स्याङ्जाः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिकालाई ‘आँप र लिची जोन’ निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । विसं २०७८ र ७९ मा चापाकोटका १० वडा र गल्याङ नगरका केही वडालाई समेटेर आँप र लिची जोन निर्धारण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्राविधिक इन्द्र सुवेदीले जानकारी दिनुभयो । कालीगण्डकी नदीको किनारमा रहेको समथर भूभाग आँप र लिची खेतीका लागि उपयुक्त हावापानी रहेकाले उक्त ठाउँलाई आँप र लिचीको जोन निर्धारण गरी कार्यक्रम अगाडि बढाइएको उहाँले बताउनुभयो । “कालीगण्डकीको किनारमा रहेका चापाकोट र गल्याङ नगरका वडालाई समेटेर आँप र लिची जोन बनाएर काम अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “यो ठाउँको हावापानी तथा माटो आँप र लिचीका लागि उपयुक्त हुनुका साथै यहाँको किसानको माग पनि आँप र लिची नै रहेको छ ।” यस ठाउँमा पहिलेदेखि नै स्थानीय रैथाने जातका आँपका बगैँचा रहे पनि ती बगैँचा व्यवस्थित नभएकाले हुँदा बगैँचा व्यवस्थापनमा विशेष ध्यान दिइने उहाँले बताउनुभयो । “रैथाने जातका आँपका बोट ठूला र अग्ला हुने भएकाले काँटछाँट तथा रोगब्याधि लाग्दा कीटनाशक औषधिको प्रयोग गर्न कठिनाइ हुने रैछ”, उहाँले भन्नुभयो, “जोन सञ्चालनमा आएसँगै अब उन्नत जातको ‘आम्रपाली’ आँपको बिरुवा तथा लिचीका बिरुवा लगाइने छ ।” रोगब्याधिको उपचार कसरी गर्ने, खाद्यतत्वको व्यवस्थापन, मलखादको व्यवस्थापनसँगै बगैँचा व्यवस्थापनमा काम गरिने भएको हो । चापाकोटमा आँप÷लिची जोन परियोजना सञ्चालनका लागि स्थानीयस्तरमा जोन सञ्चालन समन्वय समिति निर्माण गरिएको छ । जोन परियोजनाअन्तर्गत प्राविधिकको सहयोगमा अहिले पुराना आँपका बगैँचामा कीटनाशक औषधि छर्कने काम भइरहेको जोन सञ्चालक समितिका संयोजक विश्वास पुरीले बताउनुभयो । “अहिले फलेका आँपमा रोगकीरा नलागोस् भनेर कीटनाशक विषादी छर्केका छौँ”, उहाँले भन्नुभयो, “यसका अलावा नयाँ बिरुवा लगाउन खाडल खन्नेक्रम जारी रहेको छ ।” विशेष गरी प्रमुख कृषि उपजको विशिष्टकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजागारीका अवसर सिर्जना गर्ने र बहुसरोकारवाला निकायबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवाप्रवाहको सुनिश्चितता गर्ने मुख्य उद्देश्यले परियोजना सञ्चालन गरिएको हो । विसं २०७३ साउनदेखि सुरु भएको परियोजना २०८२ असारसम्म १० वर्ष सञ्चालन हुने भएको हो । दश वर्षसम्म सञ्चालन हुने परियोजना अवधिभर कूल रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख लाग्ने अनुमान छ ।
कास्की: पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्व सर्तको रुपमा देखिएको ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौलमा छ । पोखरा १४ मा रहेको ल्याण्डफिल्डलाई महानगरले पोखरा ३३ को संभावित केही स्थानमा व्यवस्थापन गर्ने भनिएपछि महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा छलफल भएको छैन । यद्यपी उक्त विषय प्रस्तावको रुपमा आउने बुँदामा भने समेटिएको छ । पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले दोस्रो बैठकमा ल्याण्डफिल्ड साइटको विषय प्रस्ताव हुने बताउदै सुनगाभा न्यूजसँग भने, ‘कार्यपालिकाको पहिलो बैठकमा एजेण्डा प्रस्तुत भएको छैन । आउने तयारीमा छ अबको बैठकमा आएर छलफल हुन्छ ।’ उनले ल्याण्डफिल्ड साइट व्यवस्थापनको लागि निवर्तमान जनप्रतिनिधिले गरेका निर्णयबारे जानकार नभएको बताए । ‘अघिल्लो जनप्रतिनिधिहरुले के कसो गर्नुभाछ यही नै भनेर भन्ने स्थिति छैन, उनले भने, ‘समग्र भरतपोखरीको जनताको राय र भावना बुझेर त्यहाँको प्रत्यक्ष प्रभावितहरु कोको हुनुहुन्छ । उहाँहरुसँग एक चरण बसेर ठाउँ अघि बढ्छौं ।’ यसअघि पोखरा प्रमुख मान बहादुर जिसीको कार्यकालमा पोखरा ३३ को दुई स्थानमा संभावित स्थान भनेर स्थलगत अवलोकन सहित निरिक्षण गरिएको थियो । पोखरा महानगरापालिकाको पूर्व प्रवक्ता तथा वडा ५ का निवर्तमान वडाध्यक्ष धन बहादुर नेपालीका अनुसार पोखरा ३३ को कुमालटार र चिउरकोट ल्याण्डफिल्ड साइटको लागि चयन गरिएको थियो । पछिल्लो पटक पोखरा प्रमुखका रुपमा धनराज आचार्य आएपछि महानगरको बैठकमा ल्याण्डफिल्ड साइटको विषयमा छलफल हुने विषयले चर्चा पाएपछि स्थानीयले गुनासो गरेको वडाध्यक्ष अधिकारीले बताए । ‘अहिले ल्याण्डफिल्ड साइटको सवालमा व्यापक जनगुनासो आएको छ । हामीलाई जानकारी नै आएको छैन र हामीलाई जानकारी नदिइकन मनोमानी ढंगबाट यस्तो भएको हो भन्ने खालको गुनासो आको अवस्था छ, अधिकारीले भने, ‘त्यसकारण यो जनगुनासोलाई मध्यनजर गरि आवश्यकता हो वा होइन अथवा कुन प्रकारको ल्याण्डफिल्ड साइट हो त्यसले सिङ्गो समाजलाई असर गर्ने वा नगर्ने यी विषयमा जनतासँग सल्लाह गरेर मात्रै यो विषयलाई अगाडी बढाउन पर्छ भन्ने राय हो ।’ उनले केही दिनमै सर्वदलीय बैठक डाक्ने तयारी भैरहेको जानकारी दिए । ‘३३ वडा भित्रको सर्वदलीय संयन्त्रको प्रमुख नेताहरुलाई मिटिङ राख्ने प्रयत्न गरिराछु । मिटिङमा सबैसँग राय लिइन्छ । त्यसपछि अहिलेसम्म तयारी भएका कुराहरु अथवा हाम्रो पदस्थापन भन्दा पहिले टेण्डर प्रक्रिया भएको भए वा सम्पूर्ण काम टुङ्गिएको भए एउटा पाटो रहन्थ्यो, वडाध्यक्ष अधिकारीले भने, ‘अब हामी आइसकेपछि ग्राउण्ड लेभलको कुरा नबुझिकन हामीले यो निर्णय दिदैनौं ।’ उनले अहिले स्थानीयको गुनासो बुझ्ने प्रयासमा रहेको बताउदै आफुले जनविरोधी कार्य गर्न नसक्ने तर्क राखे । ‘ग्राउण्ड लेभलको अवस्था बुझिन्छ । यहाँका राजनैतिक दलका प्रमुखहरुसँग एक चरण बसेर छलफल गरेपछिमात्रै कार्यपालिकामा बहस हुन्छ, उलने भने, ‘त्यसैले हामी एक चरण कसरी जाने भनेर मिटिङ बस्ने तयारीमा छौं ।’ वडाध्यक्ष अधिकारीले स्थानीयलाई बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गर्दै भने, ‘प्रस्तावको रुपमा आउने बुदामा छ । तर त्यो विषयमा टेकेर छलफल गरेर त्यो विषयमा कोर्ट गरेर निर्णय गरिएको अवस्था छैन ।’ ‘ल्याण्डफिल्ड साईट’ सरेन भने विमानस्थलमा नाँच्छन् ‘गिद्ध र चरा’ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल्ड साईट स्थानान्तरण गर्नुपर्ने देखिएको छ । विज्ञहरुका अनुसार विमानस्थल सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १४ बाट ल्याण्डफिल्ड साइट अन्यत्र लानुपर्छ । यदि सो ठाउँबाट ल्याण्डफिल्ड साईट सारिएन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सक्दैन । किनभने धावनमार्ग र ल्याण्डफिल्ड साईट नजिकै छ । एउटै क्षेत्रमा विमानस्थल र ल्याण्डफिल्ड साइड रहेकाले गिद्ध र चराहरु विमानस्थलमा नाँच्छन् र आसपासमा व्यापक गतिविधि बढाउँछन् र उडानमा अवरोध सिर्जना गर्छन् । त्यसैले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भन्छन्, ‘ल्याण्डफिल्ड साइट विमानस्थल सञ्चालनको पूर्वसर्त हो । अबको तिन चार महिनासम्म यो ल्याण्डफिल्ड साइट सरेन भने पोखरा विमानस्थल सञ्चालन हुने विषय अनिश्चित छ ।’
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज सुर्खेतमा आयोजित कर्णालीमा ‘मानव अधिकारको अवस्था’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले राज्यका निकायसँगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने बताउनुभयो । मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने धारणा पनि राख्नुभयो । संविधानमा सबैको हकअधिकारको सुनिश्चितता भएको भन्दै उहाँले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो । “व्यवसायीले महँगी, कालोबजारी गर्ने, कानून व्यवसायीले पैसाविना गरिबका पक्षमा वकालत नगर्ने, युवा विद्यार्थीले प्रहरी कुट्ने हो भने