विश्वकप छनोटमा नेपाल यमनसँग पराजित

काठमाडाैं | मंसिर ५, २०८०

विश्वकप छनोटमा नेपाल यमनसँग पराजित

काठमाडौं:   फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा घरेलु टोली नेपाल यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए ।


नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो । खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो ।


खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।


११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो ।


२८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।


३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।


दोस्रो हाफको सुरुवातमै अहमद महेरको अर्को प्रहारले पनि किरणलाई दुःख दिन सकेन। ४८औं मिनेटमा दिनेशको क्रसमा अन्जन पुग्नु अघि यमन गोलरक्षक अल सदिले समाते । ५१औं मिनेटमा ओमार अल दहीको बक्स बाहिर बाट लिएको प्रहार किरणले बचाए।


५३औं मिनेटमा दिनेशको कर्नरमा उत्सव राईको फ्लिकले पोस्टको दिशा लिन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले सुन्दर मौका खेरा फाले । गोलरक्षक विरुद्ध वान अन वान मौका रहेकोमा उनले सिधै अल सदिको काधमा प्रहार गरे ।


६३औं मिनेटमा एरिक विष्टको फ्री किक ब्लक भयो । ६५औं मिनेटमा अल खदेर अल डोउहले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए ।


७२औं मिनेटमा ओमार अल दहीले यमनलाई अग्रता दिलाए । उनले बक्स बाहिर बाट लिएको शक्तिशाली प्रहारले जालि चुमेको थियो ।


७६औं मिनेटमा अहमद महेर अग्रता दोब्बर गर्न बाट चुके । उनको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको केही टाढा बाट मात्र बाहिरियो ।


८७औं मिनेटमा मोहम्मद अल ताइरीको प्रहार किरणले बचाए । ९०औं मिनेटमा यमनले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले किरण माथि चिप गर्दै जित सुनिश्चित गरे ।


खेलको अन्त्यतिर नेपालले केही मौका सिर्जना गर्न खोजेपनि कुनै स्पष्ट अवसर भने बनाउन सकेन ।


खेलमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए । उनले ७९औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।


छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो । छनोट अन्तर्गत तेस्रो र चौथो खेलहरु मार्चमा हुने छन् ।

काठमाडौं:  शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।  आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...

थप पढ्नुहोस्

मनाङ:  यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । ...

थप पढ्नुहोस्

म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

थप पढ्नुहोस्