म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गक...

बुटवल:  जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो । होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार बुटबलमा आयोजित कार्यक्रममा ब्यबसायी र संचारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ घण्टा खुलाउने पहल आफू कास्की हुँदा भएको समरण गराए । लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए । आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य लक्ष्य अभियानले लिएको संयोजक एबं आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।  दुई दशक अघि देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्बी नेपालमा सम्पन्न भएको थियो ।  विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन स्क्छन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुबेदीले बताए ।  हानका केन्द्रीय सदस्य एबं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे । पोखरा विमानस्थलको उचित संचालनमा सरकार गंभीर हुनुपर्ने भनाई उनले राखे । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन भएको हो । पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियानको अर्को उद्देश्य हो ।  साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियान सार्थक हुने संघले विश्वास गरेको छ ।  बिहीबार सुरु भई असार दुई गते सकिने यस पटकको  जाउँ है पोखरा अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि संचालन हुने छ । बुटवलमा आयोजित कार्यक्रममा हानका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल राना, होटल ब्यबसायी महासंघका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डे लगायतले भनाई राखेका थिए । यसअघि पाल्पाको श्रीनगरमा बिहीबार आयोजित कार्यक्रममा अभियानको टोलीलाई स्वागत गर्दै पाल्पाले पोखराबाट धेरै सिक्न बाँकी रहेको स्थानीय ब्यबसायीले बताएका थिए ।  पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटि (ट्याक्ट) ले यो कार्यक्रम आयोजना गरेका थिए । पाल्पा हानका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रबद्र्धनका गतिविधिमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राखे । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धानिन सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढ्न पोखराको साथ रहने विश्वास दिलाए । कार्यक्रममा ट्याक्टका संयोजक एबं तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन र पाल्पा होटल संघका उपाध्यक्ष लक्ष्मण बस्यालले पनि भनाई राखेका थिए ।  

पोखरा:   ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो ।    हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट  सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो ।   नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको यस क्षेत्रले (नर्थ) यथेष्ट लाभ लिन भने सकेको छैन ।    पदमार्ग प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड र टान   नेपाल पर्यटन बोर्डको अगुवाइ र टान गण्डकीको व्यवस्थापनमा अन्नपूर्ण प्रथम हिमाल (नर्थ) पुग्ने पदमार्गको ५ दिने (१७–२१) प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।      अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष (हिरक महोत्सव)को अवसरमा पदमार्ग प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो । अन्नपूर्णमा मानव पाइला पुगेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ ।    पोखराबाट मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेको सांगीतिक टोलीसहित अन्नपूर्ण डे मनाउन नेपाल आएका थिए ।    फ्रान्सेली टोलीसहित पोखराबाट पर्यटनसम्बद्ध संस्थाका नेतृत्व, संचारकर्मी र हिमाल आरोहीसहितको टोली म्याग्दीको नार्च्याङ्, गुफा फाट, भुस्केट मेला हुदैँ अन्नपूर्ण आधार शिविर (४१९०) पुगेको थियो ।    अन्नपूर्ण प्रथमको उत्तरीखण्डमा पर्ने यो आधारशिविरमा पहिलोपटक अन्नपूर्ण डे मनाइएको हो ।     मंगलबार अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेका हुन् । मौरिसले अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको ‘आइस एक्स’ हार्जाेग परिवारले आधार शिविरमा  हस्तान्तरण गरे । स्विजरल्याण्डमा रहेको आइस एक्स नेपालमा रहने गरि हर्जोग परिवारले हस्तान्तरण गरेको हो ।    हार्जाेगका छोरा माथियसले पञ्चकुण्ड तालको छेउमा बसेर बुवाको स्मरण गदैँ अन्नपूर्णलाई आफ्नो घर जस्तो भने । अनि आइस एक्स नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । सो अवसरमा केक काटेर अन्नपूर्ण डे सेलिब्रेसन गरिएको थियो ।    यस्तै आधार शिविर (४१९०) मि. अन्नपूर्ण बेसक्याम्पमा मौरिस हर्जोग र लुइस लाशनलल शालिक अनावरण गरिएको छ । उर्जा राज्यमन्त्री खमबहादुर गर्वुजा, नेपालका लागि फ्रान्सेली राजदुतले शालिकको अनावरण गरेका थिए ।  अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गर्ने पहिलो नेपाली महिला पूर्णिमा श्रेष्ठले हर्जोगले प्रयोग गरेको आइस एक्स नेपालमा देख्न र स्पर्स गर्न पाउदा खुशी व्यक्त गरिन् ।    पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण हिमालको नर्थलाई प्रवद्र्धन गर्न पदयात्रा कार्यक्रम तय गरिएको बताए । यो पदमार्गलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने उदेश्यले फ्रान्सबाट हर्जोग परिवालाई पदमार्गहुदैँ वेसक्याम्पसम्म यात्रा गराइएको र राष्ट्रिय तथा अन्तराष्ट्रिङय संचार माध्य मार्फत प्रवद्र्धनको प्रयास गरिएको जानकारी दिए ।    टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद  आचार्यले अन्नपूर्ण डे नेपालको लागि ऐतिहासिक दिन रहेको बताए । आचार्यले द अन्नपूर्ण किताब मार्फत मौरिस हर्जोगले नेपालको पर्वतीय पर्यटनमा पुर्याएको योगदानको चर्चा गरे ।   अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण रहे पनि हर्जोगले आरोहणका लागि प्रयोग गरेको पदमार्ग अहिले पनि ओझेलमा परेकाले प्रवद्र्धनात्मक कार्यक्रम गरिएको आचार्यले बताए । 