मानव अधिकारको संरक्षण कसले गर्ने ?” मुख्यमन्त्री शाहीले भन्नुभयो, “सबैले प्रश्न सरकार, राज्यतिर तेर्साउने होइन हामी आफूले समाजप्रति उत्तरदायी भई असल नागरिकको पहिचान बनाउन सक्यौँ भने त्यो महत्वपूर्ण हो ।” कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता धुव्रकुमार श्रेष्ठले कर्णालीमा रोग, भोक, गरिबी नै मानव अधिकार संरक्षणमा चुनौती रहेको विचार व्यक्त गर्नुभयो । त्यस्तै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले उद्योग, व्यवसाय क्षेत्रबाट आम उपभोक्ताको अधिकार संरक्षण एवं मानव अधिकारको प्रर्वद्धनमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अतिविपन्न समुदायको मानव अधिकारका लागि सङ्घले सामाजिक उत्तरदायित्वका विभिन्न काम गर्दै आएको उहाँको भनाइ थियो । राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव हरि ज्ञवालीले कार्यक्रमको विषयवस्तुबारे जानकारी, आयोगका अनुसन्धानकर्ता प्रा डा गोविन्द सुवेदीले कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको अधिकारका विषयमा प्रकाश पार्नुभएको थियो । आयोगले आजदेखि वीरेन्द्रनगरमा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएको छ ।
पोखरा: बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आयोजना गरेको दशौं आन्तरिक फुटसल प्रतियोगिताको उपाधि विशाल श्रेष्ठ नेतृत्वको टिमले जितेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा सञ्जय बुढाथोकी नेतृत्वको टोलीलाई हराउलै श्रेष्ठको टिम च्याम्पियन बनेको हो । उपाधि जितेसँगै श्रेष्ठको टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० हजार हात पार्याे । उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा रोशन नेप्कुल पुरस्कृत भए । कुल ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका ४ का नवनिर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुली, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी, बगर कल्याणकारी ब्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला, फेन्सी तथा रेडिमेड ब्यवसायी संघका अध्यक्ष राजु पौडेल तथा अग्रज व्यवसायीहरु लगायतले पुरस्कार वितरण गरेका थिए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा संयोजक थमनसिंह गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव बुद्वी बहादुर कुावरले कार्यक्रम सञ्चालन गरेका थिए ।
चितवन: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा दुर्घटना भएको छ । आज (आइतबार) काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कोर्पियोले ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापश्चात घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि ट्रमा सेन्टर कुरिनटार पठाइएको बताइएको छ । भने स्कोर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको कुरिनटार प्रहरीले जनाएको छ ।
काठमाडौं: खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग गर्नुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले अहिले अनलाइनका समयमा पनि विद्यार्थीलाई किताब दिन नसक्नु विडम्बनापूर्ण भएको र यसले राज्यको प्राथमिकतामा विद्यालय नपरेको शङ्का उब्जाएको भन्दै तत्काल समस्या समाधन गर्न माग गर्नुभयो । उहाँले किसानलाई मलखाद उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । सांसद लक्ष्मी परियारले विद्यार्थी पुस्तकविनै कहिलेसम्म विद्यालय धाउनुपर्ने भन्दै बालबालिकाले चाँडो किताब पाउने वातावरण बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषकलाई मल र बीउ उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभयो । सांसद लालप्रसाद साँवा लिम्बूले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका