सूचनाको हक प्रवद्र्धनका लागि अभियान
काठमाडाैं | असार ५, २०७९
काठमाण्डौँ : सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिक सङ्गठित भई सामूहिक रुपमा अभियान चलाउन थालेका छन् ।
सूचनाको हकको सही अभ्यास र प्रयोग गर्न सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ विधिवत् स्थापना भई अभियानमा लागेको हो । महासङ्घले आज राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा सूचनाको हक प्रवद्र्धन र यसको व्यावहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिनुभयो । कारबाही गरिएका कार्यालय प्रमुखको बढुवा नगर्न र सार्वजनिक पदमा पुनःनियुक्ति नगर्न पनि सम्बन्धित कार्यालयमा लेखी पठाइएको उहाँले सुनाउनुभयो ।
“महालेखापरीक्षकको कार्यालयले स्थानीय तहका बेरुजुका विषयमा वेबसाइटमा प्रतिवेदन राख्न छोडेकामा आयोगकै आदेशमा राख्न थालेको छ, सार्वजनिक निकायले कानून बमोजिम तोकेका विषय तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्छ”, प्रमुख आयुक्त गुरुङले भन्नुभयो ।
सार्वजनिक निकायमा कार्य गर्ने कर्मचारीलाई गोपनीयताको सपथ गराउँदा पनि सूचनाको हक कार्यान्वयनमा समस्या देखिएको आयोगको अनुभव छ । आयोगले सूचना मागकर्ताका लागि सहजीकरण गर्ने गरी पुस्तक प्रकाशन गर्न लागेको जनाएको छ । सार्वजनिक निकायका लाग पनि सहजीकरण पुस्तिका प्रकाशन गर्ने तयारी भइरहेको उहाँले सुनाउनुभयो ।
सूचनाको हकको अभ्यासमा क्रियाशील नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले लोकतन्त्रलाई बचाउनका लागि सूचनाको हक अस्त्र बन्ने बताउनुभयो । पारदर्शीता र सुशासनका लागि पनि सूचनाको हकले सहयोग गर्ने भएकाले सचेत नागरिकले यसको निरन्तर अभ्यास गरिनुपर्ने उहाँको भनाइ थियो । उहाँले सूचनाको हकलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नागरिकस्तरबाट दबाव जरुरी रहेकामा जोड दिनुभयो ।
महासङ्घका अध्यक्ष उमीद वाग्चन्दले नागरिक अभियानका रुपमा स्थापना भएको संस्थाले ३५ जिल्लामा अधिवेशन सम्पन्न गरेको जानकारी दिनुभयो । आगामी भदौसम्म ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरी राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा लागिएको पनि उहाँले बताउनुभयो । संस्थाले सूचनाको हकको अभ्यासमा लाग्न चाहनेका लागि भौतिक वा अनलाइनका माध्यमबाट तालिम कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ ।
सात सय ५३ वटै स्थानीय तहलाई सूचनाको हकका विषयमा जागरण फैल्याउन बजेटसहितको कार्यक्रम गर्न लगाउने अभियानमा समेत महासङ्घ लागेको छ । कार्यक्रममा उपभोक्ता महासङ्घका र महासङ्घ उपत्यका प्रदेशका संयोजक ताराबहादुर भण्डारीलगायतका वक्ताले सूचनाको हक प्रवद्र्धनका लागि नागरिक जागरण गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

