पोखरा : गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार पहिलो दिन असार १० गते आर्ट कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरु समेत मञ्चन गरिनेछ । यसैगरी असार १२ गते विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्य मार्फत जानकारी, विभिन्न जातीको झाँकी प्रदर्शन हुनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृतीको क्षेत्रमा योगदान पु¥याउने एक–एक जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले तयारी गरेको छ । यसैगरी पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आर्कषणको रुपमा रहनेछ । कार्यक्रम गर्नुको मुख्य उद्धेश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मान मार्फÞत हौसला बढाउन मात्र नभएर श्रस्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउँने कार्यक्रमको लक्ष्य रहेको उहाँले खुलाउनुभयो । यस्ता कार्यक्रमले लुकेका प्रतिभा बाहिर ल्याउन सहयोगी बन्ने गण्डकी प्रज्ञा प्रतिष्ठानको विश्वास छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गन क्रियाशिल बन्ने उपकुलपति गोरे गुरुङले बताउनुभयो । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उहाँको आग्रह छ । आगामी वर्षदेखि वार्षिक उत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो । स्थापना भएको छोटो समयमा नै प्रतिष्ठानले विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छैन । बिजुली बल्ने आशामा वायरिङ गरेका खटेनवासी निरास भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्री अलपत्र परेका छन् । मालिका गाउँपालिका–३ का अध्यक्ष मोतिप्रसाद बुढाले विद्युतीकरणमा भएको ढिलाइ र सामग्री अलपत्र परेको विषयमा नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको बताउनुभयो । “दुई वर्षदेखि अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिन प्राधिकरणको कार्यालयको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो, “ पोल गाडेको, तार तानेको र वायरिङ गरेको दुई वर्षसम्म पनि बिजुली नबल्दा स्थानीय निरास बन्नुका साथै विद्युतीकरणका सामग्री बेवारिसे भएका छन् ।” खटेनका १५० घरधुरीमा विद्युतीकरणका लागि तयारी छन् । वडाध्यक्ष बुढाका अनुसार मिटरबक्स जडान र लाइन जडान गरेमा ती घरधुरीमा बिजुली बल्छ । खटेनवासीले च्युरीबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । खटेनसँगै रहेको इग्रेमा भने दुई वर्षअघि नै बिजुली बालिएको थियो । खटेन र इग्रेका लागि विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चार्ज भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका इञ्जीनियर शिवराज पौडेलले मालिका गाउँपालिकामा विद्युतीकरणका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको रु एक करोड ५० लाख बजेटको ठेक्का सम्झौताको तयारी भएको बताउनुभयो । “सामग्री खरिद भइसकेको छ”, उहाँले भन्नुभयो, “मजदुरको काम गर्न आह्वान गरिएको ठेक्का मूल्याङ्कन गरेर सम्झौताको तयारीमा छौँ ।” मालिका गाउँपालिकाको वडा नं ३ मा खटेनसहित पात्ले, लुक्सीपार, औल भिरवाङ, स्याकलुङमा विद्युतीकरण बाँकी छ । इग्रे, लामखोरे, सराग्दी र किटिनीमा विद्युतीकरण गरेर केन्द्रीय लाइन विस्तार गरिसकिएको छ । चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा नमूना ग्राम कार्यक्रम सञ्चालन गरिएको हो । सडक, खानेपानी, विद्युत्, सञ्चार, पैदलमार्ग, भवनलगायत भौतिक पूर्वाधार निर्माण, नेतृत्व र क्षमता विकासमार्फत लैङ्गिक, जातीय समानता कायम गरी सामाजिक तथा सीपको विकास, रोजगारी सिर्जना र आयआर्जन वृद्धि गरी आर्थिक रुपान्तरण गर्ने उद्देश्य रहेको छ । रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरेको नमूना ग्राम कार्यक्रमको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार कार्यक्रम