छोराछोरीले उमेर पुगेर पनि नागरिकता नपाएर उनीहरु लाइसेन्स, प्रवेशाषाज्ञालगायत महत्वपूर्ण कागजातबाट बञ्चित हुनुपरेको भन्दै तत्काल संसद्मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउन माग गर्नुभयो । सांसद विद्या भट्टराईले विपद् र प्रकोपजन्य घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराउनुभयो । सांसद बीनाकुमारी श्रेष्ठले जुन १२ विश्व बालश्रम उन्मूलन दिवसका सन्दर्भमा शुभकामना व्यक्त गर्दै रेस्टुरेन्ट तथा घरेलु कामदारका रुपमा बालश्रम शोषण भइरहेको भनी बालश्रम उन्मूलनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । सांसद विमला विश्वकर्माले हात्ती प्रभावित क्षेत्रका जनताको समस्या समाधान गर्न तत्काल हात्ती नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । उहाँले बालश्रमको पूर्ण अन्त्यका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद बीनादेवी बुढाथोकीले सरकारद्वारा हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा किसानलाई प्राथमिकता दिँदै आएको भए पनि अहिले खेतीका समयमा किसानले मल नपाएर सास्ती व्यहोर्नु परेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विन्दा पाण्डेले नागरिकता विधेयक दुई वर्षदेखि संसद्मा विचाराधीन रहेकाले नागरिकले नागरिकता पाउन नसकिरहेको भन्दै नागरिकताविहीन नागरिकको अधिकार सुनिश्चितताका लागि उक्त विधेयक तत्काल अघि बढाउन माग गर्नुभयो । सांसद विशाल भट्टराईले खोटाङको फोक्सिङटारस्थित सुनकोसीको पुल निर्माण शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णु शर्माले घोराहीको नेत्रलाल मार्गको कालोपत्र गर्न बजेटको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले कालापानी, लिपुलेकलगायत सीमाका पीडित जनताको मर्काको सुनुवाइ हुनुपर्ने माग गर्नुभयो । सांसद शक्तिबहादुर बस्नेले गत शुक्रबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता किसिमका दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति गर्न माग गर्नुभयो । उहाँले मनसुन सुरु भएकाले विपद् जोखिमका घटना न्यूनीकरणको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद शेरबहादुर तामाङले विभिन्न प्रकोपजन्य घटनाका कारण सिन्धुपाल्चोकलाई सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेको र विश्वबैंकबाट करिब रु छ अर्ब पैसा आएको भए पनि पीडितले न्याय नपाएको भन्दै जिल्लाका नाममा आएको पैसा जिल्लामै खर्च गर्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद सत्या पहाडीले कर्णालीका जनतालो अझै पनि सडक र बिजुलीको आधारभूत सेवा पाउन नसकेको बनेका सडक पनि स्तरीय नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुभयो । सांसद समीन हुसेनले हजीलाई डबल दस्तुर लिएर हज गर्न कसले पठाएको भनी प्रश्न गर्दै नागरिकता नपाएर नागरिकले कहिलेसम्म पीडा भोग्ने भन्दै जवाफ माग गर्नुभयो । सांसद सरवतआरा खानमले मुस्लिम समुदायलाई हजमा जान लगाएको आर्थिक भार कम गर्न र सहज बनाउन तथा हजयात्रीलाई अनुदान उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभयो । सांसद सरलाकुमारी यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा तीन दशक पहिलादेखि बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा ढिलाइ गरिएको र विमानस्थल निर्माणमा भाँजो हाल्न देशीविदेशी तत्वले भूमिका खेलिरहेको भन्दै छिटोभन्दा छिटो निर्माण प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले गृह मन्त्रालयले २०५२ सालमा दलित समुदायका नागरिकले चाहेमा गैर दलितसँग मिल्ने थर नागरिकतामा राख्न चाहेमा पाउने व्यवस्था गरेको भए पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक थर परेकाले दुवैमा एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हिरा विकले खोटाङको साकेल गाउँपालिकाको सडक बाटो अलपत्र अवस्थामा रहेको र सवारीसाधन सहजरुपमा सञ्चालनको वातावरण सिर्जना गर्न माग गर्नुभयो ।
काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उहाँले नेपालका विमानस्थलका थप विकास तथा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने खालका बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलकै बाटो भएर हजारौँ पर्यटक तथा यात्रु ओहोरदोहोर गर्छन्, तिनै विमानस्थल फोहर भए अवस्था के होला, नेपालका सबै विमानस्थलमा थप विकास तथा विस्तार गरी पर्यटकसहित यात्रु लोभिने खालका बनाउँछु ।” मन्त्री आलेले आफू नागरिकको सेवक भएकाले नागरिकसहित देशकै हितका काममा तल्लीन रहने बताउनुभयो । उहाँले यात्रुको पाँच मिनेटमा नै आफ्नो लगेज लिएर जानसक्ने र लगेजका लागि कुर्न नपर्ने गरी सुविधा दिन पनि कर्मचारीलाई निर्देशन दिनुभयो । टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौ महिनाभित्र कामसक्ने वातावण मिलाउन आग्रह गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका भौतिक पूर्वाधारको निर्माणसँगै तिनीहरुको उचित सरसफाइदेखि व्यवस्थित बनाउनसमेत उहाँले आग्रह गर्नुभयो । मन्त्री आलेले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्याससमेत गर्नुभएको छ । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि उक्त नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो । एक वर्षमा काम सम्पन्न गरिसक्ने गरी कूल रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इञ्जिनीयरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिनुभयो । उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टी कन्ट्रक्सनले लिएको छ । भवन निर्माणपछि यात्रुलाई सहज हुने अपेक्षा लिइएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङस्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइनेछ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो व्यागेज कन्भेयर बेल्ट (दुईतर्फी व्याग लिन मिल्ने) बेल्ट हुने भएको छ । फरक प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २६ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले उक्त विमानस्थल निर्माणका लागि रु एक खर्ब २० अर्बको अनुमान गरिएकाले बजेट पर्याप्त नभएको गुनासोसमेत गर्नुभयो । सोही प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।
बैतडीः बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । “कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुसन्धान थालिएको हो”, उहाँले भन्नुभयो, “केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।” जन्ममिति सच्याएर कहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ ।” यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताउनुभयो । यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्र्तगत थप कारबाही हुने जनाइएको छ । यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
काठमाण्डौँ : सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६सय र एक हजार ८०० डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलदेखि चाबहिलसम्म एक हजार ४०० डायमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० डायमिटरको पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमीसम्म एक हजार ८०० डायमिटरको पाइप बिच्छ्याइने छ । साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म नै एक हजार ६०० डायमिटरको पाइप बिच्छ्याइनेछ ।याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उहाँले सुनाउनुभयो । वर्षाको समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।