गण्डकी: पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताउनुभयो । “अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।” अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।
काठमाडौं: सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिनुभयो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।
पोखरा: गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोटहुँदै पुनः पोखरा जोडिने पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सहयोग रहेको कार्यक्रम संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष बोबरजङग गुरुङले जानकारी दिनुभयो । पर्यटन व्यवसायी, पथपर्दशक, सञ्चारकर्मीसहित ४५ सदस्यीय टोलीले प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसबाट पदयात्रा सुरु गरी कपुचे हिमताल, कोरी, क्होलासोँथर, कर्पुुडाँडा हुुँदै याङ्जाकोटसम्म यात्रा गरेको उहाँले जानकारी दिनुुभयो । सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्त्वपूर्ण विकल्प बन्न सक्ने उहाँले बताउनुभयो । “पदयात्रामार्गका विभिन्न ठाउँमा पूर्वाधार व्यवस्थित गर्नुुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पदमार्गका ठाउँठाउँमा होटेललगायतका पूर्वाधार विकास आवश्यक छ भने सञ्चार सुविधा, खानेपानी लगायतको व्यवस्थापन अपरिहार्य छ ।” पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । प्राचीनकालमा गाईभैँसी तथा भेडा चराउने खर्क तथा गोठलाई जोड्ने मार्गलाई पदमार्गका रुपमा विकास गर्न सकिने संस्थापक अध्यक्ष गुरुङको सुझाव छ ।
गुल्मी: जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । “पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो, “रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ ।” अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उहाँले र अन्य पालिकाले पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्राउन सकिन्छ”, अध्यक्ष पाण्डेले भन्नुभयो । उहाँका अनुसार निर्मित जिपलाइनमा दुई टावरबीचको दूरी नौ सय ६० मिटर रहेको छ भने कूल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ । जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दूरी पार गर्न सक्नेछ । सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताउनुभयो । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पुरीले रु ८६ लाख ७३ हजार १ सय ४४ मा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो । यसबाट यात्रा गर्न पालिकाबासीलाई रु ४ सय, विद्यार्थीका रु ३ सय, छत्रकोटभन्दा बाहिरका नागरिकलाई रु ५ सय र विदेशी नागरिकका रु १ हजार ५ सय शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ । जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि रु १० लाखको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केहीदिनमा बोलपत्र आह्वानको तयारी गरिएको उहाँले बताउनुभयो । जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन् । “जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ”, स्थानीय भुवन भुसालले भन्नुभयो । जिपलाइनको नजिकै रिडी–तम्घास सडक पर्दछ । यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उहाँले बताउनुभयो ।
काठमाडौं: नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ । हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रुपमा विदेशी पर्यटक कमै आउँछन् । डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन् । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ठूलो सङ्ख्यामा विदेशी नागरिक आउँछन् । यसरी हेर्दा नेपालमा विशेषगरी शरद् र वसन्त ऋतु पर्यटकका लागि बढी उपयोगी सिजन मानिन्छ । विदेशी पर्यटक कम आउने याम भएकाले पनि नेपालको पर्यटकीय क्षेत्रमा हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षण मात्रै होइन उनीहरुको बसाई लम्ब्याउन पनि मद्दत पुग्छ । यसै सन्दर्भमा अहिले पर्यटनको राजधानी पोखरा, पर्यटकीय क्षेत्र चितवन, लुम्बिनीलगायतका गन्तव्यमा पर्यटनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, महोत्सवलगायत गतिविधि भइरहेको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि नौदिने अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । यही पुस १४ गतेदेखि नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुँदैछ । त्यस्तै, पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुन गइरहेको छ । यी उत्सव र मेलाले पर्यटक आकर्षण मात्रै नभई नेपालमा रहेका विदेशी पर्यटकको बसाइ लम्ब्याउन पनि मद्दत पुगेको छ । पर्यटक कम आउने याममा पर्यटनलाई चलायमान बनाउन हुने अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवद्र्धनका महत्वपूर्ण सघाउ पुग्ने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ । “पर्यटक कम आउने ‘लो सिजन’ मा पनि नेपालका गन्तव्यमा भइरहेका अन्तर्राष्ट्रियस्तरका ठूला–ठूला ‘इभेन्ट’ हरुले पर्यटकीय चहल–पहल बढाएको छ, पर्यटक आगमनमा पनि सघाउ पुगेको छ”, उहाँले भन्नुभयो । डिसेम्बर १५ तारिखपछि नेपालमा पर्यटकको आगमन घट्दै जान्छ । विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटक घर फर्किने चलन छ । यही सन्दर्भमा पर्यटक चाँडो घर नफर्किऊन् भनेर नेपालका विभिन्न गन्तव्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले ठूला–ठूला ‘इभेन्ट’ सञ्चालन हुन थालेका छन् । विशेषगरी विगत २५ वर्षदेखि रिनन्तर रुपमा पोखरा सडक महोत्सव भइरहेको छ । यो पर्यटक आकर्षण गर्ने महत्वपूर्ण माध्यम बनेको छ । यस्तै, अघिल्लो वर्षदेखि सुरु भएको ड्रागन बोट रेस प्रतियोगिता, अन्तर्राष्ट्रिय बेलुन महोत्सव आदि उत्सव र गतिविधिले नेपालको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ठूलो मद्दत पुगेको व्यवसायीको बुझाइ छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)का अध्यक्ष सङ्घर्ष विष्टले पर्यटकीय गन्तव्यमा भइरहेका महत्वपूर्ण इभेन्टले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो याममा धेरै मेहनत गर्नु पर्दैन, अफ सिजनमा बढीभन्दा बढी गतिविधिले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ, अहिले भइरहेका अन्तर्राष्ट्रिय मेला महोत्सवले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा पहिचान गराउँछ, यसले विदेशी पर्यटक तान्छ ।” होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्य पनि नेपालमा भइरहेका अन्तर्राष्ट्रियस्तरका महोत्सव र राष्ट्रियस्तरका पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने बताउनुहुन्छ । “पर्यटक घट्ने समयमा हुने पर्यटनका गतिविधि र अन्तर्राष्ट्रिय उत्सवले गन्तव्यको पर्यटनलाई चलायमान बनाउनाका साथै विदेशी पर्यटकलाई आकर्षण गर्न राम्रो भूमिका खेल्छ”, उहाँले भन्नुभयो । महासचिव शाक्यका अनुसार अफ सिजन भएकाले अहिले होटल क्षेत्रको अकुपेन्स करिब ३० प्रतिशत मात्रै छ । काठमाडौँ नजिकका धुलिखेल, नगरकोट तथा पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा आन्तरिक र विदेशी पर्यटकको बाक्लो चहल–पहल छ । अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु विभिन्न अवसरमा आयोजना हुने पर्यटनसम्बन्धी मेला–महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ । बेलुन नेपाल प्रालिको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा बेलुन उडाइनाका साथै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुने जनाइएको छ । महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने आयोजकको विश्वास छ । पुस १३ देखि पोखरा सडक महोत्सव नयाँ वर्ष–२०२५ का अवसरमा यही पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुँदैछ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा महोत्सव हुन लागेको हो । