जसमा व्यक्तिगत हो अथवा संगठनको हो छनोट गर्नुपर्ने हुन्छ । यदि तपाईको सवारीसाधन कुनै वित्तीय संस्थाको सहयोगमा खरिद गर्नु भएको हो भने त्यहाँ उल्लेख गर्नुपर्छ ।   यति गरिसकेपछि अर्को पृष्ठमा गएर आफुले भरेको सबै सूचना चेक गरेर सबमिट गर्नुपर्छ ।   यति गरिसकेपछि अर्को पृष्ठमा गएर आफुले भरेको सबै सूचना चेक गरेर सबमिट गर्नुपर्छ । फारममा सम्पूर्ण विवरण भरेपछि त्यसको प्रिन्ट निकालेर तोकिएको यातायात कार्यालयमा गई भेरिफिकेसन गर्नुपर्छ ।    राजस्व बुझाउन जाँदा सवारीको कर चुक्ता सम्बन्धि अद्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजातसहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनुपर्ने हुन्छ ।   कति लाग्छ शुल्क ? इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा वर्गिकरण गरेको छ ।   सरकारले निर्धारण गरेअनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकेको छ । त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चार पाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क लाग्नेछ ।  तर नागरिकले भने शुल्क महङ्गो र इम्बोस्ड नम्बर जडान गर्दा झनझट् व्यहोर्न परेको बताउँदै आएका छन् ।  

कञ्चनपुर:    कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण यहाँको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।   गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरले जनाएको छ ।    त्यसैगरी भीमदत्त नगरले मङ्गलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । गर्मी बढेसँगै विद्यार्थीहरुलाई समस्या हुने भन्दै भीमदत्त नगरले आगामी शुक्रबारसम्मका लागि बिदा दिने निर्णय गरेको हो ।   यहाँस्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताउनुभयो । नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन् ।   

काठमाडौं:  सांसदहरुले आगामी असारभित्रै सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने यातायात व्यवस्था विभागले जारी गरेको प्रावधान फिर्ता लिन माग गर्नुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै जनताले असारभित्रै सबै सवारी साधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गर्नुभयो ।   साथै उहाँले सम्बन्धित मन्त्रीलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती हेर्नसमेत आग्रह गर्नुभयो । बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरुमाथि छलफल जारी छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकहरुमाथि छलफल जारी छ ।   सांसद थापाले काठमाडौँको अहिले देखिएको फोहर व्यस्थापनको मूल जिम्मेवारी महानगरपालिका र सहरी विकास मन्त्रालयको भएको र यसअघिको समयमा आवश्यक काम नगरेकाले अहिलेको समस्या देखिएको बताउनुभयो ।   उक्त समस्याको गाँठो फुकाउनका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै उहाँले काठमाडौँको बञ्चरे डाँडा र सिसडोलमा थप बजेटमा निकास खोजेर भए पनि समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।   उहाँले आगामी दिनमा कम मूल्यमा मात्रै होइन कम समयमा पनि काम गर्छु भन्नेलाई ठेक्का दिँदा पूँजीगत खर्च कम हुने र समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो ।   नेकपा एमालेका सांसद भीमबहादुर रावलले सवारी साधनमा इम्बोस्ड नंम्बर असारभित्रै यातायात विभागले राख्न गरेको निर्देशनको विरोध जनाउँदै यसको ठेक्का प्रक्रिया शङ्काका घेरामा रहेको समेत उल्लेख गर्नुभयो । यसबाट जनता के कति लाभान्वित हुन्छन् समीक्षा गर्नुपर्ने बताउँदै उहाँले बायोमेट्रिक सूचना निजी कम्पनीले लिँदा व्यक्तिगत विवरण गोप्य नरहने समेत उल्लेख गर्नुभयो ।   साथै उहाँले यस बारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद रावलले बजेटमा सुरुङ निर्माण सम्बन्धमा सीमित जिल्लामा मात्र कार्यक्रम रहेको उल्लेख गर्दै यसले समग्र राष्ट्रलाई विकासमा समेट्ने दृष्टिले कसरी हेर्न सकिन्छ भनी प्रश्न गर्नुभयो ।   उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै सरकारले ठूलो रकम लगाानी गरिसकेको सन्दर्भमा निर्माण रोक्न नहुने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले यो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन भएको टिप्पणीसमेत गर्नुभयो ।