रसुवा: गङ्गा दशहरा पर्वअन्तर्गत बुधबारदेखि सुरू भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ ।  समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने यात्रीलाई बेत्रावतीबाट गोसाइँकुण्डसम्म विशेष सुरक्षा व्यवस्था मिलाउनुका साथै लेक लागेर बिरामी परेका यात्रीलाई उद्धारको समेत व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए  ।  तीर्थ जाँदा लेक लाग्ने समस्यामा परेका बिरामीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा निकायले उद्धार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।  गत विगतको तुलनामा यस वर्ष भक्तजनको आगमन बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीर्थका लागि निस्केका एक हजार भन्दाबढी यात्री बुधबार साँझ चन्दनबारी पुगेका र ती यात्री आज बिहानैदेखि लौरी विनायक उकालो उक्लँदै गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । यात्रीका लागि काठमाडौँको बालाजुबाट धुञ्चेसम्म बस, हाइसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएकाले धार्मिक यात्रामा सवारीसाधनको अभाव नहुने यातायात व्यवसायीले बताएका छन् ।  धुञ्चेबाट माथि लागेपछि खन्ति, देउराली, चन्दनबारी, चोलाङ्पाटी, लौरी विनायक र गोसाइँकुण्डमा क्षेत्रमा होटल तथा लज अनुगमन गरिसकेको जनाउँदै प्रजिअ पौडेलले आगन्तुक तथा धार्मिक यात्रीलाई सुलभ रूपमा सेवा प्रदान गरिदिन व्यवसायीलाई अनुरोध गरिएको बताए । उकालो हिँड्दा बढी स्वास्वा फ्याफ्या हुने यात्रीका लागि चन्दनबारीमा घोडाको समेत व्यवस्था भएकाले गोसाइँकुण्डसम्म पुग्न सहज वातावरण पाइएको तीर्थ यात्रीले बताएका छन् ।  चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई तीर्थमा निस्कन र धार्मिक मार्गमा कुनै समस्या परेमा गस्तीमा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रजिअ पौडेलले अनुरोध गरे ।

मुस्ताङ:   थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।   धवलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।   थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए ।   प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।   सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन ।   थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन ।   यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो ।   वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।

