नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरूङमार्ग उद्घाटन भएको हो। त्यसपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गरे। सुरुङमार्ग पूर्ण रूपमा परीक्षण भएपछि केही दिन भित्रै सवारीसाधनलाई सञ्चालन हुनेछ। परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ रूपैयाँ र बाहिरिँदा ८० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ। यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ। पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन्। सुरूङमार्ग सात वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार इरानले हर्मुज स्ट्रेटमा साइप्रस झन्डावाला कन्टेनर जहाजमा आक्रमण गरेपछि जवाफी हमला गरिएको हो। जहाजमा आगो लागेको छ भने इन्जिनमा व्यापक क्षति भएको छ। र, चालक दलका एक सदस्य बेपत्ता भएका छन्। उता इरानले भने अनधिकृत रूपमा जहाज प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको बताएको छ। सेन्टकमले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजमा यसअघि गरिएको हमलाका बेला जवाफदेहिता निर्धारण गरिसकेपछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको थियो, तर यो फेरि असफल भयो।’ अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो। अब उसले मूल्य चुकाउनुपर्नेछ।’ यसैबिच इरानले बदलामा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको इरानको सरकारी टीभी आईआरआईबीले जनाएको छ।
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी)ले जनाएको छ। भूकम्पमा परी ५१ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको पनि एपीले जनाएको छ। भूकम्पमा ठुल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएको छ। सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफै भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्। उद्धार कार्यमा ढिलाइ हुँदा अझै भग्नावशेषमा जीवित फसेका मानिसहरूलाई बचाउने सम्भावना घट्दै गएको स्थानीयलाई उद्धृत गरेर एपीले लेखेको छ। शुक्रबार राति सरकारले सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा प्रवेशमा कडाइ गरेको छ। उद्धार कार्यमा भीडभाड र ट्राफिकले अवरोध पुर्याउन थालेपछि सरकारी अनुमति बिना उक्त क्षेत्रमा प्रवेश गर्न नपाइने घोषणा गरिएको छ। ला गुआइरामा आफ्ना परिवारका सदस्यहरूको खोजी गरिरहेकी नाजारेथ जिमेनेजले सरकार र अन्तर्राष्ट्रिय समुदायसँग भारी उपकरण उपलब्ध गराइदिन आग्रह गरेकी छन्।
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्यटन प्रवर्द्धनसम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। समितिले गण्डकी प्रदेशसँगै देशका विभिन्न जिल्लामा पुगेर पोखराको पर्यटन प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार तथा व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ। यसअघि शुक्रबार बागलुङ बजारमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पोखरा र बागलुङबीच पर्यटन सहकार्य, प्राकृतिक तथा धार्मिक गन्तव्यहरूको प्रवर्द्धन, पर्यटकको बसाइ अवधि लम्ब्याउने रणनीति र सेवा गुणस्तर सुधारका विषयमा धारणा राखेका थिए। कार्यक्रममा “प्रकृतिसँग रमाऔं” भन्ने अवधारणालाई केन्द्रमा राख्दै पोखराको प्राकृतिक सौन्दर्य, तालतलैया, हिमश्रृंखला तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेकोमा जोड दिइएको थियो। होटल व्यवसायलाई समयानुकूल व्यवस्थित र प्रतिस्पर्धी बनाउन संयुक्त पहल आवश्यक रहेको सहभागीहरूको भनाइ थियो। पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले