कास्कीमा वर्षातको प्रभाव: कतै सडक भासियो, कतै पहिरोले ज्यान लियो
पहिरोमा परेर २ जनाको मृत्यु, १ गम्भीर घाइते
पाेखरा | असार १२, २०८१
पोखरा: गएरातीदेखि परेको अविरल वर्षाका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको अविरल वर्षाकै कारण पहिरोमा परेर २ जनाको मृत्युसमेत भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोमा परेर मादी गाउँपालिका ५ चितेपानी घुम्तीका १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।
पछाडी पट्टीको माटोको ढिस्को खसेर प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर पुरिएको थियो ।
सोही पहिरोमा परेका ७० वर्षीया लालमाया बन्जारीलाई भने सकुसल उद्धार गरिएको छ ।
यस्तै पोखरा महानगरपालिका वडा २७ आरूपाटाका हरि सुनारको घरमाथिबाट पहिरो आउँदा ३ वर्षीय अनमोल सुनारको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार हरी सुनारको श्रीमती २७ वर्षीया रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।
उनको अवस्था गम्भीर रहेको डिएसपी शर्माले बताए ।
सोही पहिरोमा परेका घरधनी हरि सुनार र ९ वर्षीया छोरी अञ्जली सुनारलाई भने सकुसल उद्धार गरिएको छ ।
पृथ्वीराजमार्ग भासियो

PHOTO: Rishi Ram Pande
अविरल वर्षाका कारण पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत पोखरा महानगरपालिका १४ आनन्दटोलस्थित घट्टे कुलोको बहाव बढेर सडक भासिएको छ ।
राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।
सडकको दायाँ साइड करिब ७ मिटर लम्बाई र चौडाई करिब १.५ मिटर घट्टे कुलोको भत्काएपछि सवारी आवगमन अबरुद्ध भएपनि हाल एकतर्फी सवारी सुचारु भएको छ ।
सडक भासिएपनि कुनैपनि अन्य क्षति नभएको डिएसपी शर्माले बताए ।

डुबानमा ५ घर
अविरल वर्षाकै कारण कास्कीमा हालसम्म ५ घर डुबानमा परेको छ ।
पोखरा महानगरपालिका ७ गैरीखेत स्थित कुमार सुनार र रेशम गुरुङको घरमा पानी पसेर डुबानमा परेको हो ।
वडा प्रहरी कार्यालय बैदामलाई प्राप्त सूचनापछि पानीलाई व्यवस्थित गर्ने र विभिन्न समाग्रीहरुको उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए ।
यस्तै पोखरा महानगरपालिका ३३ बागमारास्थित सिप्लिङ तारा टोलको ३ घर पनि डुबानमा परेको छ ।
ब्लक र टिनले बनेको राम्जी बास्तोला, सुमन बिक र बाबुराम बस्नेतको घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उद्धार गरेको छ ।
टोल नै डुबानमा परेर मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

