६३ रोपनी काण्डः ५० हजारको खाजा खाएर पूर्वमेयर जिसीले कहाँ बसेर गरे सम्झौता ?

खारेज हुन्छः महानगरपालिका

पाेखरा | असार २१, २०७९

६३ रोपनी काण्डः ५० हजारको खाजा खाएर पूर्वमेयर जिसीले कहाँ बसेर गरे सम्झौता ?

पोखराः गत जेठ ५ गत कार्यकाल सकाएर पोखरा महानगरपालिकाबाट बाहिरिनु अगावै पूर्वमेयर मानबहादुर जिसीले गरेको कर्तुत ४७ दिनपछि सार्वजनिक भएको छ । 

 

पदावधि सकिनु २ दिन अघि जेठ ३ गते पूर्वमेयर जिसीले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको करिब ६३ रोपनी जमिन ३ कम्पनीलाई दिने एकल निर्णय गरेको सार्वजनिक भएको छ । जमिन भाडामा लगाएकोमध्ये पर्यटन बसपार्कमा पर्यटकले सेवा लिन नपाएपछि केही गडबड भएको आशंकामा पर्यटन व्यवसायीहरुले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जानकारी गराएपछि अन्य जमिनसमेत भाडामा लगाएको पाइएको छ । 
 

पूर्वमेयरले बसपार्ककाे १८ राेपनीसँगै, पोखरा ९ मा पर्ने ५ रोपनी जमिन राइजिङ कन्स्ट्रक्सनलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडामा दिएका छन् । त्यस्तै, वडा १७ स्थित गल्फ ट्रेनिङ सेन्टर रहेको ४० रोपनी जमिन एक्सन बिल्डर्स प्रालिलाई मासिक २ लाख ७२ हजार र बसपार्कलाई मासिक २ लाख ७५ हजार रुपैयाँ भाडामा दिएका छन् । 

 

जसमध्ये गल्फ कोर्षलाई २५ र अन्य दुई कम्पनीलाई १० वर्षकालागि दिइएको हो । कुनैपनि जमिन भाडामा लगाउन मेयर एक्लैको निर्णय काफी नहुने भएपनि यस विषयमा उनले एकलौटी र मनोमानी निर्णय गरेका हुन् । सबै निर्णयमा पूर्वमेयर जिसीकोे हस्ताक्षर रहेको छ । 

 

यस विषयमा जानकार हुनुपर्ने व्यक्ति हुन् प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल । उनैलाई यस विषयमा थाहा नभएपछि अहिले उनी पत्रकारको प्रश्न झेलिरहेका छन् । त्यसोत यो घटना हालै सञ्चारमाध्यममा आएपनि महानगरका केही कर्मचारीले भने असार १२ गते सुइँको पाएका थिए । 
 

 

सुनगाभाले पाएको सूचना अनुसार भाडामा लगाइएको ३ अलग जमिनको सम्झौता एकैदिन भएको हो । अझ, रोचक प्रश्न त यो छ कि पुर्वमेयरले नगर विकासको जमिन भाडामा लगाउँदा कुन ठाउँमा बसेर सम्झौता गरे ? 
 

 

नियमतः कायालयमै बसेर सम्झौता गर्नुपर्ने बताइन्छ । तर मुलुकभर वैसाख ३० गते स्थानीय निर्वाचन सुरु भएको र त्यसपछि मतगणनाको प्रक्रिया अघि बढेको हो । तदनुसार उपत्यका नगर विकास समितिमा मतगणना कार्य भइरहेको थियो । 

 

यही बीचमा नगर विकासको कार्यालयमा सम्झौता नभएको ठहर गरिएको छ । कडा सुरक्षाकोबीच मत गणना भइँरहँदा बाहिरका मान्छेलाई प्रवेश सहज थिएन भने उक्त दिनहरुमा पूर्वमेयर त्यहाँ गएका पनि थिएनन् । यसकारण सम्झौता कार्यालय बाहिर निजी परिसरमा भएको पुष्टी हुने आधार मिलेको छ । 

 

साथै, सम्झौता हुने दिन जिसीले खाजा खर्चको शीर्षकमा ५० हजार रुपैयाँको बिलसमेत समावेश गरेको पाइएको छ । सोही बिललाई आधार मान्ने हो भनेपनि उक्त सम्झौता अज्ञातस्थलमा गरिएको हो । 

 

खारेज हुन्छः महानगरपालिका
 

पूर्वमेयर मानबहादुर जिसीले एकलौटी ढंगले गरेको जग्गा ठेक्का प्रकरण खारेज गरिने महानगरपालिका स्रोतले बताएको छ । जिसीले ठेक्का दिँदा प्रक्रिया नै नपु¥याएको भन्दै खारेजीको प्रक्रिया सुरु भइसकेको महानगरले जनाएको छ । 

 

‘सिस्टम हुन्छ, समिति हुन्छ’ महानगर स्रोत भन्छ ‘मनोमानी र व्यक्तिगत तवरमा सरकारी सम्पत्ति ठेक्कामा लगाउँन पाइँदैन ।’ आज बसपार्क हस्तान्तरणपछि यस विषयमा टीम बनाएर छानबिन अघि बढाउने महानगरको योजना छ ।  उक्त सम्झौतापत्रसँग सम्बन्धित हालसम्म प्राप्त कागजात अनुसार ठेकेदार कम्पनीसँग धरौटी रकमसमेत नलिइएको पाइएको छ । 

 

त्यस्तै, उक्त बोलपत्र आव्हान गरिएको विज्ञापन नियमित प्रकाशन रोकिएको आदर्श नेपाल दैनिकमा गरिएको थियो । त्यसदिनको ३ प्रति महानगरमा रहेको छ भने विज्ञापन शूल्कको नाममा अनुमानित ८ हजार रुपैयाँ बुझाइएको जानकारी प्राप्त भएको छ । 

पोखरा:  लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।  फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...

थप पढ्नुहोस्

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत...

थप पढ्नुहोस्

संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।   शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ति...

थप पढ्नुहोस्