पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन वडा कार्यालय २९ ले दियो सहमति
पाेखरा | चैत २०, २०८०

पोखरा: अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणका लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्तत: जग्गा पाउने भएको छ ।
पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिएसँगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो ।
वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताए ।
उनले भने, ‘कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ । हामी त्यसको स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।’
करिब ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ ।
सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि नबढेसँगै प्रदेश सरकार विगत तीन वर्षदेखि नयाँ जग्गाको खोजीमा थियो । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआरसमेत तयार गरिसकेको थियो ।
परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गाको खोजी गरिरहेको थियो ।
सोही आधारमा प्रदेश सरकारको चैत्र ९ गते भएको मन्त्रिपरिषद्को बैठकले नवलपुर र तनहुँको शुक्लागण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माणको घोषणासमेत गरेको छ ।
सरकारले दिएको जिम्मा पुरा गर्न टोलीले कुनै पनि बाधा अवरोध नभएको जग्गाको खोजी गरिरहेको कार्यकारी सदस्य गौतमले बताए ।
निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै उनले भने, ‘सबै हिसावले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयुक्त छ । पोखराको लेखनाथ पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकोले परिषदले निर्माण कार्य अघि बढाउन सिफारिस गरेको छ ।’
यता प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयुक्त रहेको बताए ।
‘मैले पनि स्थलगतरुपमा अवलोकन गरेको छु । जग्गासमेत प्रयाप्त मात्रामा छ । वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक छन् । उत्तरतर्फ ३६० डिग्रीमा हिमाल देख्न सकिन्छ, उनले भने, ‘पोखराको लेकसाइड र बेगनासबाटसमेत नजिक छ । त्यो भन्दा पनि पोखरा रंगशालाको क्रिकेट मैदानबाट जम्मा १२–१३ किमिको दुरीमा छ त्यसैले पोखरालाई क्रिकेटको हब बनाउने हो भने सबै हिसाबले यो स्थान उपयुक्त छ ।’
पोखरा २९ पटनेरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि वडा कार्यालयबाट सहमति प्राप्त भएसँगै परिषद्ले मन्त्रालयमा सदस्य सचिब श्रीधर शर्माले सिफारिस गरेका छन् ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...