सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की
पाेखरा | असार ७, २०७९
पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।”
कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्न सधँै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।
महँगी केवल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य वृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताउनुभयो ।
शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट गर्नुभयो । आगामी पुस्तालाई समृद्धपुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै साञ्चारमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।
अमेरिकन स्टेट पार्टनरशिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गर्नुभयो ।
सो अवसरमा दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित रु एक लाख एक हजार १११ ले सम्मान प्रदान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताउनुभयो ।
प्रतिभा छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारितामा निर्भिक रुपमा कलम चलाउने बबिता बस्नेतको सक्रियता, योगदान आदिका आधारमा उहाँलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशङ्कर पालिखे, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले पत्रकारिताबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

