मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे।   इरानी आगोका दुई शृङ्खला चलाइएपछि इजरायल सेनाले तेहरानमा व्यापक हवाई आक्रमण सुरु गरेको र लेबननमा इरान समर्थित समूहलाई लक्षित गर्दै आक्रमण बढाएको जनाएको छ। यस क्रममा इजरायलले दुई रकेट इरानबाट टेल अविभ र गालिली समुद्र दक्षिण क्षेत्रमा आएको पनि रिपोर्ट गरेको छ, तर कुनै घाइतेको सूचना छैन।   संयुक्त अरब इमिरेट्सले विमान उडान रोकेको अवस्था छिट्टै स्थिर भएको भन्दै उड्डयन पुनः सञ्चालन गरिएको छ। तर दुबईमा ड्रोन आक्रमणका कारण इन्धन ट्याङ्कीमा आगो लागेको थियो। यस आक्रमणमा कुनै मानिस घाइते नभएको बताइएको छ।   तेहरान र इजरायल–अमेरिकी आक्रमणको प्रभावले स्ट्रेट अफ होर्मुजमा ढुवानीमा ठुलो बाधा आएको छ। यसले तेलको मूल्य बढाएको र विश्वव्यापी ऊर्जा सङ्कटको जोखिम सिर्जना गरेको छ।   तेलको मूल्य हाल प्रति ब्यारेल १०० डलरभन्दा माथि रहेको छ। अमेरिकी राष्ट्रपतिले केही देशलाई स्ट्रेट अफ होर्मुजको सुरक्षा गर्न आग्रह गरेका छन्, तर तत्काल कुनै स्पष्ट सहयोगको प्रतिबद्धता प्राप्त भएको छैन।   इजरायलले तेहरानमा धेरै आक्रमण गरेको र इरानी हवाई रक्षा प्रणाली र मिसाइल लन्चर नष्ट गरेको सैनिक प्रवक्ताले बताएका छन्। यसैबिच, लेबननमा यस द्वन्द्वका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।   इरानका अनुसार यस द्वन्द्वमा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको छ। अबुधाबीमा पनि इरानी मिसाइल आक्रमणमा एक व्यक्ति मृत्यु भएको रिपोर्ट छ, र दुई तेल सुविधामा आगो लागेको छ।   यो घटनाले मध्यपूर्वमा युद्धको तीव्रता, क्षेत्रीय असुरक्षा र ऊर्जा आपूर्ति सङ्कट झन् बढाएको देखाएको छ।

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको हो।   महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ उल्लेख गरेको छ।   सूचनाअनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना पनि गरेको छ।   महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।   सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।   थापा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखका रूपमा २०५४ देखि २०५९ सालसम्म निर्वाचित भएर काम गरेका थिए। प्रजातन्त्र पुनःस्थापनापछिको स्थानीय तहको नेतृत्व सम्हालेका उनी पोखराको शहरी विकास, पूर्वाधार विस्तार र नगर व्यवस्थापनमा सक्रिय नेताका रूपमा चिनिन्थे।   दीर्घ समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थापा नेकपा एमाले कास्कीका प्रभावशाली नेता पनि थिए।   उनी जीवनको अन्तिम समयसम्म पार्टी गतिविधिमा सक्रिय रहेको बताइन्छ। बिहीबार फागुन २८ गते पार्टी कार्यालयमा भएको छलफलमा सहभागी भइरहेका बेला उनी अचानक अस्वस्थ बनेका थिए। पार्टीका नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेका बेला उनले पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिनुपर्ने र ‘एक मुठी सास रहुन्जेल एमालेका लागि लागिरहने’ बताएका थिए। त्यसको केही समयपछि उनलाई हृदयघात भएको थियो ।   पार्टी कार्यालयबाट ९ मिनेटभित्रै मणिपाल अस्पताल पुर्‍याउँदा चिकित्सकले भने उनको सास नरहेको घोषणा गरेका थिए ।  