पर्वत: पवर्तको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।  विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो ।  गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार रु ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो । गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माणकार्य यसै साता सकिएको उहाँले बताउनुभयो ।  कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो ।  बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहज रूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिनुभयो । योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीयस्थल मोहोरेडाँडासम्म जोड्न सकिने उहाँको भनाइ छ । नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताउनुभयो । पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आउनुभएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताउनुभयो । हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् ।  फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताउनुभयो । पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।  विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उहाँले बताउनुभयो ।  जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधासमेत विस्तार गरिसकिएको छ । अब पदमार्गमा पनि रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताउनुभयो ।  यो पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो । पुनले भन्नुभयोे, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।” मनोरम हिमशृङ्खला, सुन्दर जङ्गल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ ।   विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो ।  ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण गरिएका छन् । यो पदमार्गले पर्वतको मोदीका वडा नं १, २, ३ र ५, जलजलाका ५ र ६ तथा म्याग्दीको अन्नपूर्णका ६, ७ र ८ नं वडालाई समेटेको छ ।  हिमाल र पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छभने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो । दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।  पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाइडाँडा र जलजलामा चिया पसल तथा रेष्टुरेन्ट र सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।

मुस्ताङ:  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ ।      मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे । तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन् । यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ ।      कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुङ्गा र माटोले निर्मित पुराना घरको बीचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ । यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उहाँले सुनाउनुभयो ।      पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन् । त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उहाँले उल्लेख गर्नुभयो ।       “तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे । हालको बारागुङ मुक्तिक्षेत्रलाई ९ङ्ज्याप बारागुङ० भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउथे । राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो ।       उहाँले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । “हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत सङ्कलनको क्रममा छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ । तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन ।”      करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो । त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गर्नुभयो । पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।       तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उहाँले बताउनुभयो ।      बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उहाँले जानकारी दिनुभयो । “यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो ।        कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन् । दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ ।       प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन् । ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ । बाँकी चार तला पनि जीर्ण अवस्थामा छ ।       कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ । पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

ढोरपाटन:    बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ ।   बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ ।   पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए ।   उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए ।   बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ ।   नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए ।   बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।   उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ ।   त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् ।

फुङ्लिङ (ताप्लेजुङ)- हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल ।   केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।   गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइला पुग्न सफल भएको छ ।   चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए। गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो ।   पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन ।   अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताउनुभयो । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उहाँले गुनासो गर्नुभयो ।   “जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए ।   नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरको छ ।   फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ ।   पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।   सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ ।   त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ ।   जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ ।   यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो ।   कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए ।   धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।   कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।   ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ ।   कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।   पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल/पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि रु १५ लाख खर्च हुन्छ ।   “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए ।   जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति रु पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ ।   पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।   पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ । काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ ।   हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ ।   हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।   फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए।   आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहारः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।   महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् ।   कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।   सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ ।   प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ ।   गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गरिने जनाएको छ । विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ ।   चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लििङलगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ ।   महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ ।   सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।

गलकोट:   बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।  नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन् ।  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् ।  ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन्भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमतर्फबाट पनि पर्यटक आउने गरेका छन् । बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिनुभयो । उहाँले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताउनुभयो ।  “निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीयस्थल घुम्न आएका पाहुना खानबस्न यही आइपुग्छन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ, यहाँ सुविधासम्पन्न ठूला होटल थपिने क्रम जारी छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्”, भट्टचनले भन्नुभयो, “बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छभने नयाँ सहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ ।” यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेशस्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छभने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ ।  मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताउनुभयो । एक हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ । बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन् ।  ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताउनुभयो ।  उहाँले लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुमपूर्वबाट यातयातका साधन तथा मालबाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने जानकारी दिनुभयो । ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ । “लोकमार्गले रुकुमका सवारीसाधन यही मार्ग भएर काठमाडौँलगायत अन्य ठूला सहरमा पुग्छन्, राराताल घुम्न जाने पर्यटक छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्”, छन्त्यालले भन्नुभयो, “अन्य सहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ सहर निकै सम्भावना बोकेको सहरका रूपमा विकसित भइरहेको छ ।”  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।