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा पाँच लाख बढीले सहभागिता जनाउने आयोजकको दाबी छ । रेबान सौराह (चितवन)ले १४ फेब्रुअरीमा पाँचदिने सडक महोत्सव गर्दैछभने रेबान केन्द्रले नेपाली नयाँ वर्षलाई लक्षित गरेर काठमाडौँको दरबारमार्गमा सडक महोत्सव गर्ने जनाएको छ । रेबानका अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पु¥याउन पनि मद्दत गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गरिँदै आएको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवको माध्यमबाट पर्यटन प्रवद्र्धनका साथै कला संस्कृति प्रवद्र्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई सफल बनाउन पनि पर्यटकीय मेला महोत्सवले सहयोग पुग्ने बताइएको छ । पुस १४ देखि नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस नेपालको पर्यटन प्रवद्र्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता यही पुस १४ र १५ गते आयोजना हुँदैछ । पोखरामा हुने दोस्रो संस्करणको ड्रागन बोट रेसमा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० समूहको सहभागिता रहनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह–आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो । पर्यटक लक्ष्य भेट्टाउन कठिन कोभिड–१९ ९कोरोना भाइरस० महामारी पूर्व १२ लाख हाराहारी विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले पछिल्लो दुई वर्षमा पर्यटक आगमनको उक्त लक्ष्य भेट्टाउन हम्मे परिरहेको छ । महामारीपछिको दुई वर्षको आँकडाले महामारीपूर्वको अवस्थामा पुग्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटक आएका छन् । पछिल्लो आँकडा हेर्दा सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य भेट्टाउन कठिन हुने देखिएको छ । अब एक महिना मात्र बाँकी छ । एक महिना (डिसेम्भर) मा करिब ७० हजार पर्यटक आउने बोर्डको अनुमान छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख २५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने जनाइएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै पर्यटक बढ्ने देखिन्छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । यद्यपि एसिया प्यासिफिक क्षेत्रभन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को छ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसमा आयोजित अन्तर्क्रियाका सहभागीले सिक्लेसको मौलिकता गुम्न दिन नहुनेमा जोड दिएका हुन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कार र संस्कृति यहाँको मौलिकता भएको बताउनुभयो । मौलिकतालाई जोगाउँदै पर्यटकीय विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले यो क्षेत्र गुुरुङहरूको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको बताउनुभयो । सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर यहाँबाट कपुुचे, कोरी, क्होलासोँथर समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्न खोजिएको उहाँले बताउनुभयो । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले क्होलासोँथरबाट गुुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेर आएको स्थल सिक्लेस भएको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राख्नुभयो । सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीयस्थल छन् । आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी सङ्घले सहयोग गरेका छन् ।
तनहुँ: जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताउनुभयो । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताउनुभयो । थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उहाँले जानकारी दिनुभयो । पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।” गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत सहासिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।” थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।” अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताउनुभयो । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उहाँले जानकारी दिनुभयो । खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा ९मिनी ग्रेटवाल०, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उहाँले बताउनुभयो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो ।
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये ५ प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताउनुभयो । “वार्षिक ४ लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उहाँले भन्नुभयो, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।” दैनिक हजारौं पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट ५ किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताउनुभयो । हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् ।धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो । बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताउनुभयो । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उहाँले भन्नुभयो, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताउनुभयो । मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् । तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताउनुभयो । थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताउनुभयो । गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुुफामा पनि पूर्वाधार निर्माण भएको छ । यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ ।ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् । टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताउनुभयो । मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताउनुभयो । टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बीच भागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पुु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुुल निर्माणको पनि माग गरेका छन् ।