पोखरा: राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
विराटनगर: धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई लक्षित स्ट्याटस लेख्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको उल्लेख गरेका छन् । भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिएका छन् । केही दिन अघि मेयर दाहालले हर्क साम्पाङले ठुला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ आक्रोशित भएका छन् । उनले दाहालका बुवा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत मेयर रेणुलाई गाली गरेका छन् । उनले लेखेका छन्, ‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त ?’ उनले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत प्रचण्डलाई थोपारेका छन् । उनले लेखेका छन्, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ।’ उनले अहिलेका पाटी ठिक नभएको र विभेद गरेको आरोप लगाए । उनले लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ? ।’ उनले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाए । उनले लेखेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । पक्राउ परेपछि सोही प्रसंगमा मिडियाकर्मीले के भन्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफिदै भने–‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो । यसमा हामीले अचम्म मान्नुपर्ने कारण नै छैन । जे पनि भोग्न तयार छौ ।’ सिंहदरबार भित्रै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं: राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने, सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए । प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले सरकारविरोधी नारा लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।
काठमाडौं: डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले एनएसएलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीले धनगढी एफसीलाई २–१ ले हराउँदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै ललितपुर उपाधि रक्षा गर्ने दाउमा छ । खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । यद्यपी ललितपुरको जीतमा खेलको ५७ औं मिनेटमा पाएको फ्रिकिकको अवसरलाई बेलफोर्टले गोलमा परिणत गरिदिए । यता धनगढीका लागि ६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे । र खेल बराबरीमा फर्कियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७९ औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्याे । पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए । चार डिफेन्डरले उनलाई रोक्न सकेनन् । करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो । उक्त गोल नै निर्णायक बन्यो । आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ । धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता विकास गर्ने उद्देश्यसहित दुई दिने (शुक्रबार र शनिबार) तालिम दिइएको हो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिए । पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिइन् । तालिमका क्रममा प्रमुख प्रशिक्षक गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार कार्यक्षेत्र (अदालत) मै पुग्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसला पछि कार्यान्वयनको चरण र न्यायाधिसलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिनुपर्ने तर्फ उनले सचेत गराएका थिए । तालिममा कास्कीका कास्कीका ८० जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात पत्रकारहरुले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । तालिम पश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरुले बताएका थिए ।
काठमाडौं: नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ। विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले हालसम्म आन्दोलन नछाड्ने अडान दोहोर्याउँदै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति बालुवाटारमा भएको छलफलमा पनि तत्काल समाधानको बाटो खुलेको छैन। छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए। प्रधानमन्त्री ओलीले यसअघि चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षक आन्दोलन सम्बोधनका लागि संवाद र गृहकार्य गर्न निर्देशन दिएका थिए। सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। सोही निर्णय अनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने तयारी समेत गरिएको थियो। यद्यपि, आन्दोलनरत शिक्षकहरूले विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। यसले गर्दा विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका छौँ । तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।” उहाँले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।