स्थानीय जातको कालो सुँगुर जोगाउनै मुस्किल
बाग्लुङ | बैशाख २७, २०८१

बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ्याट्टफुट्ट मात्रै देखिन थालेको छ ।
पुर्खादेखि पालिँदै आएको कालो तङ्ग्रामे सुँगुरको बीउ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर कालो सुँगुरको व्यावसायिक पालन थाल्नुभएको हो । परम्पराकालदेखि तङ्ग्रामका मगरले पाल्दै आएको कालो सुँगुर आयातित बङ्गुरको पाठापाठीका कारण लोप हुने अवस्थामा आएको हो । व्यावसायिक रुपमा आयातित बङ्गुरपालन र कृत्रिम गर्भाधारणको चलन आएपछि यहाँको स्थानीय जातको कालो सुँगुर लोप हुन थालेको छ ।
यहाँका स्थानीय जातको कालो सुँगुर हराउने अवस्था आएपछि व्यावसायिक बनाउने सोचमा पाँच वर्षदेखि तङ्ग्राम धारा गाउँ निवासी ४२ वर्षका भुवनबहादुर थापा लाग्नुभएको छ । उहाँको काफालबोट पशुुपन्छी तथा कृषि फार्ममा अहिले एक दर्जन कालो सुँगुर छन् । करिब १० वर्ष मलेसियामा बस्नुभएको थापाले कालो सुँगुरलाई व्यावसायिक बनाउने योजनामा रहे पनि पाठापाठी बचाउनै हम्मे परेको उहाँको भनाइ छ ।
“दश वर्ष मलेसिया बसेर फर्किए, तङ्ग्रामको रैथाने कालो सुँगुर देखिनै छाड्यो, पहिला घरघरमा पाइने कालो सुँगुर अहिले परम्परा धान्ने काममा मात्रै पाल्दै आएको देखेपछि पाठापाठी जोड्दै पाँच वर्षयता तङ्ग्रामे स्थानीय जातको कालो सुँगुर पाल्दै आएको छु”, थापाले भन्नुभयो, “खासगरी यसको मुख्य समस्या भनेको पाठा बचाउनै समस्या भएको छ, जन्मेको दुई दिनमै पाठापाठी मर्ने निकै समस्या छ, १२ पाठापाठी जन्मेकामा मुश्किलले दुई तीन वटामात्रै बाँच्छन् ।”
पशु प्राविधिबाटसमेत पटकपटक पाठापाठी बचाउने प्रयास भए पनि समस्या भइरहेको उहाँको भनाइ छ । कृत्रिम गर्भाधारणका कारण अहिले आयातित बङ्गुरपालनले गाउँका रैथाने जातको कालो सुँगुर पाइन छाडेपछि कालो सुँगुरको भाउसमेत उच्च रहेको छ । काठेखोला–४ तङ्ग्रामका पशु प्राविधिक लक्ष्मण थापाले स्थानीय जातको सुँगुर संरक्षणमा चुनौती रहेको बताउनुभयो । उहाँले उक्त जातको सुँगुर अन्त नपाइने भएकाले हाडनाता गर्भाधारणका कारण पाठापाठीमा समस्या आइरहेको बताउनुभयो ।
पाँच पुस्ता फरक पर्नेगरी गर्भाधारण गराउनसकेमा मात्रै राम्रो पाठापाठी उत्पादन गर्न सकिने पशु प्राविधिकको भनाइ छ । “आयातित सुँगुरबाट गर्भाधारण गराउँदा स्थानीय जात लोप हुन्छ, चार–पाँच पुस्ता फरक पारेका बङ्गुरबाट गर्भाधारण गराउन किसानलाई आग्रह गर्दै आएको छु”, पशु प्राविधिक थापाले भन्नुभयो ।
स्थानीय कालो सुँगुरको मासु थोरै हुने र पाल्न धेरै समय लाग्ने भएकाले व्यावसायिक बङ्गुरपालनमा यहाँका मगर समुदाय लागेपछि स्थानीय सुँगुर ओझेलमा परेको हो । उहाँले हालसम्म सुँगुरपालनमा रु पाँच लाख लगानी गरेको जनाउँदै गाउँपालिकाले रु एक लाख ५० हजार अनुदानसमेत दिएको किसान थापाले बताउनुभयो ।
“बङ्गुरको मासु प्रतिकिलो रु चार सयदेखि पाँच सयसम्ममा पाइन्छ, कालो सुँगुरको मासुलाई प्रतिकिलो रु छ सय पर्दछ, तर मासुसमेत पाउनै मुश्किल छ”, उहाँले भन्नुभयो, “मैले कालो सुँगुर नकाट्दै माग आइसकेको हुन्छ, कालो सुँगुरको मासु बजार पठाउन सकेको छैन, फार्म विस्तार गरेर ५० वटा माउ सुँगुर पालेपछि बजार पठाउने हो, विस्तारै व्यावसायिक बनाउँदै लैजानसके बजारको माग थेग्न सकिएला ।”
स्थानीय क्षेत्रमा पाइने कर्कलो, मोही र छोक्रा धानको भुस खुवाएर सुँगुर पाल्न सकिने थापाको भनाइ छ । एउटै बङ्गुर एक सय किलोभन्दा धेरै हुने भए पनि स्थानीय जातको सुँगुर अधिकतम ३० किलोसम्मको मात्रै हुने गरेको छ । स्थानीय जातको सुँगुर संरक्षणका लागि गाउँपालिकाले थापालाई प्रोत्साहन गर्दै आएको काठेखोला–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले बताउनुभयो ।
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...