सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

काठमाडाैं | बैशाख २५, २०८१

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

 

सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो ।

 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो ।

 

सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।”

 

उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

 

संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरुले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिनुभयो ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो ।

 

कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उहाँले बताउनुभयो ।

 

बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयलाई पुनःदोहो¥याएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो ।

 

“हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लखेकले भन्नुभयो ।

 

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो । सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।

 

बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।


 

पोखरा: उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।      पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा ब...

थप पढ्नुहोस्

काठमाडौं:  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमा...

थप पढ्नुहोस्

काठमाडौं:   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका...

थप पढ्नुहोस्