कार्यान्वयन थालिएको बताउनुभयो । “गत माघमा रु ९६ करोडको डिपिआर स्वीकृत गरेर पहिलो चरणमा गाउँपालिकालाई पठाएको रु ११ लाख बजेटबाट सीपमूलक तालिम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “मन्त्रालय आफँैले पनि तालिम सञ्चालनका लागि थप रु छ लाख विनियोजन गरेको छ ।” सातवटा प्रदेशको एक–एकवटा पालिकामा लागू गरिएको कार्यक्रमका लागि गण्डकी प्रदेशको चिमखोलालाई छनोट भएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार आर्थिक, सामाजिक र भौतिकरूपमा नमूना गाउँ बनाउन कार्यक्रम सञ्चालन गरिएको हो । भौतिक पूर्वाधारलाई बालबालिका, ज्येष्ठ नागरिक र महिलामैत्री बनाउने, लैङ्गिक समानता र विभेदरहित समाज निर्माण र नागरिकको आर्थिकस्तर सुधारमा सघाउ पुग्ने योजना तथा कार्यक्रमलाई समेटेर डिपिआर बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने अवधारण छ । मन्त्रालयबाट स्वीकृत भइसकेको कार्यक्रमलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत र राष्ट्रपतिबाट घोषणा गराई विषयगत मन्त्रालयमार्फत डिपिआरमा उल्लेखित कार्यक्रम र योजनामा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको छ ।
गर्खाकोट: जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो । सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार रहेका थिए । घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताउनुभयो ।
कैलाली : कैलालीको टीकापुर नगरपालिका वडा नं. २ को जनशक्ति सामुदायिक वन क्षेत्र भित्रको मूलपानी आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । कर्णाली नदी किनारमा नदीजन्य पदार्थ उत्खनन् गर्दा भएको खाल्डोमा जमिनबाट पानी आउन थालेपछि त्यसलाई स्थानीयवासीले गर्मी याममा नुहाउने स्थान बनाएका थिए । विस्तारै त्यस स्थानको प्रचारप्रसार हुन थालेपछि मूलपानीका नामले परिचित बनेको स्थल अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । यतिबेला गर्मीबाट शितलताको अनुभूति गर्न मूलपानीमा नुहाउन जानेको भिड लाग्ने गरेको छ । गर्मी यामका लागि मूलपानी उपयुक्त स्थान बनेकाले दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकहरु नुहाउनकै लागि पुग्ने गरेका छन् । टीकापुर नगरपालिकाका विकास चौधरीले मूलपानी क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि राम्रो गन्तव्य बन्न सक्ने बताउनुभयो । नजिकैको कर्णाली नदीको पानी उपयोग गर्न सके मूलपानी क्षेत्रको महत्व बढ्ने उल्लेख गर्दै उहाँले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयोे । “मूलपानीमा नुहाउनका लागि मात्रै नभइ पिकनिक स्थलको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले सामुदायिक वनसँग समन्वय गरेर स्थानीय सरकारले त्यस स्थानको संरक्षण र संवर्धन गर्न सक्नुपर्छ,” स्थानीवासीचौधरीले भन्नुभयो, “एकाएक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मूलपानी भविष्यको राम्रो गन्तव्य बन्न सक्छ ।” टीकापुर नगरपालिकाका भूपेन्द्र साउदले मूलपानी गर्मी यामका लागि निकै उपयुक्त पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले गर्मी छल्न आउने पर्यटकहरुको मूलपानीमा भिड नै लाग्ने गरेको बताउँदै संरक्षणको अभावले बन्न लागेको पर्यटकीय गन्तव्य ओझेलमा पर्न दिननहुनेमा जोड दिनुभयो । “यसक्षेत्रमा राज्यको लगानी हुन जरुरी छ । नजिकैको टीकापुर पार्क र कर्णाली चिसापानीका कारण पनि मूलपानीको प्रचारप्रसार भए पर्यटकका लागि नयाँ गन्तव्य स्थापित हुनसक्छ ।” साउदले भन्नुभयो, मूलपानीलाई समेत जोडेर पर्यटकीय प्याकेज बनाउन सकेको खण्डमा पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत मिल्नेछ ।” मूलपानीमा अहिले दुईवटा तलाउ बनेका छन् । एकातिर महिलाहरू र अर्कोतिर पुरुषहरुले नुहाउने व्यवस्था छ । तलाउको वरिपरि तारबार लगाएर सुरक्षित बनाइएको