पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।   शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय  विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।   सो विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।   यो विधेयक आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित छ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ ।   ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।   जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।   नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको बताउँदै प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवद्र्धन र उनीहरूमाथि हुने दुर्व्यवहार, हिंसा र विभेदको रोकथाम जरुरी रहेको उल्लेख गर्नुभयो ।     ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको उल्लेख गर्नुहुँदै उहाँले राज्य सँगसँगै ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा निजीस्तरले पनि सरोकार राख्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । ‘असहाय, निःसहाय, दीनदुःखी ज्येष्ठ नागरिकको संरक्षणका लागि मानव सेवा आश्रम, सामुदायिक वृद्धाश्रमले काम गरिरहेका छन् ।’ उहाँले भन्नुभयो – ‘सामाजिक रूपमा सम्मान गर्ने परम्पराको विकास हुँदै गएको छ । जुन खुशीको कुरा हो ।’   धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजा अर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न सकोस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।      

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।   कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   शुक्रबार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।   एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोती ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।   ‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल भू–भागको झण्डै १३ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा चुरे क्षेत्र रहेको छ ।’   राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ क्रियाशील राष्ट्रिय गौरवको आयोजना बताउँदै उहाँले नेपाल सरकारले २०७१ साल असार २ गते यस क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन तथा यहाँ हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण र नियमन गर्ने उद्देश्यले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको बताउनुभयो ।     नेपालको अन्न भण्डार तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्र बचाउन अपरिहार्य रहेको भन्दै उहाँले चुरे दिवसका अवसरमा चुरेको संरक्षण र सम्बद्र्धनतर्फ अग्रसर रहन हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।     सरकारले चुरे संरक्षणको २० वर्षे गुरुयोजना समेत स्वीकृत गरी सोहि अनुरुप चुरे क्षेत्रदेखि तराई मधेशसम्मका सरोकारवाला सबै निकाय र समुदायको सहभागितामा संरक्षणका विभिन्न कामहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँको भनाई छ ।       नेपालको चुरे शृंखला हिमालय पर्वतमालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नदीसम्म तन्किएको छ । जैविक विविधता र दुर्लभ बन्यजन्तुको वासस्थान रहेको चुरे क्षेत्र भौगर्भिकरूपमा भने कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण लगायतका कारण यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ ।          

काठमाडौं:   नेपाल सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा सुनचाँदी तथा हिरा–पत्थरका गरगहनाको व्यवसायमा कर वृद्धि गर्ने प्रक्रिया थालेपछि व्यवसायी महासंघले आपत्ती जनाएको छ ।   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष दियेशरत्न शाक्य र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले सँयुक्त रुपमा आज विज्ञप्ती जारी गर्दै खारेजीको मागसहित गम्भीर आपत्ति जनाएको हो ।   उक्त विज्ञप्तीमा भनिएको छ, ‘व्यवसायीको विरोधका बावजुद पनि अघिल्लो वर्ष १० लाखभन्दा माथिका गरगहनामा मात्र लागू हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा–तथा बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) प्रति हाम्रो गहिरो आपत्ति रहेको छ ।’     महासंघले सुनचाँदीका गरगहना नेपालमा विलासिताको वस्तु नभएको उल्लेख गर्दै भनेको छ, ‘बरु जन्म देखि मृत्युसम्म कुनै न कुनै रुपमा आफ्नो गच्छे अनुसार उपभोग गरिने संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा हुन् । विवाह, पूजाआजा, संस्कारदेखि आम सर्वसाधारणले बुझ्ने बचत र लगानीको एक माध्यमको रूपमा पनि सुनका गरगहनाको महत्वपूर्ण स्थान रहँदै आएको छ । सरकारले लागू गर्न खोजेको नयाँ कर संरचनाले उपभोक्तामाथि २ प्रतिशत देखि १३ प्रतिशत सम्मको प्रत्यक्ष आर्थिक भार थप्ने निश्चित छ, जसले बजारमा महँगी थप्नेछ । साथै, छिमेकी देशको बजारमा भन्दा अत्याधिक मुल्य बृद्धि भई यसले चोरीपैठारी तथा अवैध कारोबारलाईसमेत प्रोत्साहन गर्ने खतरा रहेको छ ।’   विज्ञप्तीमार्फत तिन महासंघले निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने मागसमेत राखेको छ ।   सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्य व्यवसायीमैत्री नभएको भन्दै लाखौं व्यवसायी, कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने खतरा महासंघको ठहर छ ।   यस्ता छन्, तिन महासंघको मागहरु:-   हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर (VAT) तत्काल पुनर्विचार गरी खारेज गरियोस् ।    सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरियोस् ।     कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस र त्यसबिना करको दायरा नबढाइयोस् ।     विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त Accredited Lab को व्यवस्था गरियोस् ।     नेपाल राष्ट्र बैंकवाट जारी गरिएको परिपत्र अनुसार बैंकहरुवाट निकासी गर्ने साना उद्योगका लागि १०० तथा २०० ग्रामको सुन आपूर्ति नगरिएको हुँदा सानो–सानो परिमाणमा सुनका गरगहना निकासी गर्न नसकीएकोले यसतर्फ ध्यान दिइयोस् ।     निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरियोस् ।         

पोखरा:  शुक्रबारदेखि आन्दोलनरत  यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज (शनिबार) पनि कालो प्लेटका (सार्वजनिक यातायात) सवारी साधन ठप्प पारेका छन् ।   गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।     गण्डकी सरकारले आफुहरुलाई वार्ताका लागि नबोलाएकाले गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए ।    ‘हामी वार्ताका लागि सधैं तयार छौ । यदी हाम्रो माग सुनुवाई भएन भने १९ गतेदेखि देशभर आँधीबेरी ल्याउछौ र त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।’ नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।  

पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।   डिफेण्डिङ च्याम्पियन  टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक ३–२ को सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो ।   पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले पराजित गर्याे ।    गण्डकीको यो छैटौं खेलसँगै छैटौं जित हो । यो जीतसँगै गण्डकीले २ अंक बटुल्दै १७ अंकसहित लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।   हेल्प नेपाल भने, छैटौं खेलमा ५ जित र १ हारमा १६ अंकसहित दोस्रो स्थानमा तल झरेको छ ।   पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।  

पोखरा:    राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।   पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।    आगामी नेतृत्वका लागि क्षितिज थेबे र  सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् ।    निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।   थेबे प्यानलबाट  उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।    महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।