त्रिपालको सहारामा भूकम्पपीडित

काठमाडाैं | कात्तिक २१, २०८०

त्रिपालको सहारामा भूकम्पपीडित

जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ ।  

 

सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने परकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताउनुभयो । 

 

सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ । उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा  सहयोग गर्दैछ । मानसिकरूपमा तनावमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ । सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ । पटक–पटक परकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन । स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ । भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गर्नुभयो । 

 

सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन । राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ । बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ ।

 

 परकम्पबाट १३ जना घाइते

सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भएका छन् । सोमबार अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा दुई तथा  रुकुम पश्चिममा ११ जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो  । 

 

भूकम्पबाट बालबालिकाले बढी ज्यान गुमाए

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्यामा बालबालिका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमा एक सय ५७ मध्ये ७८ बालबालिका छन् ।  जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । 

 

यस्तै रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै छन् । रासस

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्