नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
काठमाडाैं | कात्तिक १०, २०८०

काठमाडौं: नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।
आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू-१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।
तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए ।
रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए ।
१३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो ।
जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे ।
तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन ।
युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...