पर्यटन पुनरुत्थान, अन्तरजिल्ला सहकार्य र पोखरालाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। आज मुसिकोट र रुकुमकोटमा हुने अन्तरक्रिया कार्यक्रममा स्थानीय होटल व्यवसायी, पर्यटनकर्मी, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले दक्षिणी लेबनानमा दुई वटा गाडीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । यसैबिच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गरी अल जजिराले रिपोर्ट गरे अनुसार, एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा एक जना पत्रकारको घाइते भएको केहि समय पछि मृत्यु भएको हो। लेबनानका सूचना तथा सञ्चार मन्त्री पल मोर्कसले पत्रकारहरूमाथि भएको इजरायली आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जालमा मोर्कसले पत्रकारहरूको सुरक्षा र कामको स्वतन्त्रताको ग्यारेन्टी तुरुन्तै सुनिश्चित गर्ने आवश्यकतालाई पुष्टि गर्दै यस घटनाको जिम्मेवार इजरायल भएको बताए । यस अघि, इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिज्बुल्लाहले युद्धविराम उल्लङ्घन गरेको दाबी गरेपछि दक्षिणी लेबनानमा आफ्नो सेना र वायुसेनाले आक्रमण गरेको बताएको थियो । आइडिएफले विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको सालुकी क्षेत्रमा घटना भएको बताएको छ, जहाँ आइडिएफले सम्भावित खतरा पत्ता लगाएको दाबी गरेको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजनामा वैशाख १८ र १९ गते मेला हुन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । सो मेलाको तयारी सुरु भइसकेको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए । नेपाल सरकारको १६ औं योजनाले वार्षिक २५ लाख पर्यटक भित्राउने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्य राखेको सन्दर्भमा यो मेला महत्वपूर्ण हुने लामिछानेको भनाई छ । उनका अनुसार यसअघिका संस्करणहरु पोखरा केन्द्रित हुँदै आएका कार्यक्रमहरूलाई विकेन्द्रीकरण गर्दै पहिलोपटक ऐतिहासिक पर्यटकीय नगरी बन्दिपुरमा आयोजना गर्न लागिएको हो । पहाडकी रानीका रूपमा परिचित बन्दिपुरमा ‘बन्दिपुर भ्रमण वर्ष २०२५’ समेत सम्पन्न भई पुन: भ्रमण वर्ष घोषणा गरिएको बताउँदै मेलाले पर्यटनलाई थप उचाइमा पु¥याउने गाउँपालिकाको विश्वास छ । २ दिन चल्ने सो मेलामा ३० भन्दा बढी सामुदायिक होमस्टे तथा गाउँ पर्यटनसँग सम्बन्धित फर्महरूको सहभागिता रहने छ । यस्तै मेलाको मुख्य आकर्षणका रूपमा बी–टु–बी र बी–टु–सी कनेक्टिभिटी रहेको बताउँदै बन्दिपुर गाउँपालिका प्रमुख सुरेन्द्र बहादुर थापाले बताए । ‘यस कार्यक्रमले गाउँका साना पर्यटन व्यवसायीलाई सहरी बजार र ठूला एजेन्सीहरूसँग सिधै जोड्ने प्लेटफर्म प्रदान गर्नेछ,’ उनले भने । उनले ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दिपुर पर्यटन: हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल (बहस) हुने जानकारी दिए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा हुने यस मेलालाई पर्यटनको राजधानी गण्डकी प्रदेशको समृद्धिसँग जोड्ने लक्ष्य लिइएको भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकाेटाले बताइन् । उनले मेलामा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, होमस्टेका स्टलहरू र सूचना सामग्री वितरणका कार्यक्रम पनि तय गरिएको सुनाइन् । कार्यक्रममा पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय जनप्रतिनिधि, स्वदेशी तथा विदेशी पर्यटकका साथै कलेज तथा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । मेलालाई बन्दिपुर क्षेत्रीय होटल संघ, पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ गण्डकी र रेवान तनहुँले सहयोग गरेका छन् ।
