इराकविरुद्ध नेपालको फराकिलो जित

काठमाडाैं | फागुन १०, २०८०

इराकविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं:    नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध ५-० फराकिलो जित दर्ता गरेको छ ।


खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो । इराकले बल राख्ने बित्तिकै हाइ–प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन ।


सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो ।


नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । ११औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोस्टमाथि बाट बाहिरियो ।


१४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् ।


१६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।


१९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेरा फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् ।


२६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् ।


२८औं मिनेटमा अनिता बस्नेतले बक्सको दायाँ भागबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।


३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् ।


४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् ।


४८औं मिनेटमा अमिषा कार्कीको प्रहार अल सदेइले बचाइन् । ६०औं मिनेटमा प्रितीले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ६८औं मिनेटमा प्रितीकै फ्रि–किकले पोस्टको दिशा लिन सकेन ।


८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् । प्रितीको थ्रु–पासमा साम्बाले खेलमा रन बनाउँदै उनले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गरिन् ।


पहिलो हाफमा  सावित्रा भण्डारी ‘साम्बा’ ले चार गरी कुल पाँच गोल गरेसँगै आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन् ।


नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।


प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३–० को जित निकालेको थियो ।


अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्