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् ।   आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिबद्धता जनाइन् ।    याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।    आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजावासीले अहिलेसम्मका उम्मेदवारले कृषिको आधुनिकीकरण र बजारीकरणको कुरा गरेर मत मागे पनि पूरा नगरेको दुखेसो पोखे ।    अहिले पनि किसानका उपजको बजारीकरणमा विचौलिया हाबी हुने गरेको तितो यथार्थ उनीहरुले पोखे । हेमजाजस्तो कृषियोग्य भूमिको व्यवस्थित प्रयोग र बढ्दो सहरीकरणको हस्तक्षेपबारे ध्यान दिन स्थानीयले बिनालाई सुझाव दिए ।   हेमजावासी र कास्की–३ का मतादातको सुझावलाई सम्वोधन गर्दै उम्मेदवार बिनाले आफूले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने तर नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्ने सुरुमै प्रतिवद्धता जनाइन् ।    करिब २५ करोड रुपैयाँको आलुमात्रै उत्पादन गर्ने हेमजाजस्ता क्षेत्रमा व्यवस्थित सहरीकरणको योजना बनाउन नीतिगत रुपमै काम गर्ने उनले बताइन् ।   कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने गरी कृषि नीति आवश्यक पर्ने भएकाले आफूले ध्यान दिने बिनाको भनाइ थियो ।   ‘हेमजाले वार्षिक २५ करोड रुपैयाँको त आलुमात्रै बेच्दो रहेछ । यही ठाउँले सिंगो पोखरलाई नै तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदानसमेत गरेको छ,’ बिनाले भनिन्, ‘फेरि अर्कोतिर यही कृषि क्षेत्र बढ्दो सहरीकरणको चपेटामा छ । अब कृषि क्षेत्र र बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने राज्यले नीतिगत रुपमै ध्यान दिनुपर्छ । म संसदमा गएर यस्तै कुरामा ध्यान दिने हो ।’    कास्की क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा पुग्दा थुप्रै सम्भावना भएर पनि राजनीतिक स्वार्थ र कोपभाजनमा परेर प्रगति गर्न नसकेको धेरैले गुनासो गरेको बिनाले सुनाइन् । कुनै स्वार्थ राखेर आफू राजनीतिको मैदानमा नहोमिएको बताउँदै बिनाले विशुद्ध नागरिकको पक्षमा, सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाइन् ।  

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’   उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । यो शहर ठूला वडाको मात्र हो ? भन्ने प्रश्न उठ्न थालेको छ, उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो । त्यस्तो अवस्थामा पन ियहाँ बस्ने श्रमजीवी जनताले नै शहर जोगाउँदै आएका छन् ।’   मकै पोल्ने, स्वरोजगारमा संलग्न मजदुरदेखि फुटपाथ व्यवसायीसमेतलाई राज्यले यातना दिइरहेको भन्दै उनले सबैले श्रम गरेर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।   अव्यवस्थित बसोबासीको नाममा जथाभावी डोजर चलाइएकोप्रति आपत्ति जनाउँदै उनले वर्गीय मुद्दाबाट कम्युनिष्ट पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्दता व्यक्त गरे ।   ‘यो शहर ठूला व्यापारी र घरानीयाको मात्र होइन, फुटपाथे व्यापारीको पनि हो । झुपडीमा बस्नेहरूको पनि यही शहर हो, उनले थपे, ‘भूमि आयोगले दिएको निस्साको आधारमा सुकुम्बासीलाई जमिनको मालिक बनाइनेछ । कोही पनि नागरिक भूमि र आवासको अधिकारबाट बञ्चित हुनुहुँदैन ।’जनयुद्धका क्रममा लागेको गोलीका छर्रा छातीमा बोकेर हिँडेको उल्लेख गर्दै थापाले आफ्नो जीवन जनतालाई समर्पित भएको बताए । भने,‘यो नाफाका लागि होइन, संघर्षका लागि समर्पित जीवन हो ।’   कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज श्रीनाथ बरालले देशलाई समाजवादतर्फ लैजाने क्षमता नेकपासँग मात्र रहेको बताए ।   विगतका कमजोरी सच्याउँदै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै उनले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा भएको उल्लेख गरे ।   उनले कृषि क्रान्तिको आवश्यकता औँल्याउँदै मुलुकलाई कृषिजन्य उत्पादन निर्यात गर्ने अवस्थामा पु¥याएर जनताको जीवन बदल्न सकिने बताए । तर त्यसका लागि नेकपाको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।   त्यस्तै, नेकपा कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले सुकुम्बासीहरूले हाल प्राप्त गरेको निस्साका आधारमा लालपूर्जा वितरण गर्ने जिम्मेवारी नेकपाले लिने बताए । त्यसका लागि आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।   कार्यक्रममा सहभागी वक्ताहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधान, वर्गीय समानता र सामाजिक न्यायको पक्षमा नेकपाको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।   सोमबार अन्नपूर्णमा नेकपा   यसैबिच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा वामपन्थी आन्दोलनका अनुभवी नेता गोपाल गिरी यतिवेला चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।     ‘जेन्जी’ युवाहरूको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने लगायतका प्रतिबद्धता लियर उनी जनताको घर दैलोमा व्यस्त भएका हुन् ।   उनको भोलि कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा चुनावी प्रचार प्रसार तथा जनतासंग भेटघाट कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।   कास्कीको पर्यटकीय क्षेत्र सहित विश्वकै चर्चीत पदमार्गहरु रहेको अन्नपूर्ण क्षेत्रका जनताको मर्म र भावना बुझ्दै उहाँहरुको जीवनस्तर र आर्थिक विकास र समृद्धिको लागि पर्यटनलाई विकासको मुल आधार बनाउनु पर्नेमा उनको दृढ इच्छा शक्ति रहेको छ ।

