चितवन: कुरिनटारमा माइक्रोबसले ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिप्पर पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।
गण्डकी: सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहेका छन् । गलकोट नगरपालिका–१० पाण्डवखानीका उनले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उनलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गर्यो । मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन् । करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् । भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । उनले हरेक सोमबार बिहान ९ देखि दिउसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आएका छन् । “नगर अस्पताल जाने बरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु”, उनले भने, “सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ ।” गत एक वर्षमा झण्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताए । “कोहीले धेरैपटक सेवा लिनुभएको हुनुसक्छ, अस्पताल ल्याउने र लैजाने गर्दा सङ्ख्यात्मक रूपमा झण्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ”, मगरले भने, “यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु ।” साताको छ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरले बताए । उनी आफैँ ट्याक्सी व्यवसायी र चालक हुन् । उनले एकैदिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएको बताए । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मानवीय सेवाप्रति मगरले देखाएको सर्मपण भाव प्रशंसनीय रहेको बताए । “उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ”, प्रमुख गैरेले भने, “सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।” स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उनले बताए । यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा मगरलाई सम्मान गरेको थियो । नेपाल मगर सङ्घ गलकोट नगर समितिद्वारा पनि उनी सम्मानित भइसकेका छन् । “सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने प्रेरणा मिलेको छ”, उनले भने, “बिरामीले प्रकट गर्ने सम्मानजनक व्यवहार र आर्शीवचनले त झनै मनमा खुसी मिल्छ ।”
टीकापुर: कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुदाँ किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेकी छिन् । लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पिए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो । भारतको हल्द्वानीबाट उपचार गरी बर्दिया फकिएको एम्बुलेन्समा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परि अञ्जलीको मृत्यु भएपनि अन्य ५ जना सकुसल रहेको बताइएको छ । हाल एम्बुलेन्स चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले सानो भएपनि राहत पाउने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखी पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यूनाइटेड क्लबले २०७२ को बिनाशकारी भुकम्प पश्चात विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद ब्यवस्थापन कोष निर्माण गरी अगाडी वढेको बताए । उक्त कोषका लागि हरेक बर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको बताए । क्लबको सामाजिक दायरा फराकिलो रहेको वताउदै अध्यक्ष श्रेष्ठले क्लवले हाल सम्म पश्चिमको कैलालीको कैलारी गाउँपालिकाका हावाहुरी प्रभावित, पूर्वको उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित, कास्कीको सराङकोट पहिरो प्रभावित, जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई विपद ब्यवस्थापन कोष मार्फत राहत प्रदान गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । सो अवसरमा वोल्दै आगलागीबाट पूर्ण रुपमा क्षती भएका यदुनाथ पाध्याले आफुहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केहीपनि बांकी नरहेको वताउदै सहयोगीहरुको साथले आफुमा आत्मबल थपिएको बताए । उक्त कार्यक्रम मा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाज बाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बाग्लुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैया बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा र पदाधिकारी द्धारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नं १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लब का कोषाध्यक्ष सुर्य बहादुर बानिया, बागलुङ समाज पोखराका निबर्तमान अध्यक्ष डिल्लि प्रसाद शर्मा, बागलुङ समाज पोखरा का उपाध्यक्ष नरेश सुबेदि, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य ठाकुर प्रसाद सापकोटा र युनाइटेड क्लबका कार्यसमिति सदस्य जयराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा जेठ ८ गतेदेखि हनि हन्टिङ महोत्सव हुने भएको छ । लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज (मंगलबार) पोखरामा पत्रकार सम्मलेन गर्दै जेठ ८ गते महोत्सव हुन लागेको जानकारी दिएको हो । लान्द्रुक मोदी खोला किनारस्थित कोटेसाङ भीरमा रहेको भीर माहुरीको मह काढ्न यसवर्षपनि हनि हन्टिङ महोत्सव आयोजना गरेको अध्यक्ष सुरेश गुरुङले बताए । ‘भीर मौरीको मह वर्षमा दुईपटक काढ्ने गरिन्छ, अहिले वर्षको पहिलो सिजनको मह निकाल्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘लान्द्रुक मोदीखोला किनारास्थित कोटेसाङ भिरमा रहेको भीर माहुरीको मह निकाल्न जेठ ८ गते हनि हन्टिङ महोत्सव आयोजना गरेका छौं ।’ यो पनि पढ्नुहोस कोटेसाङ महभीरमा जमेको पौडेल र पुन जोडी उनले मोदीखोला किनारास्थित कोटेसाङ भीरमा करिव १० देखि १२ घारको मह निकालिने समेत बताए । ‘हनि हन्टिङ महोत्सवमा हामीले करिव १०देखि १२ घारको मह निकाल्दै छौं’उनले भने, ‘महोत्सवले लान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनसँगै लेकाली महलाई बजारीकरण गर्ने लक्ष्य राखेका छौं ।’ उनले एक लिटर महको ३ हजार रुपैयाँ मूल्य कायम गरिएको समेत बताए । यस्तै हनि हन्टिङ महोत्सवमा ३३ वर्ष उमेर माथिको पौढ भलिबल समेत आयोजना गरेको छ । साविक वडास्तरीय पौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । महोत्सवमा सास्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । महोत्सवमा भिरौटेदेखि शिकारी सम्मानित हुँदै लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले भिरौटे, शिकारी र दिवंगत भएका भिरौटे र शिकारीहरुलाई मरणोपरान्त सम्मान गर्ने भएको छ । सम्मानित हुनेमा आनन्द पौडेल, खड्गबहादुर गुरूङ, मन बहादुर पुन, घनश्याम चापागाई, नक्कल गुरूङ, मिमबहादुर गुरूङ, अर्जुन गुरूङ, जय पौडेल क्षेत्री लगायत रहेका छन् । भने मरणोपरान्त सम्मान पाउँनेमा जंगावीर क्षेत्री, हवल्दार सेते गुरूङ, प्रताप बहादुर गुरूङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरूङ रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गर्नुभएको हो । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुना टपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो ।’ उहाँले भन्नुभयो । स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिनेभएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उहाँको ठम्याई छ। ‘प्लाष्टिककै कारण विश्वमा प्रदुषण बढ्दो छ । हामीले दुनाटपरीको अधिकतम प्रयोग गरेमा प्लाष्टिकजन्य सामाग्री प्रयोगमा कमी आउनेछ र वातावरण स्वच्छतामा टेवा पुग्नेछ ।’ उहाँले भन्नुभयो – ‘विश्वसमुदायको ध्यान अब प्रदुषण न्यूनिकरणमा रहने र यस्ता प्लाष्टिकको विकल्पका साधनको उच्चतम प्रयोग गर्ने अवस्था हुने भएकाले हतोत्साही नभइकन यस्ता घरेलु उद्योगको प्रवर्द्धनमा जुटौँ ।’ टोलीमा सुदूर पश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरीसहित सदस्यहरूको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ । गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियासमेत आवश्यक पर्ने महशुस गरि परिषद् गठन गर्ने निर्णय गरेको थियो । सोही बैठकबाट सल्लाहकार परिषद्मा पूर्व मन्त्री तथा अन्तराष्ट्रिय चेम्वर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, पूर्वमन्त्री माननीय छविलाल विश्वकर्मा चयन भएको महासंघका महासचिव निर बहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार सो परिषद्मा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, पूर्व सचिव तथा मधेश विश्वविद्यालयका डिन डा. मानबहादुर विश्वकर्मा, पूर्व सचिव तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी पौडेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, खानी तथा भूर्गभ विभागका पूर्व महानिर्देशक तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमख कार्यकारी अधिकृत डा. सोमनाथ सापकोटा, विज्ञ तथा लेखक बद्रिप्रसाद कोइरला, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, उच्च अदालतका पूर्व न्याधिश वरिष्ठ अधिवक्ता साधुराम सापकोटासहितको सदस्य रहने गरी गठन गरिएको छ । सल्लाहकार परिषद्का सदस्यहरुलाई गत १८ गते होटल बाराहीमा स्वागतसहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । सो परिषद्ले संस्थागत विकास एवं महासंघको समष्टिगत उद्देश्य प्राप्तिका लागि र संस्थाको परिकल्पना गरेका उद्धेश्य हाँसिल गर्न उल्लेखनीय सहयोग गर्ने महासंघले विश्वास लिएको छ ।
काठमाडौं: भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ। भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए। उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए। दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका-१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।
इलामः प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।