काठमाण्डौँः       संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ ।        भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उहाँले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाउनुभयोे । मन्त्री आलेले भन्नुभयो, “सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।”    उहाँले राणा प्रधानमन्त्री जङगबहादुरका पालमा निर्माण भएको विश्वरुपा मन्दिर विसं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनःनिर्माण हुने बताउनुभयो । अरुभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनःनिर्माण भए यहाँ थुप्रै धार्मिक पर्यटकहरु भित्रिने हुँदा चाँडो निर्माण गर्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “चार धाममध्ये पशुपतिनाथ एक धाम हो, त्यसैमा अझ विश्वरुपा मन्दिर पुनःनिर्माण भए भक्तजन तथा पर्यटकहरु थप भित्रिने छन् ।”     रु ४५ करोडको लागतमा निर्माण हुन लागेको ऐतिहासिक उक्त मन्दिर आगामी दुई वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने ठेक्का संझौतामा उल्लेख  छ ।       फरक प्रसङ्गमा मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गरी छिटै तातो र चिसोपानीको व्यवस्था गरिने जानकारी दिँदै उहाँले मन्दिर क्षेत्रमा रहेको पानी शुद्ध पारी पिउन र नुहाउन मिल्ने खालको बनाउन कोषका पदाधिकारीलाई सुझाव दिनुभयो ।

काठमाण्डौँ:       राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।      राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७/७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/७८, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ । 

धनुषा:  धनुषामा एक हप्तादेखि हराइरहेका एक बालकको शव फेला परेको छ । बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो ।    एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा छाप्रोमा बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए । जनकपुरधाम–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ वसविट्टीस्थित दूधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।    बरहीको परिवार घुमन्ते जीवन बिताइरहेका थिए । बालकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । 

काठमाडौँ:      काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताउनुभएको छ ।  उहाँले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाउनुभएको छ ।    “अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको छ, यसको व्यवस्थापन गर्नु तपाईं र मेरो साझा दायित्व हो”, उहाँले नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने र नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहर छुट्याएर निकालिनुपर्ने बताउनुभएको छ ।     “उपत्यकाको फोहोर व्यवस्थापनको समाधान अन्त कतै फ्यालेर वा थुपारेर मात्रै हुँदैन, स्रोतबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन”, उहाँले अपिल गर्नुभएको छ ।       यसअघि जे जसरी चलेको भए पनि आगामी दिनदेखि हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गरी आफ्नो कर्तव्य पूरा गरिदिनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । नागरिकले स्रोतमा नै  छुट्याइसकेको फोहोरलाई कामपाले पुनः एकै ठाउँमा मिसाउने गल्ती नगर्ने पनि उहाँले अठोट गर्नुभएको छ ।     यसैबीच सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरेपनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेका छन् ।   

पोखरा:  नेपाल आयल निगमले इन्धनको मूल्यमा गरेको हेरफेरसँगै आफूखुसी ढुवानी भाडा वृद्धि नगर्न पोखरा चेम्बर अफ कमर्स कास्कीले ढुवानी व्यवसायीलाई आग्रह गरेको छ ।   चेम्बरका महासचिव नवराज आचार्यले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरोकारवाला निकायसँगको समन्वयमा वैज्ञानिक रुपमा मूल्य निर्धारण गर्न आग्रह गरेका हुन् ।    ‘सम्पूर्ण व्यवसायी गतिविधिको मेरुदण्डको रुपमा रहेको ढुवानी व्यवसायसमेत इन्धनको मूल्य वृद्धिले व्यवसायको लागत मूल्य बढाएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान विषम परिस्थितिको मौका छोपी सरोकारवाला संस्था तथा व्यक्तिसँग राय, परामर्श नगरी आफू खुसी गरिएको ढुवानी भाडा वृद्धिले सम्पूर्ण सर्वसाधारणमा भार परेको छ ।’   विज्ञप्तिमा आन्दोलनका नाममा मूल्य एकाधिकारको प्रयोग गरी आफूखुसी ढुवानीको भाडा बढाउने कार्यले व्यवसायीको पनि अप्रत्यासित रुपमा लागत वृद्धि हुन गई सम्पूर्ण व्यवसायिक प्रणाली धरासायी हुने खतरा बढेको दाबी गरिएको छ ।   अहिलेको परिस्थितिले सम्पूर्ण वस्तु तथा सेवाको मूल्य वृद्धि हुने तथा सरकारको खुला बजार तथा प्रतिस्पर्धात्मक बजारको अवधारणालाई नै चुनौती दिने गरी एकाधिकार मूल्य अवलम्बन गरिएको उल्लेख गर्दै विज्ञप्तिमा ढुवानी व्यवसायीलाई जती सक्दो चाँडो सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरी वैज्ञानिक मूल्य निर्धारण गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा नेपाल सरकारलाई यो विषयलाई गम्भीर रुपमा लिई अविलम्ब ठोस निर्णय लिन ध्यानाकर्षण गराइएको छ ।