काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)मा जारी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य पच्छ्याएको बङ्गलादेशले २८ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । बङ्गलादेशका लागि ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन । यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने हेमन्त धामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनको योगफल बनाएको थियो । यस्तै ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९÷२९ रन जोडे । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बङ्गलादेशका लागि अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई÷दुई विकेट लिए । यसैगरी, साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक–एक विकेट लिए । यस जितसँगै बङ्गालादेशको भने यो लगातार दोस्रो जित हो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
कोभिडको महामारीसँगै रोकिएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ बर्ष पछि आयोजना हुँदैं छ । आदर्श युवा क्लबको आयोजनामा यही मंसिर २२ देखि २९ गतेसम्म भण्डारढिक खेलमैदानमा हुने २५ औं सस्करणको आदर्श कपको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ औं संस्करणको ऋद्दिसिद्धी आदर्शकप २०७५ सालमा भएको थियो । त्यसयता प्रतियोगिता रोकिएको थियो । त्यसपछि अहिले ६ वर्षपछि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । करिब ६० लाख रुपैयाँ खर्च हुने सो प्रतियोगिता आयोजकसहित ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष गुरुङका अनुसार आयोजक आदर्श युवा क्लब, कास्की –११, विभागीय क्लब नेपाली सेना सिद्धिदल गण (पश्चिम पृतना), नेपाल प्रहरी गण्डकी प्रदेश र सशस्स्त्र प्रहरी गण्डकी मुख्यालय, एन्फा तनहुँ, एन्फा गोरखा र एन्फा स्याङ्जा गरि कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।
काठमाडौं: सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । “नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।” कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो । पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।” कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’ बढ्दो क्रिकेट क्रेज पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । यस्तो छ अन्य खेलहरूको टिकट मूल्य सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । सोमबार दुई खेल हुँदै आज भने कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।
सङ्खुवासभा: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मानित हुनुभएको छ । सङ्खुवासभामा शुभ बिहानी नमस्ते क्लबले आज भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मान गरेको हो । सदरमुकाम खाँदबारीमा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राई, राष्ट्रिय महिला भलिबल खेलाडी सुमित्रा रेग्मी र अन्डर–२० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा सम्मानित हुनुभएको शुभ बिहानी नमस्ते क्लबका अध्यक्ष खेम गुरागाईंले जानकारी दिनुभयो । क्लबले राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन खाँदबारी नगरपालिका–५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका–९ त्रिसुले निवासी राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मी र खाँदबारी नगरपालिका–८ पिप्लेकी अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मालाई सम्मान गरेको हो । भलिबल प्रशिक्षक राई, राष्ट्रिय खेलाडी रेग्मी, अन्डर २० राष्ट्रिय महिला भलिबल कप्तान विश्वकर्मा खाँदबारी नगरपालिका–५ माल्टामा यही मङ्सिर १२ गते भएको अन्तरपालिका महिला भलिबलमा सहभागी जनाउन गृह जिल्ला आउनुभएको हो ।
काठमाडौं: संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् ।
काठमाडौं: नेपाल पहिलो पटक दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् । दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन । दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ । फाइनल खेल भने मङ्गलबार हुनेछ ।
काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पु¥याएको थियो । क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताउनुभयो । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको भनाइ उहाँको थियो । “भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भएरनभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ”, उहाँको भनाइ थियो ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोडे । यस क्रममा उनले ३३ बल खेल्दै दुई चौका प्रहार गरे । कप्तान अनिलकुमार साहले पाँच रनको योगदान दिए । आशिफ शेख शून्य रनमै पवेलियन फर्किए । बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाडी क्रिस सोले र प्रतिश जिसीले एकरएक विकेट लिए । विराटनगरले जनकपुर बोल्ट्सलाई २२ रन अतिरिक्त दिएको थियो । यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्धशतक पारी खेले । उनले ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलमे पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात÷सात रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष थाकरेले समान दुईरदुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक एक विकेट लिए ।