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । आगामी वैशाख ६ गतेदेखि ११ गतेसम्म ६ दिने यस पदयात्रामा बेलायत र नेपालका गरी ५० भन्दा बढी सहभागी हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । तमु शास्त्र (प्ये) अनुसार क्होला सोँप्री ट्हो तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलो मानिन्छ । सन् २००० तिर क्याम्ब्रिज विश्वविद्यालय र नेपालको पुरातत्व विभागले गरेको उत्खननका क्रममा यहाँ फेला परेको कोइलाको परीक्षण गर्दा यो स्थल करिब १३ सय वर्ष पुरानो भएको प्रमाणित भएको थियो । तर, देशको द्वन्द्वकालीन परिस्थितिका कारण बीचमै रोकिएको उत्खनन कार्यलाई पुनः गति दिन र यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यलाई दबाब दिने उद्देश्यले यो भ्रमण तय गरिएको हो । भ्रमण टोलीका प्रमुख क्या. डेमबहादुर योज तमुका अनुसार वैशाख ६ गते पोखराको फ.लि.ना. क्होँइँवोबाट यात्रा सुरु गरी टोली लमजुङको भुजुङ पुग्नेछ । त्यसपछि क्होलामा पुगेर टोलीले त्यहाँको सिमेभुमे र पितृ–पुर्खाहरूको सम्मानमा ‘छ्योप’ र ‘थासो’ पूजा गरिने टोलीका प्रमुख क्या. डेमबहादुर योज तमुले बताए । उक्त थलोलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यसँग पहन गर्नका लागि ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी क्होला सोँप्री ट्हो दर्पण’ प्रकाशन गर्ने लक्ष्य राखेको तमु प्ये ल्हु संघ युकेका सचिव भेग गुरुङले बताए । उनका अनुसार भ्रमणको छैटौं दिन टोली सिक्लेस हुँदै पुनः पोखरा फर्कने छ । सो टोलीले पोखरा फर्केपछि स्याङ्जा, कास्की, गोरखा, तनहुँ, चितवन र नवलपुरका १० वटा निर्माणाधीन क्होँइँवोहरूलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने सचिव गुरुङले बताए । पदथात्राको क्रममा कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा स्वास्थ्यकर्मी, प्राथमिक उपचारक र आपतकालीन उद्धारका लागि हेलिकप्टरसम्मको प्रबन्ध मिलाइएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय समिति, कास्की र लमजुङ जिल्ला समिति तथा स्थानीय भुजुङ र सिक्लेसवासीले यस ऐतिहासिक भ्रमणको व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ ।
काठमाडौँ: मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो । आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको सम्पति भनेकै प्रकृति र संस्कृति भएकाले फोटो पत्रकारले तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । ‘हामीसँग बेच्ने २ वटा चिज छ । एउटा प्रकृति अर्को संस्कृति हो । अनि अर्को भनेको कृषि पनि हो । त्यसैले माथिल्लो भेगमा पर्यटन र तल्लो भेगमा कृषि योग्य जमिनमा परिण गरेर प्रवद्र्धन गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो भेगको कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङमा पर्यटकीय क्षेत्र हुन् । विस्तारै याङ्जाकोट, भाचोक, वार्चोकलगायत ठाउँमा होमस्टे विस्तार भइरहेको अवस्था छ ।’ पालिकाले मादीको पर्यटनलाई कृषिलाई प्रवद्र्धन गरिरहँदा केही प्रचार भएपछि पनि फोटो पत्रकारहरुको क्यामेराले विश्वमाझ पु¥याउन सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए । पछिल्लो समय ७० प्रतिशत जनसंख्या पोखरा, काठमाडौंसहित विदेशमा भएकाले केही समस्या हुने उनको आंकलन छ । ‘मादीका क्षमतावान युवाहरु कम नै छ । त्यसैले हामीले दक्ष जनशक्तिलाई गाउँमै टिकाउन सहयोग गरिरहेका छौं,’ उनले भने, ‘कृषिमा अनुदानदेखि संस्कृति संरक्षणका लागि घाटु, कृष्णचरित्र, बालन नाच संरक्षणका लागि साथ दिइरहेका छौं ।’ मादीको पर्यटन प्रवद्र्धनका लागि यो वर्ष १५ लाख रुपैयाँ बराबरको रकम ५०/५० को कार्यक्रममा सहायता दिइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पालिकाको ५ सय ६३ वर्गकिलोमिटरको क्षेत्रफलमा ४ सय ६३ वर्गकिलोमिटर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले एक्यापसँग मिलेर पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र स्थायी बसोबासका कार्यक्रम गरिरहेको उनले बताए । तर, माथिल्लो भेगमा बनाइएको होटल, चियाघर दर्तामा समस्या भएको उनको भनाइ थियो । मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले अझ नयाँ कार्यक्रम बनाउँदै जाने बताए । कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङ जस्तै गरी अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काम गरिरहेकाले त्यसमा फोटो पत्रकारको क्यामेरा र कलम अझै शसक्त हुने उनको भनाइ थियो । सिक्लेस, ताङतिङले आन्तरिक तथा बाह्य पर्यटक तथ्यांक राख्न सुरु गरिसकेकाले अन्य गाउँहरुले पनि त्यसको सुरुआत गर्नुपर्नेमा उनको जोड थियो । केही ठाउँ र गाउँहरु प्रचारप्रसारको पर्खाइमा रहेकाले पत्रकारको नजर पुग्नुपर्ने उनले बताए । ‘फोटोले प्रचारप्रसार पु¥याउने महत्व, त्यसले हामीलाई बनाउने भावुकपना र गौरवगर्ने अवस्थाले फोटो पत्रकारिताको महत्व झल्काउँछ,’ उनले भने । नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचना प्रविधिको युगमा प्रचारप्रसारमा खेल्ने भूमिका अतुलनीय रहेको बताए । विशेष गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं सकरात्मक भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन अति आवश्यक रहेको उनले सुनाए । मादीमा धेरै पर्यटकीय क्षेत्र भएकाले त्यसमा पत्रकारको ध्यान जाने उनले विश्वास दिलाए । कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङले याङ्जाकोट गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबमा महत्वपूर्ण रहेको बताए । याङ्जाकोटमा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटक कम जाने भएकाले प्रचासप्रसारको आवश्यकता रहेको उनले सुनाए । यसमा फोटो र समाचारको महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारले आयोजना गरेको अन्तरक्रिया फलदायी हुने उनको विश्वास थियो । याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङले पाहुना सत्कारका लागि अहिले १० घर होमस्टे स्थापना गरिएको जानकारी दिए । २०६७ सालदेखि होमस्टे सञ्चालनमा आएदेखि गाउँ पुग्ने पर्यटकलाई सहज भइरहेको उनले बताए । यहाँ ढुंगाले छाएको घर, गाउँबाट देखिने हिमाल डाँडाकाडा, बीच गाउँमा रहेको ऐतिहासिक पोखरी, गुरुङ मन्दिर, कोट याङ्जाकोटको आकर्षण रहेको जानकारी दिए । गाउँ पुग्ने पाहुनालाई गाउँकै अग्र्यानिक खानाको स्वाद पस्किने गरेको उनले बताए । कार्यक्रममा नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले ग्रामिण पर्यटन प्रवद्र्धनमा संघले स्थापनाकाल देखि नै भूमिका खेल्दै आएकाले यसलाई निरन्तरता दिदैं जाने बताए । यसमा पालिका, वडा, स्थानीय समुदाय र फोटो पत्रकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो । संघकी सह–सचिव दुर्गा रानामगरले फोटो र पर्यटन एकअर्काको परिपुरक भएको बताइन् । सोही कारण मादीको पर्यटकीय गाउँ याङ्जाकोटमा अन्तरक्रिया आयोजना गरिएको उनको भनाइ थियो । संघकी उपाध्यक्ष राधिका कंडलले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम पत्रकार, स्थानीय, जनप्रतिनिधिसहित ६० जनाको सहभागिता रहेको थियो ।

