बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

म्याग्दी | चैत १२, २०८०

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

 म्याग्दी:   दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर  घ्वार्र‘ घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो ।

 

करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् ।


गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् । रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् ।

 

गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आउनुभएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ ।


काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ ।

 

‘व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ’, विकले भने ।

 

वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका(५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०र१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए ।

 

आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ ।

 

केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रू २५ र ३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए ।

 

अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने, ‘प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’

 

बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ ।

 

मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् ।

 

विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्