पोखरा:  धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।   हेमजाको फुर्केटारी चोकमा भएको उक्त मेला माघ ५ गते सम्म चल्ने छ । मेला शुभारम्भ अगाडि फुर्केटारी चोकमा निकालिएको झाँकी सहितको ¥याली हेमजा फाट प्रगतिचोक, मिलनचोक हुदै पुन मेला स्थालमा पुगेको थियो ।   मेलामा शुक्रबार देखि स्वं दिल बहादुर शेरपुञ्जा स्मृतिमा खुल्ला पुरुष, महिला तथा प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता हुने धौलागिरी युवा क्लबका अध्यक्ष तुलबहादुर रोका मगरले जानकारी दिए ।   प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले नगद ६१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला भलिबल तर्फ प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।   त्यसैगरी प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता तर्फ प्रथम हुनेले खसी र द्धितीय हुनेले २ वटा भाले ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।   मेलामा घैटो फुटाउने, लठो तान्ने, छेलो हान्ने, भाले छुने र कर्ची घुमाई प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा विजयी हुनेले नगद र प्रमाण पत्र पाउने छन् । मेलामा विविध साँस्कृति कार्यक्रम समेत रहेको छ ।   शुक्रबार देखि हुने महिला भलिबल तर्फ पहिलो खेल विहान ९ वजे धौलागिरी युवा क्लब रातो र शान्त भलिबल ट्रे सेन्टर बीच हुने छ ।   कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. २५ का कार्यवहाक अध्यक्ष शुवास भण्डारीले आफ्नो संस्कृति र परम्परा जोगाउनका लागि सवै एकिकृत भएर लाग्न आग्रह गरे ।   ‘तपाईहरु जहाँ बाट आउनुभयो त्यो सँगै आफ्नो संस्कृति र परम्परा बोकेर आउनुभएको छ’ उनले भने, ‘अव हेमजा पनि विभिन्न जात जातिका संस्कृतिले धनि भएको छ, यसको जर्गेन गर्नु हामी सबैको दायित्व हो ।’ उनले वडाको तर्फ बाट यहाँ वस्ने सबैलाई समभाव दृष्टिकोण राखेर अगाडि बढेको उल्लेख गरे ।   सुन्दरपुरी टोल विकास संस्थाका अध्यक्ष राम बहादुर पुनले मेलाले मगरहरुको परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने काम गरेको बताए ।   कार्यक्रमा नेपाल मगर साँस्कृति संघ समन्वय समिति कास्कीकी अध्यक्ष दिल कुमारी फगामी मगर, सह कोषाध्यक्ष ललिता पुन, सदस्य विकास फगामी, झलक राना मगर, धौलागिरी आम समूहकी अध्यक्ष प्रमे कुमारी चोचाङ पुन लागयतले बोलेका थिए ।   धौलागिरी हेमजा मगर समाजका अध्यक्ष नेत्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तम बहादुर रोक मगरले स्वागत र सचिव चुडामणि घर्तिमगरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्यशालामा डान्सर तेरिया मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने सहभागी रहेको जनाइएको छ ।   भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर मगरले नेपाली फिल्मको यो प्रोजेक्टबाट डेब्यू गर्न लागेकी हुन् ।   अभिनय कार्यशाला केही दिन चल्ने जनाइएको छ । निर्माता जनक घर्तीमगरले कलाकारलाई वर्कसपमार्फत आफ्नो भूमिकबारे जानकारी गराउन खोजिएको बताए ।   यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई, खड्कबहादुर पुन मगरको पनि अभिनय हुनेछ ।   रोल्पाका विभिन्न स्थानमा खिचिने फिल्मको प्रदर्शन १५ जेठलाई तोकिएको छ ।

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीलाई गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको जनाएको छ । र, सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ ।     असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको थियो । जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।   चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन आइसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ ।   हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरुलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिएको छ ।

पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर गुरुङ परिवारले त्यहाँ आश्रित ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग गरी आमा धनमाया गुरुङको जन्मदिन मनाएका हुन् ।   उक्त अवसरमा आमा धनमायाकै हातबाट नगद २५ हजार आश्रम सञ्चालक समितिका अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।   आमा जस्तै ज्येष्ठ नागरिकका लागि सानो भएपनि सहयोग होस् भन्ने हेतुले वृद्धाश्रम सम्झिएको कलाकार माओत्सेले बताए । उक्त अवसरमा माओत्से पत्नी प्रतिक्षा गुरुङ पनि सहभागी थिइन् ।   सञ्चालक पराजुलीले कलाकार माओत्सेले आफ्नी आमाको जन्मदिनमा यहाँका बुवाआमा सम्झिएर आएकोमा आभार व्यक्त गरे ।