नेपाल ८ विकेटले विजयी
काठमाडाैं | कात्तिक १३, २०८०
काठमाडौं: घरेलु टोली नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।
उनले टी–२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पूरा गरेका थिए । टोलीलाई जितको लागि चार रन चाहिँदा अनन्त कृष्णलाई ठूलो सर्ट खेल्ने धुनमा कुशल लङअफमा क्याच आउट भएका थिए ।
रोहित पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा रहे । पहिलो बल खेलेका कुशल मल्लले छक्का हान्दै खेल सकाएका थिए ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अक्षय पुरीको बलमा आसिफ बोल्ड आउट भएका थिए । आसिफले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १/१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रनको योगदान दिएका थिए ।
तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा बोल्ड आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरेका थिए ।
स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरेका थिए । सन्दीपले आउट गर्नुअघि सिंगापुर ६.४ ओभरमा ५२–१ को अवस्थामा थियो ।
एकतर्फबाट उत्कृष्ट प्रदर्शन गरेका रंगराजन सन्दीप जोराको उत्कृष्ट क्याच आउट शिकार बनेका थिए । गुलशन झाको आठौं ओभरको पहिलो बलमा मिडअफमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काएका थिए ।
गुलशन झाले आमथ्र्य कौललाई शून्यमा कट एण्ड बोल्ड यसै ओभरमा गरेपछि नेपाल खेलमा फर्किएको थियो । राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को अवस्थामा पुगेको थियो ।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लू आउट गरे । एक समय १०.२ ओभरमा ७०-५ को अवस्थामा पुगेको सिंगापुरलाई विकेटकिपर मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।
करण केसीको १७ औं ओभरको तेस्रो बलमा ठूलो सर्ट खेलेका मनप्रीत लङअफमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । उनले २६ बलमा ३ चौकासहित २४ रन बनाए । अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे ।
नेपालका गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार मलेसिया र तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।
समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
पोखरा: कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गा...
काठमाडौं: शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...
मनाङ: यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । ...