छ । सामुदायिक वनले मूलपानी क्षेत्रमा भ्यू टावर निर्माण गरेको छ । कर्णाली नदीको अवलोकनका लागि निर्माण गरिएको भ्यू टावर पूर्ण भने हुन सकेको छैन । बजेटको अभावका कारण निर्माणका लागि सुरु गरिएका संरचना पूरा गर्न नसकिएको सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले बताउनुभयो । नजिकै पार्क निर्माणको सुरुवात गरिएको छ । पार्कमा केही खेलौनाहरु समेत राखिएका छन् । “मूलपानीलाई व्यवस्थित गर्न सके बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिन्छ । त्यसका लागि नगरपालिका क्षेत्र भित्रका सबै पर्यटकीय गन्तव्यहरुलाई समेटेर एउटै प्याकेज बनाउनु पर्छ ।“ अध्यक्ष तिरुवाले भन्नुभयो, “ती स्थललाई त्यसैअनुसार प्रचारप्रसार गर्न सक्नुपर्छ । बजेटको उचित व्यवस्था गरिनुपर्छ । सम्भावित क्षेत्रको पहिचान गरी संरक्षणमा समेत ध्यान पुर्याउनुपर्छ । अहिले मूलपानी क्षेत्र पर्यटकहरुको आकषर्णको केन्द्र बन्दा सामुदायिक वनको आम्दानीको स्रोत पनि बढेको छ । वनले मूलपानी प्रवेश गरेको १० रुपैयाँ लिन्छ । त्यही आम्दानी भएको रकमले थप पूर्वाधारहरु निर्माणमा सहयोग पुगेको वनका अध्यक्ष तिरुवाले बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंराले नगरपालिका क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान गरी सबै क्षेत्रको संरक्षण सम्बर्धन र प्रचारप्रसारका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले टीकापुर पार्कलाई मात्रै नभई डल्फिन क्षेत्र, पदमप्रकाश्वर मन्दिर, मूलपानी क्षेत्रलगायत सबै सम्भावित क्षेत्रलाई समेटेर टीकापुरलाई पर्यटकको हबको रुपमा विकास गर्न सकिने जानकारी दिँदै त्यसका लागि सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ स्थित ड्याम नजिक सडक भासिदा फेला परेको एउटा शवकाे सनाखत भएको छ । भने एक जनाको पहिचान अझै खुल्न सकेको छैन । तनहुँ प्रहरीका अनुसार सनाखत हुनेमा गोरखाको छोप्राकका ३५ वर्षीय केशव घिमिरे रहेका छन् । सडक भासिदा बा १० च ४६७९ नम्बरको कार पुरिएको थियो । खोजतालासको क्रममा दुइवटा शव प्रहरी टोलीले फेला परेको थियो । मोटरसाईकल पनि खसेपनि मोटरसाइकल चालकको भने जिवितै उद्धार गरिएको थियो ।
चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८: ४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः १५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।
काठमाण्डौँः पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान जारी छ । सङ्घको अध्यक्ष पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा र राजेन्द्रमान श्रेष्ठले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शेर्पाले प्यानलसहित उम्मेदवारी दिनुभएको छ भने श्रेष्ठको अध्यक्षमा मात्रै उम्मेदवारी परेको छ । सङ्घको निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी दिएको छ । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि शेर्पा समूहले उम्मेदवारी मनोनयन गराएको छ । यस्तै पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्नुहुने भएको छ । शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार हुनुहुन्छ । त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् । मार्या शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा हुनुहुन्छ । त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् । प्रज्ञा भवनमा विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका छन् । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनलागेको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
काठमाण्डौँः वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
तनहुँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।” गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।